६ वैशाख २०८१ बिहीबार
राजनीति

ललितपुरको ‘दुर्गम’ मा प्रचार तीव्र

ललितपुर – राजधानीसँग जोडिएर पनि यातायात, खानेपानी, स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत आवश्यकताबाट वञ्चित रहेका ललितपुरका दुर्गम गाउँपालिकामा यति बेला निर्वाचनको रौनक बेग्लै छ । ललितपुरको ‘कर्णाली’ उपमा पाएका आश्राङ, गिम्दी, ठुलादुर्लुग, भारदेउ, नल्लु र कालेश्वरजस्ता गाविस समेटेर हाल बागमती, महाँकाल र कोन्ज्योसोम गाउँपलिका बनेका छन् । तीनवटै गाउँपालिकाको सरदर मतदाता संख्या ८ हजारको हाराहारी रहे पनि एउटा गाउँमा घरदैलो कार्यक्रममै दिन बित्ने अवस्था रहेको छ । 

महाँकाल सुविधाका दृष्टिले सुगम मानिए पनि यसमा गाभिएका तीन गाउँका लागि यातायात, स्वास्थ्य, शिक्षा र रोजगारी नै उम्मेदवार र मतदाता दुवैका लागि प्रमुख अजेन्डा बनेका छन् । 

साविकका दुर्लुग, कालेश्वर, गोटिखेल, बुखेल, मनिखेल र चन्दनपुरलाई जोडेर बनेको महाँकाल गाउँपालिकामा ३२ स्थानका लागि एक सय २४ जना प्रतिस्पर्धामा छन् । गाउँपालिका अध्यक्षमा नौ र उपाध्यक्षमा चार जना प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत धुव्रकुमार ढकालले नागरिकलाई बताए । वडा नम्बर ४ बाट नेपाली कांग्रेसकी झनमाया विश्वकर्मा दलित महिला सदस्यमा निर्विरोध भएकी छन् ।

महाँकाल गाउँपालिकाका लागि नेपाली कांग्रेस ललितपुर जिल्लाका सचिवसमेत रहेका भीमसेन घिमिरेलाई अध्यक्षको उम्मेदवार बनाएको छ । नेकपा माओवादी केन्द्रले बुद्धबहादुर नेगी, नेकपा एमालेले रामचन्द्र दाहाल र राप्रपाले मुकुन्दप्रसाद पराजुलीलाई अध्यक्ष उम्मेदवार बनाएका छन् । महाँकाल गाउँपालिकाका १३ स्थानमा मतदान केन्द्र तोकिएको छ ।

यता, साविकका भुखेल, माल्टा, इकुडोल, भट्टेडाँडा प्युटार, आश्राङ र गिम्दी गाविस गाभिएर बनेको बागमती गाउँपालिकाका ३७ स्थानका लागि एक सय २७ जना भिडन्तमा छन् । सातवटा वडामध्ये वडा नम्बर १ मा दलित महिला सदस्यकी उम्मेदवार संगीता नेपाली निर्विरोध निर्वाचित भएकी छन् ।

बागमतीकी निर्वाचन अधिकृत रोशनीकुमारी श्रेष्ठका अनुसार १५ मतदान केन्द्र रहेको यस गाउँपालिकामा केही भागबाट मतपत्र केन्द्रमा ल्याउन नै एक दिनसम्म हिँड्नुपर्ने अवस्था छ । 
नेपाली कांग्रेसले बागमती अध्यक्षमा वीरबहादुर लोप्चन, नेकपा एमालेले दुर्गाप्रसाद घिमिरे र माओवादी केन्द्रले राजु आलेमगरलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीकी संयुक्त उम्मेदवार लक्ष्मी तामाङसमेत अध्यक्षका लागि प्रतिस्पर्धामा छिन् ।

कोन्ज्योसोम गाउँपालिकामा २७ पदका लागि ८६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन अधिकृत देवीप्रसाद योगीले जानकारी दिए । साविकका दलचोकी, शंखु, भारदेउ, नल्लु र चौघरे गाविसलाई वडा कायम गर्दै कोन्ज्योसोम गाउँपलिका बनेको हो । 

योगीका अनुसार १० मतदान केन्द्र कायम भएको कोन्ज्योसोममा गाउँपालिका अध्यक्षमा ६ र उपाध्यक्षमा पाँचजनाबीच प्रतिस्पर्धा हँुदैछ । यीमध्ये अध्यक्षमा दुई र उपाध्यक्षमा एकजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

कोन्ज्योसोम गाउँपालिकाका लागि नेकपा एमालेबाट कृष्णमान लामा, नेपाली कांग्रेसबाट राजनप्रसाद घिमिरे र नेकपा माओवादी केन्द्रबाट गोपीलाल सिंगतान चुनावी प्रतिस्पर्धामा छन् । यस्तै नयाँ शक्ति र संघीय समाजवादी फोरमका तर्फबाट प्रताप लोप्चन तामाङले उम्मेदवारी दिएका छन् ।

कांग्रेस ललितपुर क्षेत्र नम्बर १ का कार्यवाहक सभापति सुन्दरमान सिंह निर्वाचनले विकट यस भेगका जनतामा नयाँ उत्साहको सञ्चार गरेको बताउँछन् । उनले नेपाली कांग्रेसले तीनवटै गाउँपालिकामा आमसभा नगर्ने पार्टीको निर्णयअनुसार सबैको घरदैलोमा सबै उम्मेदवार पु¥याउन तत्पर रहेको बताए । उनले भने, ‘विकटता भए पनि विकासको सम्भावना निर्वाचनमार्फत जनताले बुझेको पाएँ, हामी घरदैलो अभियानमा लागेका छौं, हाम्रो प्रतिबद्धता विजयसँगै साकार हुनेमा जनतालाई विश्वस्त बनाएका छौं ।’

नेकपा माओवादी केन्द्रका बुद्धबहादुर नेगीले भएका संरचनासमेतको सदुपयोगमा देखिएको उदासीनता हटाएर शिक्षा, स्वास्थ्य, यातायात र स्वरोजगारका क्षेत्रमा पार्टीको नीति जानकारी दिन मतदातासँग साक्षात्कार गरिएको बताए । उनले भने, ‘आठ वर्षअघि निर्माण भएको मनिखेल अस्पतालमा करोडौं लगानी भयो तर प्रयोगविहीन छ । यस्ता मुद्दा हामीले जोडतोडले उठाएका छौं ।’

नेकपा एमाले बागमती गाउँपालिकाका प्रचारप्रसार संयोजक नारायणप्रसाद तिमिलसेना मतदाता एमालेप्रति सकारात्मक रहेको बताउँछन् । उनका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, यातायातजस्ता विषयभन्दा बढी राज्यले गाउँपालिकामार्फत प्रदान गर्ने अधिकारका विषयमा मतदाता बढी उत्साही छन् । उनले भने, ‘जितहार निर्वाचनअघि भनिहाल्न मिल्दैन तर हामीले मतदाता एमालेप्रति सकारात्मक रहेको पाएका छौं ।’

प्रकाशित: २७ वैशाख २०७४ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App