coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुरिलो सहकार्य

एकै रथका दुई पांग्रा हाम्रो जिन्दगानी
तिमी आगो बन्यौ भने म बनुँला पानी ।

गीतकार कृष्ण अविरलका शब्दमा उदय सोताङले संगीत गरेको र मनिला सोताङको समेत आवाज रहेको गीतजस्तै छ, उदय सोताङ र मनिला सोताङको जोडी । उदय सोताङ आगो बन्दा मनिला पानी बनिदिन्छिन् भने मनिला आगो बन्दा उदय पानी । त्यसैले त कलिलो उमेरमा विवाह गरेको यो जोडीले ३० वर्षे लामो वैवाहिक यात्रा थाहै नपाई पार गरिसकेको छ ।
मनिलासँग पहिलोपल्ट भेट हुँदा दार्जिलिङको सेन्ट रोबट्र्स स्कुलमा कक्षा १० मा पढ्थे, उदय । कालिम्पोङको कुनै स्कुलमा पढ्थिन्, मनिला । उदयभन्दा सानो क्लासमा । तर, दुवैलाई जोड्ने सेतु थियो, संगीत । उदय पढ्ने स्कुलले एउटा एल्बम निकालेको थियो । त्यही एल्बममा उदयको आवाजमा समेटिएको गीतको फ्यान थिइन्, मनिला । गीतको फ्यान मनिलालाई भेटेपछि उदय आफैँ भने मनिलाको फ्यान बने । भेटेको एक वर्षमा त दुवै श्रीमान्–श्रीमती बनिसकेका थिए । ‘१० कक्षामा पढ्दा भेट भयो । ११ मा पढ्दा विवाह । १२ पढ्दा त जेठी छोरी श्रेया नै जन्मिसकेकी थिई,’ उदयले भने ।
जिन्दगीको घामपानी हातेमालो गर्दै पार गरेको यो जोडीका तीन सन्तान छन् । छोरा सुयोग ब्रिटिस स्कुलमा पियानो पढाउँछन् भने कान्छी सृष्टि यो पालि १२ को परीक्षा दिँदैछिन् । जेठी श्रेया त सांगीतिक क्षेत्रमा स्थापित नै भइसकिन् । कलिलो उमेरमा विवाह गरेकाले उदयले सानै उमेरदेखि संघर्ष गर्नुप¥यो । तर, संघर्षका दिनमा मनिलाको साथ पाएर नै दुःखमा पनि सुखको अनभूति गरेको उनी बताउँछन् । ‘सानै उमेरमा विवाह गरेर बच्चा पनि भएकाले हामी दुवैले संघर्ष ग¥यौँ । तर, अहिले सम्झँदा मैलेभन्दा मनिलाले बढी गरी कि भन्ने लाग्छ । म गायक संगीतकार मात्र थिएँ । तर, ऊ गायिकासँगै श्रीमती र आमा पनि थिई,’ उदयले भने । उता, मनिला भने आफू गायिका बन्नुको श्रेय उदयलाई नै दिन्छिन् । ‘उहाँले नै प्रेरित गरेर मलाई गायिका बनाएको । नत्र, त म गृहिणी मात्रै हुन्थेँ होला,’ मनिलाले भनिन् ।
घर र पेशालाई समानान्तर रूपमा व्यवस्थित गरेको यो जोडीको काममा अलिखित सम्झौता छ । सांगीतिक पाटो उदयले सम्हाल्छन् भने घर र छोराछोरीको जिम्मा मनिलाको काँधमा छ । तीन महिनाअघि दरबारमार्गस्थित मधुशाला गजल रेस्टुरेन्टको स्वामित्व लिएको जोडीले त्यहाँ पनि त्यसरी नै कामको बाँडफाँड गरेको छ । ‘लामो समय अरूका लागि गायौँ । अब आफ्नै लागि केही गरौँ भनेर यसको स्वामित्व लिएका हौँ । यसमा पनि आफैँ गाउने र अरू कलाकारसँग संयोजन गर्ने जिम्मा मैले लिएकी छु,’ मनिलाले भनिन्, ‘ग्राहकसँग कुराकानी गर्ने र व्यवस्थापनका अरू कुरा उहाँले हेर्नुहुन्छ ।’
श्रीमान्–श्रीमतीबीच झगडा हुनु सामान्य कुरा हो । तर, आफूहरूबीच भने खासै झगडा नहुने मनिला बताउँछिन् । ‘साथी भनेपछि मरिहत्ते गर्ने बानी छ । आफ्नो काम जतिसुकै बिते पनि केही मतलब गर्नुहुन्न । त्यसमा म रिसाउँछु,’ उनले भनिन्, ‘उहाँ चाहिँ मैले रियाज गरिन भनेर रिसाउनुहुन्थ्यो । मैले टेर्दै टेरिनँ । आजभोलि त्यो पनि भन्नुहुन्न । त्यही कारण आजभोलि झगडा नै पर्दैन ।’

(नागरिक परिवारबाट)

प्रकाशित: २७ वैशाख २०७४ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App