coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

काउलेपानी मुलुककै पहिलो वातावरणमैत्री होमस्टे गाउँ

काउलेपानी (लमजुङ- नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको गाउँ सहरको होमस्टेगाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय वातावरणमैत्री स्थानीय शासन कार्यक्रम अन्तर्गत बेसीसहर नगरपालिका ६ स्थित काउलेपानी गाउँलाई शुक्रबार मुलुककै पहिलो वातावरणमैत्री होमस्टे गाउँ घोषणा गरिएको हो।

नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री बनाउने अभियान अन्तर्गत उक्त गाउँका सबै परिवारले वातावरणमैत्री १८ वटा सूचक पालना गरेकाले वातावरणमैत्री गाउँ घोषणा गरिएको हो। काउलेपानीमा आयोजित समारोहमा प्रमुख जिल्ला अधिकारी मोहन जिसीले यसलाई वातावरणमैत्री गाउँ घोषणा गरे।

नेपालकै उत्कृष्ट गाउँ घोषित भएको काउलेपानीका बासिन्दाले प्यान सहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरको फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता कार्य गर्दै आएकाले वातावरणमैत्री घोषित गरिएको प्रजिअ जिसीले बताए।

वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन, व्यक्तिगत, पारिवारिक र घरेलु सरसफाइलाई स्थानीयले निरन्तरता दिनुपर्ने र सरसफाइका लागि काउलेपानीबाट अन्य गाउँले पनि सिक्न सक्ने जिसीले बताए। वातावरणमैत्री गाउँ घोषणा गरिएसँगै प्रजिअ जिसी र नगरपालिकका कार्यकारी प्रमुख डिकबहादुर कार्कीले काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देउबहादुर गुरुङलाई प्रमाणपत्र प्रदान गरेका छन्।

घरबाट निस्कने फोहोरलाई उचित तरिकाले संकलन गर्ने, प्लास्टिकजन्य झोला, प्याकेटको प्रयोग नगर्ने, सौर्य तथा नवीकरणीय ऊर्जा प्रयोग, घरआँगन, बाटो, चोकको सरसफाइ, खाली वा पर्ती जग्गामा वृक्षरोपण गर्नुपर्ने सूचकहरु स्थानीयले पालना गरेको नगरपालिकका प्रमुख कार्कीले बताए। त्यस्तै, शुद्ध पिउने पानीको व्यवस्था, घरको धुरी, छत, धारो वा स्नानगृहबाट निस्कने पानीको उचित व्यवस्था, प्यानसहितको चर्पी प्रयोग गर्ने, सड्ने र नसड्ने फोहोरलाई छुट्टा–छुट्टै व्यवस्थापन गर्ने, पशुपक्षी तथा कुकुरले गर्ने फोहोर व्यवस्थापन गर्ने, धुँवारहित चुलो प्रयोग, फलफूलको बिरुवा रोप्ने जस्ता १८ वटा सूचकमा स्थानीयले ८० देखि ९० प्रतिशतसम्म पालना गरेको कार्की बताउँछन्।

२५ घरपरिवार रहेको सो गाउँका १४ घरले विगत ५ वर्षदेखि होमस्टे सञ्चालन गर्दै आएका छन्। उनीहरुले दैनिक रुपमा घर, आँगन, पाहुनाकोठा र साप्ताहिक रुपमा बस्तीका बाटोघाटो, चोक, सामुदायिक भवन परिसर, सार्वजनिक शौचालय, धारो, मन्दिर, चौतारो, भ्यु प्वाइन्ट क्षेत्रको सरसफाइ गर्दै आएको होमस्टे विकास समितिका अध्यक्ष देउबहादुर गुरुङले बताए।

वातावरणमैत्री गाउँ घोषित भएपछि स्थानीयको दायित्व र जिम्मेवारी थपिएको अनुभूति भएको पनि उनले बताए। वातावरणमैत्री घोषणा गर्नुअघि विभिन्न सूचकको आधारमा अन्य स्थान र काउलेपानीको तुलनात्मक अध्ययन गरी आवश्यक सल्लाह र सुझाव दिएकोमा स्थानीयले निकै रुचिपूर्वक काम गरेेर देखाएको नगरपालिकाका वातावरणविज्ञ कमलसिंह थापाले बताए।

वातावरणमैत्री गाउँ घोषणा कार्यक्रममा नेकपा एमालेका नगरकमिटी अध्यक्ष भोजबहादुर रिमाल, नेकपा माओवादी केन्द्रका भूपाल दनाई, अखण्ड नेपालका ठाकुरप्रसाद बराल, डिएसपी समिरचन्द्र खरेल, राष्ट्रिय अनुसन्धान प्रमुख कुलबहादुर खड्का, लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार श्रेष्ठ, नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाई लगायतले पर्यावरणीय सन्तुलनबारे मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा स्थानीय सयपत्री मिलन समूह, शिरखोला आमासमूह र पर्यटन विकास समितिका तर्फबाट स्वागत नृत्य, घाँटु झोरला नृत्य, कौरा नृत्य तथा सामूहिक नाच प्रस्तुत गरी अतिथिलाई मनोरञ्जन गराएका थिए।

प्रकाशित: २ श्रावण २०७३ ०३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App