८ वैशाख २०८१ शनिबार
अर्थ

निजी क्षेत्रलाई राजनीतिक पक्ष नलिन सुझाव

इटहरी- उद्योगी–व्यापारी राजनीतिक विचारको पक्ष र विपक्षमा विभाजन हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै एकजुट भएर अघि बढ्न निजी क्षेत्रका अगुवाले सुझाएका छन्। राजनीतिक स्थायित्व नहुँदा आर्थिक विकास र मुलुक समृद्धितर्फ अघि बढ्न नसकेको उनीहरुको निष्कर्ष छ।

उद्योग वाणिज्य संघ इटहरीका नवनिर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा शनिबार अगुवा उद्योगी–व्यापारीले हरेकले आ–आफ्नो क्षेत्रबाट आर्थिक फड्को मार्ने प्रयास गर्नुपर्ने सुझाए।

पोहोर वैशाख १२ गतेको महाभूकम्प र असोजमा संविधान जारी भएपछि असन्तुष्ट राजनीतिक दलको ६ महिने तराई–मधेस बन्दसँगै भारतीय अघोषित नाकाबन्दीले आर्थिक क्षेत्र चौपट भएकोमा पछिल्लो समय सामान्य भएको थियो। महाभूकम्पका कारण अनुमानित ७ खर्ब रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको थियो।

संविधानसँग सम्बन्धित आन्दोलनका कारण नाकाबन्दीको अवस्था सिर्जना हुँदा नेपालको अर्थतन्त्रमा ठूलो धक्का लागेको थियो। अहिले केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता राजनीतिक अन्योल बढेको छ।

'राजनीतिक अन्योलले आर्थिक विकास अप्ठेरोमा परेको छ,' नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणाले भनिन, 'अब राजनीतिक दलका नेताहरुले राजनीतिक स्थायित्व हुने गरी भूमिका निर्वाह गर्नुपर्छ अनिमात्र आर्थिक विकास सम्भव छ।' उनले हरेकले आ–आफ्नो जिम्मेवारी अनुसार भूमिका निर्वाह गर्दामात्र मुलुकमा विकासले गति लिने बताइन्।

'सभासदले विकासमा, राजनीतिज्ञले राजनीतिक स्थायित्वका लागि र सुरक्षा निकायले शान्ति–सुरक्षा कायम गर्न भूमिका निर्वाह गर्नुपर्छ,' उनले भनिन्, 'हाम्रो निजी क्षेत्र पनि अहिले अलमलमा छ। निजी क्षेत्रले लगानीको वातावरणका लागि समन्वय गर्नुपर्छ।' उनले राजनीति कै कारण उद्योगी–व्यापारीको साझा संस्थाको गरिमा घट्दै गएको भन्दै सचेत भएर एकजुट हुनुपर्ने बताइन्।

'निजी क्षेत्रलाई एकजुट भएर अघि बढाउनुको सट्टा एकअर्काका कमजोरी कोट्ट्याउनतिर मात्र लाग्यौं भने एकले अर्कोलाई हिलो छ्याप्ने काममात्र हुनेछ,' राणाले भनिन, 'निजी क्षेत्रको गरिमा उच्च राखेर विकास र समृद्धिको बाटोमा अघि बढ्नुपर्छ।'

उनले भारत र चीन दुवै नाका जोड्ने सेतु नेपाल भएकोले मुलुकको भविष्य आसलाग्दो भएको बताइन्। महासंघका उपाध्यक्ष किशोर श्रेष्ठले सरकारले ल्याएको नयाँ योजना विराटनगर र इटहरीसहित आसपासका क्षेत्रलाई समेटेर महानगरपालिकाको अध्ययन गर्ने प्रस्ताव अनुसार अघि बढेमा विकासले गति लिने बताए। उनले विराटनगर र इटहरीसहित आसपास क्षेत्रलाई समेटेर महानगरपालिका बनाए औद्योगिक करिडोर क्षेत्रको नमूना बनाउन सकिने बताए।

सो क्रममा सभासद रेवतीरमण भण्डारीले उद्योगी–व्यापारीको साझा संस्थाले आर्थिक विकासको मुख्य एजेन्डा लिएर अघि बढ्नुपर्ने सुझाए। कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष रोहितकुमार प्रसाईले नयाँ कार्यसमितिले सम्पूर्ण पक्षलाई एकताबद्ध गरेर अघि बढ्न सुझाए।

असार २३ गते भएको संघको चुनावबाट निर्वाचित अध्यक्ष लिलम बस्नेतसहित नौजना वाणिज्य, चारजना उद्योग, दुईजना महिला, दुईजना वस्तुगत र एकजना एसोसिएटतर्फका पदाधिकारीलाई निर्वाचन संयोजक विश्व रिजालले शपथग्रहण गराएका थिए।

शपथपछि अध्यक्ष बस्नेतले आफ्नो कार्यकालमा गर्ने कामको योजना सार्वजनिक गरे। वाणिज्य संघको भवन निर्माण पूरा गर्ने, इटहरीलाई बन्दमुक्त क्षेत्र घोषणा गर्ने, घरबहाललाई व्यवस्थित गर्ने, राति अबेरसम्म इटहरी बजार खुलाउने, इटहरी क्षेत्रमा सोलार जडान गर्ने, व्यावसायिक बिमा कार्यक्रम र व्यावसायिक सुरक्षा मजबुत पार्न पहल गर्ने बताए। उनले राजस्व अभिमुखीकरण कार्यक्रम, वाणिज्य संघमा कम्प्युटर प्रविधिबाट छिटो–छरितो काम गर्ने, उद्योगी–व्यापारीलाई कर तिर्न सहज बनाउन भूमिका खेल्ने, एक घर एक बिरुवा कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।

उनले वरिष्ठ उपाध्यक्षमा शैलेश विष्ट, उद्योग उपाध्यक्षमा वजरंगलाल अग्रवाल, वाणिज्य उपाध्यक्षमा भूपेन्द्र बराल, महासचिवमा टंक खनाल, उद्योग सचिवमा राजेन्द्रकेशरी घिमिरे, वाणिज्य सचिवमा उमानाथ दाहाल र कोषाध्यक्षमा कमल पौडेललाई जिम्मेवारी तोकेका छन्।

प्रकाशित: २ श्रावण २०७३ ०३:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App