७ वैशाख २०८१ शुक्रबार
अर्थ

निर्वाचनलाई सेयर बजारको 'ग्रिन सिग्नल'

काठमाडौं- सेयर बजारले स्थानीय निकाय निर्वाचनलाई 'ग्रिन सिग्नल' दिएर स्वागत गरेको छ।  पहिलो चरणको स्थानीय निकाय निर्वाचनअघिको अन्तिम कारोबारले हरियो संकेत दिएको हो।

निर्वाचनअघिको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार मापक नेप्से करिब आठ बिन्दुले बढेर बन्द भएको छ। आइतबार हुने पहिलो चरणको स्थानीय निर्वाचनको माहोल सकारात्मक बन्दै गएकाले सेयर बजार उकालो लागेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बिहीबार नागरिकलाई बताए।

'यो साताको पहिलो दुई कारोबारका दिन नेप्से घटे पनि पछिल्ला दुई दिनमा बढेको छ,' उनले भने, 'स्थानिय निकायको पहिलो चरणको निर्वाचन हुने निश्चित भएपछि सेयर बजार उकालो लागेको हो।'

बिहीबार बजार बन्द हुँदा नेप्से सूचक ७.७७ बिन्दुले बढेर १६५८.५८ मा पुगेको छ। नेप्से बढे पनि कारोबार रकम भने एक अर्ब पनि भएन। नेप्से र कारोबार दुबै बढ्यो भने बजार अझै माथि जान सक्ने सम्भावना हुन्छ। तर, अहिलेको बजार न धेरै माथि र न धेरै तल नै आउनेे देखिन्छ।

सरकारले आगामी जेठ ३१ गतेलाई दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति तोकेको छ। पहिलो र दोस्रो चरणमा हुने निर्वाचनले स्थानीय निकाय बलियो हुने भएकाले पनि सेयर बजार बढन पुगेको हो। 'लामो समय स्थानीय निकाय नेतृत्वविहीन थिए, चुनावपछि स्थानीय तहमा राजनीतिक स्थिरता आउने संकेत देखिएकाले पनि बजार बढ्न पुगेको हो,' पौडेलले भने।'

विगतका संसदीय चुनावताका पनि सेयर बजार बढेको थियो। स्थानीय चुनावमा पनि ठूलो मात्रामा पैसा बजारमा आउने देखिएको र यसले लगानीयोग्य पुँजी (तरलता) को अभाव हट्ने सम्भावना देखिएकाले पनि बजार बढेको विश्लेषकको भनाइ छ।

'सेयर बजारमा धेरै उत्तार चढाव आउने देखिँदैन,' पौडेलले भने, 'केही महिनायतादेखि नेप्से १६०० अंकको वारिपरि मात्र घुमेको छ।' आगामी दिनमा हुने राजनीतिक घटनाक्रमले मात्र सेयर बजार उकालो वा ओरालो लाग्ने भन्ने स्पष्ट बाटो निर्धारण हुने उनको भनाइ छ।

पहिलो चरणको निर्वाचनपछि सरकार परिवर्तन हुने हल्ला चलेकाले पनि सेयर बजार धेरै उकालो लाग्न नसकेको विश्लेषकको भनाइ छ। 'सत्ता परिवर्तन, निर्धारित समयमै बजेट आउने हो, होइन द्विविधा र दोस्रो चरणको निर्वाचन हुने वा नहुने भन्ने कुराले पनि सेयर बजारमा धेरै उत्तार चढाव नआएको हो,' पौडेलले भने, 'निर्वाचनपछि लगानीयोग्य पुँजी सहज हुने, बैंकको ब्याजदर घट्ने लगायत कारणले पनि लगानीकर्ताको मनोबल सकारात्मक भएको हो।'

पहिलो चरणको निर्वाचनअघिको अन्तिम दिन बिहीबार एक सय ४७ कम्पनीको २० लाख ६० हजार सात सय ९५ कित्ता सेयर किनबेच भएको छ। केही दिनयता घट्दो क्रममा रहेको कारोबार रकममा बिहीबार सुधार आएको छ।

बिहीबार ९१ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। पछिल्ला दिनहरुमा भएको कारोबारलाई आधार मान्दा यो निकै उत्साहप्रद हो।

एफपिओमा लगानी गर्दा सेयर नै पर्न छाडेपछि लगानीकर्ता दोस्रो बजारतिर आकर्षित हुन थालेका छन्। 'कम्पनीलाई आवश्यकभन्दा अत्यधिक रकम एफपिओमा पर्न थालेपछि सेयर पर्ने सम्भावना ज्यादै कम हुन्छ,' एक विश्लेषकले भने, 'सेयर नपरेपछि एफपिओको आकर्षण घट्न पुगेको छ भने दोस्रो बजारमा बढेको छ। यसले गर्दा सेयर बजार बढ्यो।'

लगानीयोग्य पुँजी अभाव कायमै रहेका कारण बैंकको ब्याजदर नघटे पनि बैंकले मार्जिन कल माग्ने काम बन्द गरेका छन्। सेयर बजार निरन्तर उकालो लागेपछि मार्जिन कल बैंक तथा वित्तीय संस्थाले बन्द गर्दा सेयर बजार बढ्न पुगेको विश्लेषक बताउँछन्।

लामो समयदेखि बजार घटिरहेको थियो। धेरै कम्पनीको सेयर मूल्य तल झरेको थियो। बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको थियो। दुई दिनदेखि नै सेयर बजार निरन्तर उकालो लाग्दा लगानीकर्ताको मनोबल पनि बढेको छ।

चैत–वैशाखदेखि सेयर बजारको सिजन सुरु हुने मानिन्छ। सिजनमा सेयर भाउ बढ्छ। विगत १४ वर्षको अध्ययन गर्ने हो भने १२ वर्षमा चैत–वैशाखपछि सेयर बजार बढेको देखिन्छ।

सेयरको मूल्य निकै तल आइसकेको, तरलता सहज नभए पनि मार्जिन कल आउन छाडेको, ब्याजदर चाप सामान्य बन्न थालेको, बैंक तथा वित्तीय संस्थाको त्रैमासिक वित्तीय विवरण आएकोले लाभांश कसले कति दिने भन्ने अनुमान गर्न थालिएकोले पनि बजार बढ्न मद्दत पुगेको हो।

बिहीबार सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा धेरै बिमा समूहको परिसूचक ४५.४६ अंकले उकाले लागेको छ। जलविद्युत समूहको परिसूचक पनि १९.२ अंकले बढ्यो।

वाणिज्य बैंक समूहको परिसूचक पनि ३.९ अंकले उकालो लागेको छ। कारोबार रकममा सन्राइज बैंकले अग्रता लिएको छ। उक्त बैंकको ७ करोड ४९ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ। सन्राइजको ३० प्रतिशत हकप्रदका लागि सेयर सुरक्षित गर्ने अन्तिम दिन भएकाले लगानीकर्ता यतातिर तानिएका हुन्।

प्रकाशित: २९ वैशाख २०७४ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App