coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सघाउँदै सहयात्रा

जिपी तिमल्सिना कुनै समय नेपाल टेलिभिजनमा ‘म्युजिक प्लस’ नामक कार्यक्रम बनाउँथे । कार्यक्रममा म्युजिक भिडियो र गायक–गायिकासँगको कुराकानी प्रस्तुत गरिन्थ्यो । जिपी आफैँ कार्यक्रम सञ्चालन गर्थे । उनलाई कार्यक्रम सञ्चालन गर्न आफूसँगै कोही महिला पाए हुन्थ्यो भन्ने लागेको थियो । त्यसैले उनले मिल्ने साथीहरूलाई ‘कोही स्मार्ट केटी भए भन् है’ भन्दै सूचना छाड्ने गरेका थिए । एक दिन आलोक नेम्वाङले फोन गरे र आफूले जिपीले खोजेजस्तै केटी भेटेको बताए । जिपी भोलिपल्टै आलोकले काम गर्ने इमेज च्यानलको अफिसमा गए । त्यहीँ उनले पहिलो पटक उषा खड्गीलाई भेटे । वीरगञ्जबाट भर्खरै आएकी उषा पनि कामको खोजीमा थिइन् । लगत्तैको ‘म्युजिक प्लस’को एपिसोडमा जिपीले उषालाई दर्शकसँग चिनारी गराए, ‘गर्जिएस एन्ड ब्युटिफुल दिस इज उषा खड्गी...।’

यसरी भेटेको दुई वर्षपछि उनीहरूले बिहे गरे । आउँदो वैशाख २६ मा उनीहरू विवाहको १५ औँ वर्षगाँठ मनाउँदैछन् । उनीहरूका उगेस्ना र उगेषण दुई सन्तान छन् ।
विवाहपछि जिपी विज्ञापन व्यवसायमा सक्रिय छन् भने उषाले कुपन्डोल, ललितपुरमा बुटिक सञ्चालन गरिरहेकी छिन् । फरक–फरक व्यवसाय गरे पनि उनीहरूले एकअर्कासँग हातेमालो गर्दै आइरहेका छन् । जिपीले व्यवस्थापन गर्ने कार्यक्रम होस् वा विज्ञापन, त्यहाँ उषालाई देख्न सकिन्छ भने उषाको बुटिक व्यवसायमा जिपीले पनि आफ्नो ‘इनपुट’ दिइरहेका हुन्छन् । ‘एकअर्काको पेशामा हस्तक्षेप नगर्नु नै हाम्रो सहयात्राको विशेषता हो जस्तो लाग्छ,’ आफूहरूको सम्बन्ध बलियो बन्नुको कारण खुलाउँदै जिपीले भने, ‘उनलाई परेको बेलामा म सहयोग गर्छु, मलाई परेको बेलामा उनी सहयोग गर्छिन् । यसले एकअर्काप्रतिको विश्वास बढाउँदो रहेछ ।’

उषा पनि जिपीको विचारसँग सहमत छिन् । श्रीमान्को सहयोगका कारण नै व्यावसायिक जीवन अगाडि बढाउन सजिलो भएको धारणा राख्छिन् । ‘बुटिकमा भन्दा मोडलिङ गर्दा उहाँको सल्लाह लिने गरेकी छु । खास गरी म्युजिक भिडियो गर्दा कुन गर्ने र कुन छाड्ने भन्ने दुविधा हुन्छ । यस्तोमा उहाँले गाइड गर्नुहुन्छ,’ उषाले भनिन् ।

जिपीले डिजाइन गर्ने धेरै कार्यक्रममा उषाको पनि उपस्थिति हुन्छ । तर, यो उपस्थिति जिपीको इच्छाका कारण नभई क्लाइन्टको इच्छाका कारण हुने गरेको उषा बताउँछिन् । ‘उहाँले कहिल्यै पनि उषालाई राखौँ भनेर फोर्स गरेको थाहा छैन । क्लाइन्टले नै डिमान्ड गरेपछि र मलाई पनि चित्त बुझेपछि मात्र विज्ञापनमा अभिनय गर्छु । यस मामिलामा उहाँ पक्का प्रोफेसनल हुनुहुन्छ,’ उषाले भनिन् ।
जिपीले पनि उषालाई काम गराउँदै प्रोफेसनल हिसाबले नै काम गर्ने अनुभव सुनाए ।

नेपालमा बच्चाबच्चीको हेरचाहको जिम्मा स्वतः आमाको जिम्मामा आउँछ । जिपी र उषाको हकमा पनि उषाले नै छोराछोरीको ख्याल गर्छिन् । किचेनको सपिङ पनि उषाले नै गर्छिन् । तर, आवश्यकताको बेलामा जिपीले पनि सघाउँछन् । ‘उहाँको व्यस्तता देखेर भनिरहन  मन पनि लाग्दैन । गाह्रै परेपछि भन्छु । नाइँनास्ती गर्नुहुन्न,’ उषाले भनिन् । व्यस्तताकै कारण आफूले किचेनमा नसघाउने जिपी बताउँछन् । ‘चिकेनसम्म पकाउन कहिलेकाहीँ जाँगर चल्छ,’ उनले भने ।

(नागरिक परिवारबाट)

 

प्रकाशित: ३० वैशाख २०७४ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App