६ वैशाख २०८१ बिहीबार
अन्य

प्रेस्क्रिप्सन साहित्य

डा. सुमनराज ताम्राकार


विश्वमै अन्य पेसाकर्मीले जस्तै चिकित्सकले पनि साहित्यमा कलम चलाएका छन् । कतिपय साहित्यकार निकै प्रसिद्ध पनि छन् । अर्थात् तिनीहरूलाई चिकित्सक कम साहित्यकार बढी भन्दामा फरक पर्दैन । एन्टोन चेखोभ, रोबिन कुक, जोन किट्स, आर्थर कोनान डोएल, एजे क्रोनिन, समरसेट मम, मिखाइल बुल्गाकोभ, विलियम कार्लोस विलियम्स, माइकल क्रिक्टन, फ्रान्ज स्लटर, दीपक चोपडा यस्तै केही उदाहरण हुन् । कतिपयले स्टेथोस्कोप भिर्न छाडे र साहित्यमै रमाए । 

आखिर किन लेख्छन् त चिकित्सक ? 
गौतम बुद्धले गृहत्याग गर्दाताकाजस्तै सधैँभरि रोगी, मृत्यु, पीडाको वरिपरि रहने चिकित्सकले देखेको, भोगेको अनुभूति, मानवीय संवेदनालाई पोख्न साहित्यको सहायता लिने गर्छ । चिकित्सकले लेखनलाई सोखका रूपमा लिए पनि कतिपयका रचना गम्भीर, सत्यनजिक र प्रस्तुतीकरण पनि राम्रो पाइएको छ । 

धनी हुन र लेखक बनेर नाम कमाउन नचाहने मान्छे संसारमा को होला र ! अनि चाहँदैमा सबै सफल बन्छन् भन्ने पनि कहाँ छ र ? टोनी मिक्सानेकका अनुसार अति व्यस्त, गम्भीर जिम्मेवारी तथा तनावपूर्ण दैनिकी बिताउने चिकित्सक साहित्य क्षेत्रमा लाग्नुका सात कारण छन् । उपचारका रूपमा, खोजपड्ताल गर्न, स्यामुएल सेमको ‘द हाउस अफ गड’मा जस्तै आफ्नो अनुभूति अन्यलाई बाँड्न, मनोरञ्जन लिन, सम्मान गर्न, रिचर्ड सेल्जरको ‘ब्रुट’मा जस्तै पश्चात्ताप गर्न, आफैसँग झुटो नबोल्न तिनले लेख्छन् । आफ्नो कुरा भन्न, रैथाने भाषालाई माया गर्न, आफूले गरेको सफल उपचारबाट प्राप्त भएको सन्तुष्टिमा चिकित्सकले लेख्न थाल्छन् । समयको माग र बिरामीप्रतिको कर्तव्यका कारण मेडिकल करिअरको जस्तोसुकै व्यस्ततामा पनि समय निकाल्छन् ।

अर्को कुरा, चिकित्सक निकै राम्रो श्रोता र वक्ता पनि हुन् । तिनीहरूसँग बिरामीको गुनासो, इच्छा राम्ररी सुन्ने बानी हुन्छ । भलै उपचारको सिलसिलामा बिरामी तथा परिवारजनलाई यथेष्ट समय दिन नसके पनि रोगको उपचार अर्थात् व्यवस्थापनको क्रममा सल्लाह दिने शैली परिष्कृतखालको हुन्छ । यस सिलसिलामा हुने पारिवारिक पृष्ठभूमिका साथै आर्थिक एवं सामाजिक अवस्थाबाट प्रभावित भई लेखनतिर लाग्न प्रेरित हुन्छन् चिकित्सक । 

नेपाली साहित्यमा चिकित्सक लेखक

विश्वसाहित्य क्षेत्रमा चिकित्सकको सहभागिताको ट्रेन्डलाई नेपाली चिकित्सकले पनि निकै समय अघिदेखि पछ्याएको देखिन्छ । चिकित्सा पेसा अपनाई लेखनमा लाग्ने अग्रज चिकित्सक धेरै छन् । नयाँ पिँढीको आगमन तीव्रतापूर्वक भइरहेको छ । नेपाली चिकित्सकले विशुद्ध पेसागत पुस्तक लेख्नेदेखि साहित्यका विभिन्न विधामा पनि कलम चलाउने गरेका छन् । धनकुटा निवासी कविराज नरपति शर्मा पोखरेलले करिब आठ दशकअघि नै क्षयरोग शीर्षकमा पुस्तक निकालेका थिए । सम्भवतः स्वास्थ्यकर्मीले प्रकाशित गरेको यही नै पहिलो पुस्तक हो । प्रख्यात कवि नरपतिले नेपाली साहित्यका अन्य १० पुस्तक पनि प्रकाशन गरेका थिए ।

शल्य चिकित्सक डा. राममान ‘तृषित’ले नेपालमा स्वास्थ्यसेवाको विकास एक विवेचना, गीत, कविता, गजल, मुक्तक, लघुकविता, निबन्ध संग्रह प्रकाशन गरेका छन् । डा. सरोज धितालले कविताका साथै लेखसंग्रह ल्याएका छन् । डा. बालकृष्ण थापाले कविता लेखेका छन् । डा. भीष्मराज प्रसाईंले गीताबोध, खण्डकाव्य, व्यंग्य छन् । डा. कृष्णजंग राणाले हिन्दीमा कवितासंग्रह निकालेका छन् । डा. ओमवीर सिंह बस्न्यातले खण्डकाव्य, महाकाव्य लेख्न भ्याएका छन् । वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमांग दीक्षितले कवितासंग्रह, व्यंग्यकविता, बालपुस्तकसमेत लेखेका छन् । उनैले मणि दीक्षितका नाममा उपन्यास पनि लेखेको पाइन्छ । डा. मथुरा केसीले कवितासंग्रह तथा मोफसलमा कार्यरत व्यंग्य कविता लेखेका छन् ।

नेपालका पहिलो पुरुष स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले गीतसंग्रह, भजन, बालसाहित्यका साथै चलचित्रमा पनि हात हालेका छन् । डा. मीना सिंहले बासँगका रमाइला क्षणहरू(गणेशमान सिंहको स्मृति), डा. सुमनराज ताम्राकारले बालकथा, लघुकथा तथा संस्कृतिबारे पुस्तक लेखेका छन् । डा. भवानीभक्त सिंह प्रधानले उपन्यास प्रकाशित गरेका छन् । डा. सिर्जना श्रेष्ठले कवितासंग्रह साहित्य भण्डारमा थपेकी छन् । मुटुरोग विशेषज्ञ डा. अरुण सायमिका उपन्यास, कविता, लेखहरूको संकलन निकालेका छन् । ाक्टरको रोडम्याप प्रकाशनमा छन् । डा. प्रकाशराज रेग्मी तथा डा. हरिहर खनालले पनि साहित्य लेखेका छन् । पछिल्लो समय डा. रामेश कोइरालाको उपन्यासले निकै चर्चा पनि पायो । डा. दीर्घसिंह बमको गीतसंग्रह, डा. सुमन कर्माचार्यको कवितासंग्रह, मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य शाक्यको नेपालभाषामा गीत, लघुकथासंग्रह प्रकाशित छन् ।  साथै, डा. एन्जल मगरको मेडिकल चुट्किलासंग्रह र डा. निरज भट्टराईको गजलसंग्रह पनि प्रकाशित छ । डा. रामप्रसाद पोखरेल, डा. महेश मास्केले कविता तथा डा. सुबोध पोखरेलले पनि साहित्य लेखेको पाइन्छ ।  

आयुर्वेदिक डा. मोदनाथ प्रश्रितले निकै धेरै पुस्तक लेखेका छन् । उनी नेपाली साहित्यका चर्चित लेखक हुन् ।  अर्का आयुर्वेद चिकित्सक विकाशानन्द योगीले विभिन्न पुस्तक लेखेका छन् ।  डा. रविन्द्र समीर नेपाली साहित्यमा लघुकथा लेखनमा जमेको नाम हो । उनका थुप्रै लघुकथा संकलन निस्केका छन् । ट्ट प्रकाशन गरेका छन् । डा. राजु अधिकारीले खाने कसरी पिउने कसरी नामक पुस्तक लेखेका छन् ।

नेपालमा कार्यरत चिकित्सकले मात्र होइन, विदेशमा बसोबास गरिरहेका थुप्रै चिकित्सकले नेपाली भाषासाहित्यलाई बल पुग्ने काम गर्दै आएका छन् । अढाइ दशकदेखि स्कटल्यान्डको एबरडिन विश्वविद्यालयमा प्राध्यापनरत् फिजिसियन डा. प्रशन्नचन्द्र गौतमले ऋग्वेद र ऋग्वेदसंहिताको प्रामाणिक अनुवाद (सं. र सह अनु.) अंग्रेजीमा निकालेका छन् । एनआरएनका पूर्वअध्यक्ष रेडियोलोजिस्ट डा. देवमान हीराचनले आत्मकथा लेखेका छन् । यसैगरी, अस्ट्रेलियामा रहेका डा. रवि थपलियाले उपन्यास निकालेका छन् । 

विदेशी चिकित्सकको नेपाल चासो

राणाकालमै रेसिडेन्ट सर्जनका रूपमा आएका बेलायती नागरिक डा. हेनरी एम्ब्रोस ओल्डफिल्ड नेपालको आधुनिक चिकित्सा प्रणालीबारे स्केचेज फ्रम निपाल (भाग १) मा आफैँले कोरेका केही पेन्सिल स्केचसहित काठमाडौं, कीर्तिपुर, नुवाकोटको स्वास्थ्य अवस्था, अस्पताल तथा औषधिबारे उल्लेख गरेका छन् । यसअघि सिजे मिलेरले धामी झाँक्रीबारे लेखेका थिए भने अस्ट्रियन क्यापुचिन फादर ग्रुबर, केसी चौधरी, लान्दन, कोलोनेल किर्कप्याट्रिक, ब्रायन हड्सन, फादर जर्जियन इस्टोनियन, सर रिचर्ड टेम्पलले नेपाली चिकित्साबारे राणाकालमै लेखिसकेका छन् । यस्तै, नेपाली चिकित्सकको टोलीले डेबिड बर्नरले लेखेको ‘ह्वेर देअर इज नो डाक्टर’को र अपांगता भएका महिलाका लागि स्वास्थ्य निर्देशिका नेपाली अनुवाद गरी प्रकाशनमा ल्याएका छन् । 

चिकित्सक लेखकको भविष्य

पछिल्लो तथ्यांकअनुसार नेपालमा चिकित्सकको संख्या करिब ११ हजारको हाराहारीमा छ । यस हिसाबले नगण्य चिकित्सकले मात्र कृति तथा पुस्तक निकालेका छन् । तर, मानवीय संवेदना अनि मृत्युलाई नजिकबाट नियालिरहेका चिकित्सक सगोलीय जमघटमा आफ्ना सफलता, आपूmले सिकेका पाठ, गरेका नायकीय काम, बठ्याइँहरू अनि उपचारको क्रममा नसोचिएका परिणाम निर्धक्क सेयर गरिरहेका हुन्छन् । धेरै चिकित्सकले आफ्नो अनुभव, सिकाइ, अनुभूति साहित्यका विभिन्न विधामार्फत बाँड्न चाहेको देखिन्छ । तर, कतिपय लेखन चाहेर पनि सकेका छैनन्, उनीहरूसँग समयअभाव छ । मान्छेसँग सीधा सम्पर्क हुने हुनाले चिकित्सकसँग कथा, उपन्यास, व्यंग्यका लागि निकै राम्रा विषय, प्लट, खुराक थाक लागेर बसेका हुन्छन् । 

चिकित्सकले कसैको सहायता लिएर भए पनि आफ्ना अनुभव बाँड्न, आत्मकथा, जीवनी छपाउन विलम्ब गर्नु हुन्न । ढिलै भए पनि डा. रामवरण यादवको जीवनी ‘टाकुरामा एक्लो मान्छे’ केही वर्षअघि छापियो । पेसा त्यागेर पूर्णकालीन राजनीतिमा लागेका उनी पनि सफल चिकित्सक नै हुन् । आफ्ना संघर्षपूर्ण विगत समेटेर डा. मृगेन्द्रराज पाण्डेले ‘स्ट्रगल फर सोसियल सर्भिस इन नेपाल’, डा. हेमांग दीक्षितले माई सेकेन्ड इनिङ, डा. रामप्रसाद पोखरेलले ‘रिचिङ द अनरिच्ड’ पुस्तक निकालेका छन् भने नेपालको मिसनरी स्वास्थ्य क्षेत्रमा लामो समय बिताएकी डा. हेलेन इसाबेल हुस्टनबारे ‘अ हार्ट फर नेपाल द डा. हेलेन ह्युस्टन स्टोरी’ छापिएको छ ।

त्यसो त चिकित्सकले आफ्नो पदोन्नति तथा कार्य क्षमता प्रदर्शनका लागि विषयगत लेख वैज्ञानिक जर्नलमा स्तरीय तथा अनुसन्धानमा आधारित भएर लेखिरहेका हुन्छन् । यसै क्रममा अाफूले अनुभव गरेका कतिपय दुर्लभ घटना पनि लेखिरहेका हुन्छन् । चिकित्सक बन्नलाई कोर्सका धेरै किताब पढेका हुन्छन् । अचम्म त पढाइको टेन्सनबाट मुक्त हुन फेरि पढ्छन्, तर फरक धारको । लेखककै अनुभवमा पनि एमबीबीएसको अन्तिम परीक्षापछि गीता, महाभारत, रामायण पढ्ने कति छन् कति ! 

विदेश भ्रमण गरिरहने, क्रयशक्ति राम्रो भएको वर्गमा चिकित्सक पनि पर्छन् । त्यसैले पनि तिनीहरूबाट नियात्रा, यात्रा संस्मरण तथा आत्मकथाका कृतिको अपेक्षा साहित्यजगत्ले गरेको छ । चिकित्सकले अरुलाई पुस्तक उपहार दिएर तथा कसैको साहित्यिक कृति प्रकाशन गर्न सहयोग गरेर अप्रत्यक्ष रूपमा साहित्यको सेवा गर्न सक्छन् । यिनले आधारभूत विधि विज्ञान (फरेन्सिक मेडिसिन) पढेका हुन्छन् र त्यस्तो परीक्षणमा संलग्न पनि हुन्छन् । त्यसैले डिटेक्टिभ कथा–संग्रह, उपन्यास लेख्नका निम्ति पर्याप्त विषयवस्तु तिनमा हुन्छ । नारायणहिटी दरबार हत्याकाण्डपछि त्यसबेला उपचारमा संलग्न चिकित्सकको मुखबाट रोचक कुरा सुन्न पाइन्थ्यो । नेपालका कतिपय चिकित्सकको पहुँच राणाकाल तथा शाहकालमा तिनीहरूको भान्छा र सुत्ने कोठासम्म थियो । यस हिसाबले चिकित्सकबाट ऐतिहासिक उपन्यासको समेत अपेक्षा गर्न सकिन्छ । आगामी दिनमा नेपालका पहिलो चिकित्सक, अस्पताल, शल्यक्रिया, प्रविधि, स्वास्थ्यसेवा आदिबारे रोचक अनुसन्धानकृत कृति आउने आशा गर्नु अन्यथा हुने छैन । 

विशेषगरी उपत्यकाका क्याम्पसले विगतमा बर्सेनि नेपालभाषामा स्मारिका तथा पत्रिका निकाल्ने गरेका थिए । महाराजगन्ज मेडिसिन क्याम्पसबाट पनि सुसा नामको पत्रिका निस्किन्थ्यो । नेपालभरिका प्रायः मेडिकल कलेजका विद्यार्थीको समूहले नियमित रूपमा स्मारिका, बुलेटिन प्रकाशन गर्दै आएका छन् । नेपालका मेडिकल कलेजका प्रकाशनमा मेडिकामेन्टोसा (महाराजगन्ज मेडिसिन क्याम्पस), कुमस्कोप (काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुल), परिक्रमा (बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान), हार्बिन्गर, सञ्जीवनी (काठमाडौँ मेडिकल कलेज), रिफ्लेक्सन (मणिपाल मेडिकल कलेज), इको (भरतपुर मेडिकल कलेज), स्पन्दन (नेपालगन्ज मेडिकल कलेज), मेडिकल दर्पण, मुस्कान (डेन्टल कलेज) आदि पर्छन् । अस्पतालको वार्षिकोत्सवमा निकालिने स्मारिकामा पनि विभिन्न रचना छापिएको हुन्छ । यी प्रकाशनमा थुप्रै चिकित्सक तथा प्रशिक्षार्थी चिकित्सकले कविता, गीत–गजल, कथा, व्यंग्य, नियात्रा आदि छपाउने गरेबाट भविष्यमा नेपाली साहित्य क्षेत्रमा चिकित्सक स्रष्टाको बलियो आगमन हुने आशा गर्न सकिन्छ । नेपाल मेडिकल कलेजमा त साहित्य परिवार स्थापना गरी बर्सेनि आँकुरा पत्रिका प्रकाशन गर्नुका साथै विभिन्न साहित्यिक कार्यक्रम गर्दै आएका छन्।

आगामी दिनमा नेपालका चिकित्सकले राम्रो कृति लेखी चर्चाका साथै सम्मान र महत्त्वपूर्ण पुरस्कार जित्ने आशा गर्न सकिन्छ । डा. मोदनाथ प्रश्रितले मदन पुरस्कार (२०२३), डा. राममान तृषितले छिन्नलता पुरस्कार (२०४७), व्यथित काव्य पुरस्कार (२०६०) एवं डा. अरुण सायमिले भूपालमानसिंह कार्की पुरस्कार पाइसकेका छन् ।  

राजनीति तथा स्वास्थ्य विषयमा फुटकर रचना लेख्ने चिकित्सक पनि थुप्रै छन् । डा. केदार कर्माचार्य, डा. निराकारमान श्रेष्ठ, डा. सुन्दरमणि दीक्षित, डा. पुष्पप्रसाद शर्मा, डा. कमल कोइराला, डा. राजेन्द्र भद्रा, डा. ढुण्डीराज पौडेल, डा. ऋषिकेशनारायण श्रेष्ठ, डा. सुधांशु जोशी, डा. सुपर केसी, डा. सुशील कोइराला, डा. रोहित सैंजु, डा. रबा थापा, डा. अल्का सिंह, डा. अर्पणा न्यौपाने, डा. अजय रिसाल, डा. राजेश प्रधानांगलगायतले विभिन्न पत्रपत्रिकामा आफ्ना रचना प्रकाशित गरेको पाइन्छ । यति भइकन पनि चिकित्सा क्षेत्रमा लागेका महिला लेखक भने निकै कममात्रै छन् । 

अहिले ८० वर्ष पुगेका न्युल्यान्डले ६१ वर्षको उमेरमा शल्यचिकित्साको काम छाडेका थिए । त्यसपछि अहिलेसम्म पनि उनले अध्ययन र लेखनलाई निरन्तरता दिँदै आएका छन् । फुर्सदको समयमा उनी आफ्ना नातिनातिनालाई भेट्न जान्छन् । उनले लेखेका हरेक अनुच्छेदलाई ठूलो स्वरमा पढ्छन् जसले गर्दा उनले हरेक शब्दलाई आत्मसात गर्ने प्रयास गर्छन् । 

प्रकाशित: ३० वैशाख २०७४ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App