coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

दह्रो साथ, बलियो आड

–रामकुमार डिसी

लेखक युग पाठक र कल्पना बर्ताैलाको दाम्पत्य जीवनले १४ वर्षको यात्रा तय गरिसकेको छ । उनीहरू आफ्नो जोडीले केही मसिना चित्त दुःखाइबाहेक ठूला धक्का महसुस अहिलेसम्म गर्नु नपरेको बताउँछन् । ‘यो बीचमा हामीले एकअर्काप्रतिको बुझाइलाई बलियो बनायौँ,’ युगले भने, ‘अहिले यसैले काम गर्दैछ ।’
कहिलेकाहीँ झिनामसिना कुरामा ठाकठुक परे पनि त्यो धेरै बेर नटिक्ने कल्पना बताउँछिन् । ‘जिन्दगी हो, स–साना असमझदारी त हुन्छन् नै,’ कल्पनाले भनिन्, ‘केही समय बोलचाल बन्द भए पनि अरूले थाहा पाउने गरी अहिलेसम्म झगडा भएको छैन । विवाद भइहाले दुवै जना केही समय एकअर्कासँग नबोली चुप लागेर बस्छौँ । केही समयपछि आफैँ कुरो मिलिहाल्छ ।’
समकालीन फिक्सन र ननफिक्सन लेखनमा युगको बलियो उपस्थिति छ । ‘उर्गेनको घोडा’ उनको चर्चित उपन्यास हो । अखबारमा उनी राजनीतिक विश्लेषण गरिरहेका हुन्छन् । उनी पूर्णकालीन लेखक हुन् । कल्पना विशेष अदालतमा नासु तहको कम्प्युटर अपरेटर छिन् । एकले अर्काको पेशाको ‘कोर’ विषयमा सहयोग नगरे पनि जानकारी सेयर गरेर र शुभेच्छा राखेर सहयोगी वातावरण बनाउन मद्दत गर्ने उनीहरू बताउँछन् । ‘हाम्रो पेशा पृथक छ,’ युगले भने, ‘पेशाको क्षेत्र मिल्दैन । तर,  कुराकानी भइराख्ने भएकाले जानकारी चाहिँ हुन्छ । मैले लेख्ने  कुराहरू सेयर गर्ने गरिरहेको हुन्छु । पछिल्लो समय इतिहास, संस्कृतिमाथि आलोचनात्मक ढंगले लेखिरहेको छु । प्रत्येक क्षण उनलाई सुनाइरहेको हुन्छु । मैले कति लेखेँ, के लेखेँ, उनलाई सबै थाहा हुन्छ ।’
लेखनको ‘थिम’मै सहयोग नगरे पनि आफूले जानेको केही सूचनामा भने सहयोग गर्ने गरेको कल्पना बताउँछिन् । ‘कुनै–कुनै ठेट शब्द आएन भने उहाँले त्यसमा मेरो सहयोग लिनुहुन्छ,’ कल्पनाले भनिन् ।’ युग धेरै कुरा कल्पनासँग सोध्ने गरेको बताउँछन् । ‘ठेट शब्दको मामिलामा कमजोर छु,’ उनले भने, ‘त्यसबारे उनलाई सोधिरहेको हुन्छु । स्थानीय रुखबिरुवाको नाम, पहाडको खास प्रकारको जीवनका बारेमा उनीसँग सोध्नुपर्ने हुन्छ ।’
त्यस्तै, आफ्नो लेखमा कहिलेकाहीँ अदालत वा कानुनको प्रसंग आउँदा पनि कल्पनाको सहयोग लिने गरेको युग बताउँछन् । भन्छन्, ‘अदालतमा काम गर्ने भएकाले उनी अदालतका धेरै कुरा जान्दछिन् । अदालतको प्रक्रिया, प्रणालीबारे मैले टिप्पणी लेख्दा धेरै जसो उनले सिकाएकी हुन्छिन् ।’
लेखनमा जस्तै घरपरिवार चलाउने कुरामा पनि श्रीमतीको बलियो साथ पाएको युग बताउँछन् । ‘घरपरिवार चलाउने कुरामा म खासै ढंग भएको मानिस होइन,’ उनी भन्छन्, ‘सबैजसो घर व्यवहार उनले नै सम्हाल्छिन् । घरको अर्थतन्त्र पनि उनले नै सम्हाल्छिन् । घर चलाउने दिमाग उनीसँग छ । एक किसिमले म पारिवारिक कुरामा उनीप्रति पूर्ण निर्भर छु ।’ तर, केही सामान लिन जाँदा सँगै गइदिने, तरकारी, चामल किनेर ल्याउने जस्ता सहयोग भने आफूले गर्ने युग बताउँछन् ।
कल्पनाले युगलाई आर्थिक भरथेग पनि गर्छिन् । उनले कहिल्यै पैसाका मामिलामा युगलाई दबाब दिइनन्, करकर गरिनन् । ‘उतिबेलै मैले एमए गरिसकेको थिएँ,’ युगले भने, ‘अरू साथीभाइ कलेज पढाउँथे, ट्युसन पढाउँथे, पैसा कमाउँथे । म भने यस्ता कुरामा उदासीन रहेँ । तर, कल्पनाले पैसा कमाइनस् भनेर अहिलेसम्म गुनासो गरेकी छैनन् ।’
कल्पनाको साथ र सहयोगविना युग सिर्जनशील कर्ममा लाग्न सम्भव थिएन । ‘मैले ‘उर्गेनको घोडा’ लेख्दा पनि केही समय काम नगरी बसेँ,’ उनले भने, ‘त्यतिबेला म बस्ने घरमा अध्ययन गर्ने राम्रो कोठा पनि थिएन । त्यसका लागि कहिलेकाहीँ बाहिर पनि जानुपथ्र्यो । कल्पनाले पैसा हालिदिएर मलाई बाहिर पठाउँथिन् । पछिल्लो समय पनि काम नगरी खालि लेख्छु मात्रै भनेर बसिरहेको छु । यो बेलामा एक रुपैयाँ पनि नहुने अवस्था हुन्छ । पकेटमनी पनि उनले नै दिने हो ।’
युगलाई कल्पनाको काममा कुनै सम्झौता नगर्ने, काममा सधैँ तत्पर हुने बानी मन पर्छ । किताब पढ्ने बानी कम भएकाले कल्पनाले पढिदिए हुन्थ्यो जस्तो लाग्छ । कल्पनालाई भने जे खाना पकाउँदा पनि चुपचाप स्वाद लिएर खाइदिने युगको बानी असाध्यै मन पर्छ । युगले चुरोट छोडिदिए आफू असाध्यै खुशी हुने उनी बताउँछिन् ।
युगको प्रस्ट धारणा छ– पुरुषले महिलालाई सम्मान गरे दुई जनाबीचको सम्बन्ध आफैँ राम्रो हुन्छ । ‘पुरुषहरूले महिलालाई, आफ्नी श्रीमतीलाई व्यक्तिगत सम्पत्ति नसम्झेर एउटा स्वतन्त्र नारीको रूपमा हेर्ने र उनीहरूको स्वतन्त्रतालाई सम्मान गरेर व्यवहारमा लागू गर्ने होे भने सम्बन्ध त्यत्तिकै स्वस्थ हुन्छ,’ उनी भन्छन्, ‘सम्बन्ध स्वस्थ भएपछि बाँकी कुरा बाँडीचुँडी गर्दा हुन्छ ।’
कल्पना भने अविश्वास सम्बन्धलाई बिगार्ने मुख्य तत्व हो भन्छिन् । ‘एकले अर्काको काममा सहयोग गर्नुपर्यो,’ उनी भन्छिन्, ‘दिनभर आफूले गरेका कुरा सेयर गर्नुपयो । दुई बीचमा विश्वास हुनुपर्यो ।’  

(नागरिक परिवारबाट)

प्रकाशित: २८ वैशाख २०७४ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App