७ वैशाख २०८१ शुक्रबार
अर्थ

भौतिक प्रगति बढाउँदै राष्ट्रिय गौरवका आयोजना

काठमाडौं- सरकारले निकै महत्व दिँदै आवश्यक बजेट विनियोजन गरेका राष्ट्रिय गौरवका आयोजनाले दोस्रो चौमासिकपछि बल्ल कामलाई तीव्रता दिन थालेका छन्।

तोकिएको अवधिमा काम सम्पन्न गर्नुपर्ने दबाबमा रहेका राष्ट्रिय गौरवका आयोजनामध्ये तीन वटाले दोस्रो चौमासिक (फागुन) अवधिसम्म शतप्रतिशत भौतिक प्रगति गरेको राष्ट्रिय योजना आयोगले जनाएको छ।

बूढीगण्डकी, सिक्टा र रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले शतप्रतिशत भौतिक प्रगति गरे।

पहिलो चौमासिक (साउन–कात्तिक) सम्म एउटै आयोजनाले शतप्रतिशत भौतिक र वित्तीय लक्ष्य भेटाएका थिएनन्। गत फागुनसम्म लक्ष्य अनुसार शतप्रतिशत भौतिक प्रगति गर्ने गौरवका आयोजनामा सिक्टा सिँचाइ, बूढीगण्डकी जलविद्युत् र रानीजमरा–कुलरिया सिँचाइ आयोजना रहेको आयोगले जनाएको हो।

हाल सरकारले देशभरिका २१ ठूला आयोजनालाई राष्ट्रिय गौरव भन्दै आएको छ। जनताले निकै रुचाएका कारणले त्यस्ता आयोजनालाई छिटो सम्पन्न गर्न सरकारले प्रत्येक वर्षमा पर्याप्त बजेट विनियोजन गर्ने घोषणा गर्छ। तर, अधिकांश आयोजनाले आर्थिक वर्षको समाप्तीमा विनियोजित बजेट खर्च गर्न नसक्दा सर्वसाधारणको विकास पाउने अपेक्षा पूरा हुन सकेको छैन भने अर्कोतर्फ विकास बजेट खर्च नहुने समस्या कायम रहँदै आएको छ।

शतप्रतिशत भौतिक प्रगति गरेको बूढी गण्डकी जलविद्युत् आयोजनाले यसबीचमा प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्नुको साथै क्याम्प साइड (स्याङ्जा) को एक सय ३३ रोपनी जमिनको मुआब्जा वितरण गरी ५८ हजार एक सय ५३ रोपनी निजी जग्गा अधिग्रहण गरेको छ।

शतप्रतिशत भौतिक प्रगति गरेको अर्को गौरवको आयोजना सिक्टाबाट बाँकेको करिब ४३ हजार हेक्टर खेतीमा सिँचाइ सुविधा पुग्दैछ। चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सिक्टा सिँचाइको हेडवर्क्स निर्माण सम्पन्न भई मूल नहर अन्तर्गतको अन्तर्राष्ट्रिय ठेक्काको काम भइरहेको योजना आयोगले जनाएको छ। उता कैलालीमा निर्माण भइरहेको रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले दोस्रो चौमासिकसम्म चीसापानीमा इन्टेक तथा लिंक क्यानल निर्माण सम्पन्न गरी चीसापानीदेखि बलचौरसम्म मूल नहर तथा सेटलिंग बेसिन निर्माण र कटासेदखि मोहनासम्म फिडर नहर निर्माण र कर्णाली, पथरैया र मोहनामा तटबन्ध निर्माण भइरहेको छ।

दुई सिँचाइ आयोजना सिक्टा, रानीजमरा–कुलरिया  तथा एउटा जलविद्युत् आयोजना  बूढी गण्डकी जलविद्युत् बाहेक अन्य गौरवका आयोजनाको भौतिक र वित्तीय प्रगति भने त्यति सन्तोषजनक हुन सकेको छैन। सोही अवधिमा अन्य १० वटा गौरवका आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भन्दा बढी छ भने आठ आयोजनाको प्रगति ५० प्रतिशत भन्दा कम अर्थात् सन्तोषजनक छैन। ५० प्रतिशत भन्दा बढी भौतिक प्रगति गर्ने आयोजनामा कोशी करिडोर (८५ प्रतिशत), भेरी बबई डाइभर्सन (८०), बबई सिँचाइ (७५), माथिल्लो तामाकोशी (७७.५),  पशुपति क्षेत्र विकास कोष (७५), मेलम्ची खानेपानी (७४.५), गण्डकी करिडोर (६०), कर्णाली करिडर (६०) तथा मध्यपहाडी लोकमार्ग (५४ प्रतिशत) छन्।

चाँडै निर्माण सम्पन्न गर्ने भनिएको हुलाकी मार्ग, गौतमबुद्ध क्षेत्रीय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल तथा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य भने सन्तोषजक हुन सकेन। सोही अवधिमा सबभन्दा कम निर्माण कार्य काठमाडौं–तराईं मधेस दु्रतमार्गमा भयो। करिब १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उक्त आयोजनामा दोस्रो चौमासिकसम्म ६ प्रतिशत वित्तीय प्रगति हुँदा भौतिक प्रगति पनि त्यति नै भयो।

राजधानीलाई तराईंसँग जोड्ने उक्त मार्ग निर्माणबारे टुंगो नलाग्दा निर्माण कार्यमा ढिलाइ हुँदै आएको योजना आयोगका पदाधिकारी बताउँछन्। केही दिन अघि मात्र उक्त दु्रत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिने सरकारले निर्णय गरेपछि अब भने काममा तीव्रता आउने अपेक्षा गरिएको छ। योजना आयोगका अनुसार वैशाख १६ गतेसम्म वार्षिक बजेटको तुलनामा चालु खर्च ५५.५ प्रतिशत र पूँजीगत खर्च २८.९ प्रतिशत छ। सरकारले राष्ट्रिय गौरवका २१ वटाबाहेक चालु आर्थिक वर्षमा देशभरिका अन्य चार सय ८४ आयोजनालाई प्राथमिकताप्राप्त सूचीमा (पि१) राखेको छ।

प्रकाशित: २९ वैशाख २०७४ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App