४ वैशाख २०८१ मंगलबार
अन्य

हिलोमै फुल्छन् कमलका फूल

 भुवनहरि सिग्देल
 हुने बिरुवाका चिल्लापात । रामदाइ आठ नौ वर्षदेखि नै चिल्लापात थिए । अहिले म सम्झन्छु ।
२०११ सालतिरको कुरा, म चार वर्षको थिएँ । रामदाइका काखमा खेल्दै र उनकै काँध पिठिउँमा बोकिँदै हुर्केको हुँ म । बिहान बेलुका चौकीको पिर्कामा उनीसँगै नारिएर म भात खान्थेँ । उनकै हात समाउँदै गाईबाख्राका गोठालो जान्थेँ । यसरी गोठालो जाँदा पनि उनको खोकिलामा किताब र काँधमा केतुकेको पाट हुन्थ्यो । उनी अरू भुरासँग खेल्न जाँदैनथे । घरी पढ्नमा घरी दाम्ला, डोरी बाट्नमा व्यस्त हुन्थे । कुनै बेला स्वेटर र नाम्ला बुन्थे ।
दशै वर्षको उमेरमा उनले हेरेको भरमा यस्ता सीप सिकेका हुन् । उनकै नक्कल गरेर मैले पनि त्यस्ता सीप सिकेँ । बालककालमा सिकेको सीप नबिर्सिने रहेछ । मैले अहिलेसम्म ती काम भुलेको छैन ।
 दशैँको टीका हामी दुई भाइ सँगै बसेर लाउँथ्यौँ । तिहारको टीका पनि एउटै गुन्द्रीमा राखेर दिदीले लगाइदिनुहुन्थ्यो । बाआमा, आमोई, दिदी हाम्रा साझा हुनुहुन्थ्यो । मलाई थाहै थिएन, रामदाइ मेरा आफ्नै दाजु होइनन् भनेर ।
क्रमशः दाइले बाँस निगालाका चोया झिकेर डोका, भकारी र पराल, पाटका जुत्ता बनाउन पनि सिके । कसैले कुनै नयाँ काम गरिरहेको देखे भने उनी तत्काल त्यसको नक्कल गरिहाल्थे । उनी घाँस, पराल, सोतरजस्ता घरका काम गर्न पनि भ्याउँथे । फुर्सद हुनासाथ उनी कुनै न कुनै किताब पढ्नमा व्यस्त भइहाल्थे । नबुझेका कुरा बा र आमोईसँग सोधिहाल्ने उनको बानी थियो । छिमेकका मानिस पनि उनको विलक्षण प्रतिभा देखेर छक्क पर्थे ।
 रामदाइको यस्तै गुण देखेर २०१३ सालमा काठमाडौँमा डेरामा पढाउने प्रबन्ध बाले गरिदिनुभयो । प्याफलटोलमा डेरा लिएको सम्झना छ । दाइ कुन स्कुलमा पढ्थे ? मलाई थाहा भएन । अर्को साल एसएलसी दिने तयारी गर्दै थिए उनी । त्यसै सालको माघको अन्तिम हप्ता एकजना मानिस हाम्रो घरमा आए । उनले रामदाइलाई आफूसँगै कलकत्ता लान्छु र पढाउँछु भनेर साथमै लिएर गए । हाम्रो घरमा रुवाबासी चल्यो । धेरै दिनसम्म मलाई निद्रा लागेन । खाना खान बसेपछि झलझली रामदाइको अनुहार सम्झेर रुन मात्र मन लाग्थ्यो । गाँस निल्नै कठिन भयो ।
मैले व्रतबन्धपछि थाहा पाएँ, उनी को हुन् ?
 उनको जन्म धादिङको छत्रेद्यौरालीमा भएको थियो । उनका बाबु बलराम भारतीका चार छोरामध्ये उनी साहिँला । उनका दुई दाजु, एक भाइ र आमाको काखकी एउटी बहिनी थिइन् । जेठो दाजु तेह्र र माहिलो दश वर्षका थिए । बाबु बलरामलाई गाउँको मुखियाले झुटो मुद्दा लगाएर थुनामा हाल्यो । ज्यादै मुस्किलसित पाँच सय धरौटी राखेर उनी थुनामुक्त भए । घर फर्केको आठै दिनमा उनी मरे । मुखियाले जाल गरेर उनको घरजग्गा हडप गरेर त्यो परिवारको उठिबास गरायो ।
जेठो छोरो कृष्ण काठमाडौँतिर काम गर्छु भनेर गयो । माहिलो गोपाल मुग्लान जान्छु भनेर हिँड्यो । दुईजना छोरा र काखकी छोरी लिएर रामदाइकी आमा गाउँगाउँ माग्दै हिँडिन् । एक दिन उनी हाम्रो घरमा पुगिछन् । उनले आमोईलाई आफ्ना सबै दुःख र रामकहानी सुनाएपछि रामलाई यही घरमा र कान्छो पाँच वर्षको छोरालाई छिमेकी केशवकाकाको घरमा छाड्नू भन्ने सल्लाह दिनुभएछ । म जन्मेकै साल यसरी रामदाइको प्रवेश हाम्रो घरमा भएको थियो । क्रमशः समयले रामदाइलाई भुलाउँदै लग्यो । मेरा बाबा पनि २०२२ सालमा बित्नुभयो । रामदाइ मरे बाँचेको कुनै खबर हामीलाई भएन ।
एकैचोटि २०३६ सालमा इन्डियन हवाईपत्रमा मेरो नाममा चिठी आउन थाले । चिठीमा एलपी भारती, स्ट्रिट ४०, क्वार्टर नं. ४।३ सी, चित्तरञ्जन, वर्दवान, पश्चिम बंगालको ठेगाना थियो । चिठीमा नेपालविरुद्ध भारतीय भूमिमा भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गरिएका थिए । यी बाइस वर्षअघिका मेरा रामदाइ हुन् भनेर मैले ठम्याइनँ । आमोईसँग यी चिठीका वारेमा कुराकानी गरेँ । उहाँले ‘पक्कै पनि उही राम भारती हुनुपर्छ, किन नाम ढाँटेर लेख्यो ? तँ पनि चिठीको जवाफ लेखेर पठा’ भन्नुभयो । हाम्रा चिठी वारब्यार भए । अचम्म लाग्यो, उनी रामदाइ नै थिए । उनी त्यहाँ प्रथम श्रेणीको लोकोमोटिभ इन्जिनियर भएकोले सरकारी क्वार्टरमा बस्ने रहेछन् । कर्मचारीले राजनीतिक कुरा चिठीमा लेखेको भेटिएमा उनको जागिरै जाने रहेछ । त्यही कारणले उनले नाम ढाँटेर चिठी लेखेका रहेछन् ।
छ महिनापछि मेरा मामाका छोरा श्रीराम नेपाल र म उपचारको सिलसिलामा भेलोर जाने भयौँ । दाइलाई यसको खबर चिठी लेखेर दिएँ । उनले तिथिमिति र रेलको रुट समेतको जानकारी दिए । उनले दिएको निर्देशनअनुसार हामी मुजफ्फरपुरबाट रेल चढ्यौँ ।
 उनको क्वार्टरमा पुग्दा बिहानको झिसमिसे थियो । एकजना पहेँलो धोती, रुद्राक्षमाला र निधारमा राम्रैसँग खरानी दलेको जोगीले हाम्रो स्वागत ग¥यो । अचम्म लाग्दै थियो । परिचय आदानप्रदानपछि थाहा भयो, ती उनै रामदाइ थिए । लोकोमोटिभ इन्जिनियर प्रथम श्रैणीका जोगी ?
 हामीलाई आराम गर्न लगाएर उनी बाँकी पूजाआजामा  लागे । शंख, घण्ट र डमरुले बस्ती घन्कियो । आठ बजे उनले पूजाआजा सके । सँगै बसेर चिया खायौँ । हाम्रा मनमा कौतूहल मात्र मडारिएका थिए । ती विषय कोट्याउन लाग्दा हाम्रा लागि उनले चार दिन छुट्टी लिएकोले सबै गफ आरामसँग गरौँला भने । ‘कति कुरा मैले बताउनै पर्दैन, देखेरै जान्दछौ’ भने ।
 नौ बज्यो । क्वार्टरमा बिरामीका ताँती लागे । वैद्यबाबा भनेर उनलाई सम्बोधन गरेका पनि सुनियो । कुनै कालखण्डमा दहचोकको गाई गोठालोको यो सम्मान देखेर मेरो छाती नाङ्लोजत्रै भयो । हर्षले होला, मेरा आँखा सर्र रसाए । दाइले कतिलाई ओखती दिए । कतिको झारफुक गरे । दुई जनालाई जन्तर बाँधिदिएको पनि देख्यौँ । हामी आश्चर्यचकित थियौँ । दश बज्न लाग्दा उनले बिरामीका जाँचपडताल सके ।
 रामदाइसँग हाम्रा कुराकानी सुरु भए । उनले बताए, दाजुसँग कलकत्ता आएपछि उनको खाने बस्ने पनि ठेगान भएन । पढाइको कुरो त कता हरायो कता । दाजुको विचार उनलाई काम गराउने रहेछ । दाजुभाइको कुरा मिलेन । आमा र बहिनीलाई लगेर हावडा स्टेसनको कुनामा राखे । आफू भरियाको काम गर्न थाले । डेरा लिने अवस्था थिएन । तिनको बास त्यही स्टेसनमै भयो । परिश्रम गरेर आमा र बहिनीलाई खान दिए । उनको लगन र इमानदारी देखेर कपडा व्यापारी झुमरमलले किस्ताबन्दीमा तिर्ने गरी एउटा रिक्सा किनिदियो । रिक्सा चलाउन जानेपछि उनको केही कमाइ हुन थाल्यो ।
यही हालतमा एक वर्ष बित्यो । उनले झुमरमलको किस्ता पनि तिरिसकेका थिए । एकरात स्टेसनमै उनकी बहिनी मरिन् । उनलाई आमाको चिन्ता हुन थाल्यो । काठमाडौँका जेठा दाजुलाई चिठी लेखेर बोलाए । दाजुको साथ लगाएर आमालाई यता पठाइदिए । आफू रिक्सा तान्ने काममै व्यस्त रहे । उनको परिश्रम देखेर उनै झुमरमलले आफ्ना सम्धीको सेरामिक कारखानाको गार्डमा काम लगाइदिए । बल्ल रामदाइले पढाइ सम्झे । रात्रीस्कुलमा भर्ना भएर दुई वर्षपछि त्यहाँको म्याट्रिकुलेसनको जाँच दिए । त्यसको रिजल्ट हुँदा रामदाइको नाम डिस्टिङ्सन बोर्डमा निस्क्यो ।
उनले स्वतः आइएससी पढ्ने छात्रवृत्ति पाए । निःशुल्क बस्ने छात्रावास मिल्यो । साथसाथमा उनी कविराज पढ्न थाले । दुवैमा राम्रो नतिजा आयो । तुरुन्तै रेलवे इन्जिनियरिङ पढ्ने छात्रवृत्ति मिल्यो । कलेज बिदा भएका बखत उनी कालीमाताको मन्दिरमा गएर अघोरी साधुसन्तको संगत गर्न थाले । तान्त्रिक विद्या सिके । तन्त्र विद्या पनि विज्ञान हो भन्थे उनी । कुनै मन्त्र साधनामा उनले सिद्धि पाएको कुरा समेत हामीलाई बताए । उनले पटनाका छेत्री परिवारकी केटीसँग बिहे गरे । त्यो बेला पटना विश्वविद्यालयमा उपप्राध्यापकको आवश्यकता खुलेकोले काखको सानो छोरोलाई पनि साथमा लिएर जाँचको तयारीका लागि उनी पटनामै बसेकी छन् भन्ने कुरा हामीलाइै सुनाए ।
 हाम्रा लागि पत्याउनै नसकिने ज्यूँदो कथा हाम्रै अगाडि मुस्कुराइरहेको थियो । उनीबारे अनेकौँ जिज्ञासा राखेर मैले प्रश्न गरेँ । उनका कथा मैले डायरीमा टिपोट गरेको थिएँ । यी बिरामीलाई निःशुल्क औषधि किन बाँढेको ? मैले सोधेको थिएँ । त्यसको उत्तर उनले हाँसेरै दिए, ‘ठीक हो, औषधिमा खर्च लाग्छ । आज यहाँ आउने सबै मानिस यही शहरका हुन् । छिमेकीसँग खरानी फुकेको के पैसा लिने ? टाढाटाढाबाट धनीमानी पनि मसँग औषधि गराउन आउँछन् । तीसँग पैसा लिन्छु । बुटी किन्छु । असक र छिमेकीलाई बाँडिदिन्छु ।’
 उनले हामीलाई भित्रको कोठामा लगे । त्यहाँ जडीबुटी कुट्ने ठूलठूला खल थिए । अनेकौँ औषधिका बट्टा र पोका थुपारिएका थिए । मैले दाइलाई सोधेँ, ‘यी औषधि कल्ले बनाउँछ ?’ उनले भने, ‘यहाँ सरकारी जागिर खाएपछि पद अनुसारका निःशुल्क बस्ने क्वार्टर मिल्छ । एउटा जर्सी गाई र दुईजना अर्दली पनि मलाई दिइएको छ । यो घरको पछाडिपट्टि तरकारीबारी छ । गाई र बारीको हेरचाह ती अर्दलीले गर्छन् । क्वार्टरमा बस्ने अन्य कर्मचारीले तिनलाई घरको काम लगाउँछन् । मैले पनि लगाए हुन्छ । तर, मेरो भान्छाको काम, पूजाको काम र औषधि बनाउने काम तिनलाई लगाउन्न । म आफैँ गर्छु ।’
 रामदाइको त्यो जीवन कहानी लेख्न मभित्रको स्रष्टाले मलाई सताइरहेको थियो । २०६६ सालमा आएर रामदाइ लेखेँ । मेरो सपना भनूँ कि उनको किञ्चित् रिन तिरेँ भनूँ । रामदाइको यो रामकहानी प्रकाशित छ । त्यो किताबको प्रकाशन र नेपाल एफएममा नरनाथ लुइँटेलको पूरै अंश पाठपछि रामदाइका परिवार सम्पर्कमा आए । रामदाइ तीनचार वर्षअघि बितेछन् । उनका दुईजना छोरामा एकजना बंगाल पुलिस फोर्समा अफिसर रहेछन् । एकजना इन्जिनियर दिल्लीमा बस्दा रहेछन् ।
यो आलेख यहाँ मैले यिनै प्रश्न गर्न लेखेको हुँ । गरे के हुन्न ? नगरी के हुन्छ ? हिलोमै फुल्छन् कमलका फूल ।

 

 

प्रकाशित: २३ वैशाख २०७४ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App