coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

असुरक्षित गर्भपतनले महिला गम्भीर

काठमाडौं- वीरगन्ज मौजीश्री शिश्रवा–२८ की २१ वर्षीया चन्दादेवी प्रजापति यतिखेर अस्पतालको बेडमा छटपटाइरहेकी छिन्। औषधि पसलेबाट गर्भपतन गराउँदा जटिल समस्या देखिएपछि उनी सिकिस्त भएकी हुन्। चैत २९ गते उपचारका लागि एम्बुलेन्समा राखेर उनलाई शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो।

अझै पनि उनी राम्रोसँग निको हुन सकेकी छैनन्। उनको उपचारमा संलग्न चिकित्सक अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. मिता सिंहका अनुसार उनको स्वास्थ्य अहिले पनि गम्भीर छ। 'अहिले 'सेप्सिस' संक्रमण फैलिनुका साथै ज्वरो आइरहेको छ, कहिले निको हुने हो, यकिन भन्न सकिन्न,' उनले भनिन्।

प्रजापति दम्पतीका अनुसार चैतको तेस्रो साता चन्दादेवीको पेटमा चार महिनाको गर्भ थियो। त्यो दिन गहुँको बोरा उचाल्दा उनी लडिन्। लडेपछि पेट दुख्यो। त्यसपछि उनी वीरगन्जको केयुनियाँस्थित एक औषधि पसल पुगिन्। त्यो दिन पसले दशरथजीले योनीमा औषधि राखिदिएका थिए। उनले औषधि राखेको २४ घन्टाभित्र बच्चा आफैं निस्कन्छ भन्दै घर पठाएका थिए। तर, दशरथजीले भनेजस्तो चौबीस घन्टाभित्र बच्चा निस्केन, उल्टै दुखाइ बढ्यो।

दुखाइ सहन नसकेपछि चन्दादेवी भोलिपल्ट फेरि मेडिकल पुगिन्। पसलेले उनलाई लठ्याउने सुई लगाए र कैंचीजस्तो औजार प्रयोग गरी बच्चा निकाले। त्यसपछि दशरथजीले उनलाई घर पठाए। भोलिपल्टदेखि चन्दादेवीलाई अर्को समस्या थपियो, एक्कासि पेट ठूलो हुने र दिसा रोकिने। यो समस्या शिवकुमारले दशरथजीलाई सुनाए। दशरथजीले भारतको आग्रा अस्पताल जान सुझाव दिए। भारत जानलाई पैसा थिएन, नेसनल मेडिकल कलेज वीरगन्ज गए। अस्पतालका चिकित्सकले दुई दिनसम्म औषधि खाएर हेरौं भन्दै राखे तैपनि सुधार भएन, उल्टै समस्या बढ्दै गयो। दुई दिनमै वीरगन्जस्थित रोशनअली अस्पतालमा लगे। यो अस्पतालले पाठेघरभित्र संक्रमण फैलिएको भन्दै औषधी खाने र नभएमा शल्यक्रिया गर्ने भन्यो। यति बेलासम्म चन्दादेवी थप गम्भीर भइसकेकी थिइन्। आफन्तले पैसा उठाएर तुरुन्तै काठमाडौं लैजान सुझाव दिए।

चैत २९ गते साँझ टिचिङ अस्पताल महाराजगन्ज ल्याइपुर्‍याएपछि उनलाई चिकित्सकले भोलिपल्टै शल्यक्रिया गरी पेटभित्र बाँकी रहेको कस र पिप निकाले, फुटेको पाठेघर सिलाइदिए। असुरक्षित गर्भपतनका कारण उनको पाठेघर फुटेको र बच्चाको अंगको भाग भित्रै छुटेकाले संक्रमण शरीरको अन्य भागमा समेत फैलिसकेको चिकित्सकले बताए। 'अपरेसन गर्दा भित्र पानी तान्ने बोतल राखेका थियौं, पछि त्यो भरियो, अहिले पनि पूर्ण रोकिएको छैन', उपचारमा संलग्न डा. लेखनाथ भट्टले भने।

डा. सिंंहका अनुसार चन्दादेवीको गर्भपतन अवैध तरिकाले गराइएको हो। बिरामीको घटनाको प्रकृति र रोगको अवस्था हेर्दा सेप्टिक (शरीरभरि संक्रमण फैलिएर हुने जटिलता) एबोर्सन भएको सिंहले बताइन्।

मुलुकी ऐनको गर्भपतन महलअनुसार १२ साताभित्रको गर्भपतन गर्ने अधिकार छ। आमाको स्वास्थ्य र जीवन जोखिममा रहेको अवस्थामा भने १८ सातासम्मको गर्भपतन गर्न मिल्छ। यो अवधि पार गरेकाले चन्दादेवीको गर्भपतन कानुनविपरीत भएको डा. सिंहले बताइन्। डा. सिंहले भनिन्, 'जसले गरेको भए पनि गैरकानुनी हो, यस्तो गर्न हुन्नथ्यो।'

यो दम्पतीले गर्भपतन गराउनुपर्नाको यकिन जबाफ दिएको छैन। गहुँको बोरासँगै लडेपछि समस्या आएर गाउँलेमार्फत औषधिपसल पुगेको उनीहरुको भनाइ छ। 'गरिब मान्छे, चार हजारमै हुन्छ भनेपछि गयौं', पति शिवकुमारले भने। घटना गम्भीर भएपछि क्षतिपूर्ति माग्दा पसलेले २० हजारमात्र दिई पठाएको उनले बताए। 'दशरथजीले यसै गरी पहिलादेखि नै गाउँलेको गर्भपतन गर्दै आएका थिए रे', उनले कुरा खुलाउँदै भने।

शिवकुमार दम्पती सामान्य साक्षर छन् र ज्याला मजदुरी गरेर जीविका चलाउँदै  आएका छन्। सहयोग गर्ने पारिवारिक सदस्य पनि नभएकाले थप उपचारका लागि संकट परेको शिवकुमारले सुनाए।

शिक्षण अस्पतालले विपन्न भएको थाहा पाएपछि शऒ्ढया निःशुल्क गरेको छ। तर, उपचारमा आवश्यक सामग्री, बिरामी कुरुवा खर्च, खाना तथा औषधि किन्नुपर्ने भएकाले पैसा अभाव हुँदै गएको उनले सुनाए। 'डाक्टरले भोलिदेखि झन् महँगो औषधि चलाउने बताएका छन्, ल्याएको पैसा पनि सकियो, पठाइदिने कोही छैनन्', उनले पीडा सुनाए।

गर्भपतन ऐन २०५८ अनुसार हरेक महिलालाई सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्था र अनुमति प्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन पाउने व्यवस्था छ। ऐनअनुसार गर्भपतन गराउने स्वास्थ्य संस्थाले सेवाग्राहीले देख्ने गरी सुरक्षित गर्भपतन लोगो भएको बोर्ड र अनुमतिपत्र सबैले देख्नेगरी राखेर मात्र यो सेवा दिनुपर्छ। गर्भपतन गराउन पुगेको औषधिपसलमा यस्तो केही नदेखेको शिवकुमारले बताए। 'केही लेखकै थिएन। औषधिपसल र त्योभित्र एउटा बिरामी सुताउने बेड छ', चन्दादेवीले भनिन्। क्षमता नभएको पसलले गर्भपतन गराएकाले पत्नीको पूरै उपचार पसलेले बेहोर्नुपर्ने शिवकुमारले बताए। 'हुन्न भनेको भए अन्त जान्थ्यौं। दुई दिनसम्म त्यहीं राख्यो', उनले भने।

पसलेकै कारण आफ्नो ज्यान जोखिममा परेको चन्दादेवीले बताइन्। 'रातिको समय थियो, टुक्राटुक्रा पारेर निकाल्दा पाठेघर नै तानेछ', उनले रुँदै भनिन्, 'काठमाडौं नआएको भए म बाँच्ने थिइनँ।'

सरकारले असुरक्षित गर्भपतनले महिलामा हुन सक्ने जोखिमलाई ध्यानमा राखी सबै जिल्लामा निःशुल्क गर्भपतन सेवाको व्यवस्था गरेको छ।

प्रकाशित: २४ वैशाख २०७४ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App