८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन प्रवद्र्धनका लागि होमस्टे बनाउने बढे

काठमाडौं – सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्ययोजना तयारी गरिरहेको अवस्थामा स्थानीय तहमा निजी र सामुदायिक होमस्टे बनाउनेको संख्या बढेको छ । पदयात्रामा आएका स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर ग्रामीण तहमा होमस्टे बनाउन थालेका हुन् । 

विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन अभियान र पदमार्गको खोजी अभियानलाई प्रोत्साहन गर्ने नीति अनुरुप सरकारले ग्रामीण तहमा होमस्टेको अवधारणा ल्याएपछि २०६७ भदौ ७ गते ‘कपन होम स्टे भिलेज’ सामुदायिक होमस्टे सञ्चालनका लागि नेपाल पर्यटन बोर्डले अनुमति दिएको थियो । 

पर्यटन विभागको २०७३ चैत मसान्तसम्मको तथ्यांकमा दुई सय ४५ वटा होमस्टे दर्ता भएका छन् । यसमा ६७ वटा निजी होमस्टे दर्ता भएर सञ्चालनमा आएको पर्यटन विभागले जनाएको छ । विभागको तथ्यांक शाखाका प्रमुख रमा भण्डारीले दुई सय ४५ होमस्टेमा दुई सय ९७ वटा घर रहेको बताइन् । उनका अनुसार उक्त घरमा पाँच सय ६६ कोठा र नौ सय ७८ वटा बेड रहेका छन्। 

यस्तै, जनकपुर पर्यटन कार्यालयमा एक होमस्टे दर्ता भएको छ । विरगञ्ज पर्यटन कार्यालयमा तीन, भैरहवामा २४, पोखरामा ६५, कोहलपुरमा नौ र झापामा १७ वटा होमस्टे दर्ता भएर सञ्चालनमा आएको विभागले जनाएको छ । पछिल्लो समय ग्रामीण तहमा होमस्टे बनाउनेको संख्या बढ्दै गएको भण्डारीले बताइन् ।  

पदयात्राका लागि पदमार्ग रुटहरु धेरै भएकाले यस क्षेत्रमा बसोबास व्यवस्थापनका लागि सहज हुने आशाका साथ होमस्टेको अवधारणा सरकारले ल्याएको हो । ग्रामीण तहमा होमस्टे सञ्चालनले स्थानीय स्रोत साधनको परिचालन, स्थानीय कृषिको प्रवद्र्धनसँगै अर्गानिक खानाले स्थानीयको आर्थिक सुधार हुने छ । होमस्टे सञ्चालन गर्दा स्थानीय कला, संस्कृति र जीवन पद्धतिको समेत संरक्षण हुने होमस्टे सञ्चालक कमल तामाङको भनाइ छ । 

ट्रेकिङ एजेन्सिज् अफ नेपालका (टान) अध्यक्ष चन्द्रप्रसाद रिजालले गाउँगाउँमा होमस्टे बनाएपछि पदयात्रामा जाने स्वदेशी तथा विदेशीलाई सहज भएको बताए । होमस्टे सञ्चालनमा आएपछि पर्यटकलाई पाल टाँगेर बस्नु नपरे पनि स्थानीय संस्कृति र अर्गानिक खाना भने मुस्किलले पाउँने गरेको रिजालको भनाइ छ । ‘गाउँका होमस्टेमा स्थानीय कृषि उत्पादन, अर्गानिक खाना मुस्किलले पाउँछ । सहरकै पेयपदार्थ र चाउँचाउँ पाउँने हो भने होमस्टेको विशेषता हराउँछ ।’

दुर्गम तथा स्थानीय क्षेत्रमा सञ्चालन रहेको होमस्टेमा हरेक प्रकारको खानादेखि बसोबास गर्ने रुममा समेत स्थानीय झल्को आउनु पर्ने रिजालको भनाइ छ । गाउँले जीवनसँग गाँसिएको होमस्टे भए आन्तरिक पर्यटकलाई मात्र नभएर विदेशी पर्यटकलाई समेत नयाँ उत्सुकता हुने उनको तर्क छ। 

विभिन्न पर्यटकीय पदमार्गमा सञ्चालन भएको होमस्टेले स्थानीय रुपमा रोजगार, अर्थ विकास र समृद्धि गाउँसम्म पुग्छ । अर्गानिक पर्यटन, जिरो कार्बन पर्यटन र जीवित संस्कृतिको थलोका रूपमा ग्रामीण पर्यटनको विकासमा होमस्टेले फड्को मार्ने टानका अध्यक्ष रिजालको भनाइ छ ।

प्रकाशित: २७ वैशाख २०७४ ०५:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App