coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

घरभरि च्याम्पियन

–रामकुमार
‘तिमीहरूलाई ब्याडमिन्टनबाटै चिनिने बनाउँछु । नेपालकै च्याम्पियन बनाउँछु ।’
केही वर्षअघि भोजपुरका दानबहादुर तामाङले छोराछोरीका लागि देखेको सपना हो यो । अहिले उनका तीनै छोराछोरी रंगशालामा दिनहुँ र्याकेट र सटलककसँग रमाउँदै बुबाको सपना साकार पारिरहेका छन् ।
तामाङकी ३१ वर्षीया जेठी छोरी सरादेवी, २८ वर्षीया कान्छी छोरी नङसलदेवी र २४ वर्षीय छोरा रत्नजीत नेपाली ब्याडमिन्टनका आशलाग्दा खेलाडी हुन् । तीनै भाइबहिनी नेपाली ब्याडमिन्टनका राष्ट्रिय खेलाडी हुन् ।
दानबहादुर आफैँ पनि भेट्रान खेलाडी हुन् । उनी काठमाडौँबाटै ‘भेट्रान्स म्यान्स डबल’मा दोस्रो भएका छन् । ‘सुरुमा बुबाले खेल्नुहुन्थ्यो । उहाँकै प्रेरणाले हामीले पनि ब्याडमिन्टन खेल्न थाल्यौँ,’ सरादेवी भन्छिन् ।

मेडलको ओइरो
ब्याडमिन्टनबाट तामाङ परिवारका सबैले विभिन्न पदक जितेका छन् । तीनै जनाले विभिन्न म्याचमा छुट्टाछुट्टै पदक जितेर घरमा मेडलको ओइरो लगाएका छन् । चार पटक दक्षिण एसियाली खेलकुद (साग) मा भाग लिएकी सरादेवीले चारै पटक ब्याडमिन्टनबाट रजत पदक जितेकी छिन् । उनले लगातार नवौँ, दशौँ, एघारौँ र बाह्रौँ साग खेलकुद प्रतियोगितामा भाग लिएकी थिइन् । त्यस्तै, उनी नेपाल इन्टरनेसनल सिरिजको डबलतर्फ तेस्रो भइन् भने सन् २०१६ र १७ को एसियन गेममा समेत उनले भाग लिएकी छिन् ।
एघारौँ र बाह्रौँ साग खेलकुदमा भाग लिएकी नङसलले एघारौँ सागमा रजत र बाह्रौँमा सिंगल टिम इभेन्टबाट रजत पदक जितेकी थिइन् । रत्नजीतले एघारौँ र बाह्रौँ गरी दुई पटक साग खेलमा भाग लिएका छन् । उनले एघारौँमा रजत पदक जितेका थिए । त्यस्तै, पाकिस्तान इन्टरनेसनल सिरिजमा रत्नजीत र नङसल दिदीभाइले ‘मिक्स डबल’मा स्वर्ण पदक जितेका थिए । सन् २०१६ र १७ को एसियन गेममा समेत रत्नजीतले भाग लिएका थिए । छोराछोरीले घरमा मेडलको ओइरो लगाउँदा दानबहादुर दंग छन् । ‘खुशीले बुबाका खुट्टा भुइँमै छैनन्,’ रत्नजीत भन्छन्, ‘‘छोराछोरीले सपना साकार गरिदिए’ भन्नुहुन्छ ।’  

तीनै जना जागिरे
ब्याडमिन्टनमा राम्रै खेलिरहेका तीनै जना जागिरे पनि हुन् । सरादेवी र रत्नजीत नेपाली सेनामा कार्यरत छन् । सरादेवी सेनामा क्याप्टेन छिन् । सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध उनीहरू सेनाभित्र खेल्ने वातावरण राम्रो भएको बताउँछन् । ‘सेनाभित्र खेल्ने वातावरण राम्रो छ,’ रत्नजीत भन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेकी नङसल गत साउनदेखि सिटिजन बैंकमा जागिरे छिन् ।

जतिखेर पनि ब्याडमिन्टनकै कुरा
घरमा ब्याडमिन्टनकै कुरा बढी हुने उनीहरू बताउँछन् । ‘घरमा खेलकै कुरा बढी हुन्छन्,’ सरादेवी भन्छिन्, ‘आफूले खेलेको गेमको विश्लेषण गर्छौं ।’ घरमा जतिखेर पनि ब्याडमिन्टनकै मात्र कुरा चल्दा आमा पहिले रिसाउने गरेको नङसल बताउँछिन् । ‘जतिखेर पनि ब्याडमिन्टनकै कुरा भनेर पहिले आमा रिसाउनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘अहिले चाहिँ बुझ्नुहुन्छ । सपोर्ट पनि गर्नुहुन्छ ।’
परिवार नै ब्याडमिन्टन खेल्ने हुँदा घरको वातावरण नै ‘ब्याडमिन्टनमय’ भएको रत्नजीत बताउँछन् । ‘सबै भाइबहिनी एउटै खेलमा भएकाले घरको वातावरण नै खेलमय हुन्छ, ब्याडमिन्टनमय हुन्छ,’ उनी भन्छन्, ‘एकले अर्कालाई गाइड गर्न पनि सजिलो हुन्छ । सपोर्ट पनि गरिन्छ ।’  
तीनै जना ब्याडमिन्टनलाई निरन्तरता दिने बताउँछन् । घुँडामा चोट लागेकाले सरादेवी एक वर्षदेखि आराम गरिरहेकी छिन् । तर, उनी अझै पनि खेल्ने बताउँछिन् । ‘घुँडा निको भएपछि म अझै पनि एउटा साग गेम खेल्ने योजनामा छु,’ उनी भन्छिन्, ‘भाइ र बहिनीले त पछिसम्म नै खेल्छन् ।’

(नागरिक परिवारबाट)

 

प्रकाशित: २८ वैशाख २०७४ ०८:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App