६ वैशाख २०८१ बिहीबार
विचार

राम्रो विद्यालयक खोजी

 विद्यालय भर्ना गर्ने समयमा जहिले पनि अभिभावक राम्रो विद्यालयको तलासमा हुन्छन् । आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि राम्रो विद्यालय छनोट कसरी गर्ने, कुन विद्यालयमा पढाउने भन्ने मनोदशाले ग्रसित छन् । कतिपय विद्यालयले अनेकन आकर्षक विज्ञापनका माध्यमले अभिभावकको मन तान्न सफल भएका छन् । आफ्ना छोराछोरीलाई त्यस्ता विद्यालयमा भर्ना गरिसकेपछि बाहिर प्रचारमा भनेका कुरा व्यवहारमा नपाउँदा निराश पनि देखिने गरेका छन् । यो परिस्थितिमा विद्यालय छनोट गर्दा विद्यालयका केही मापदण्ड ख्याल गर्नुपर्छ । राम्रो विद्यालय र स्तरीय शिक्षा हासिल गराउन सकेमा बालबालिकाको कलिलो मन मष्तिस्कमा उपयुक्त सिप र ज्ञान दिलाउन सकिन्छ । हरेक अभिभावकले पूर्वप्राथमिक कक्षादेखि नै बालबालिकालाई जस्तो शिक्षा दिलाउन सक्यो त्यस्तै बन्ने हो । वाल्य शिक्षाको असर पछिसम्म परी नै रहन्छ ।

अभिभावकले आफ्ना केटाकेटीलाई विद्यालय भर्ना गर्दा त्यहाँ हुने शिक्षण पद्धतिबारे स्पष्ट हुनु जरुरी छ । हाम्रा नानीलाई सुरुदेखि नै दिने शिक्षण पद्धतिमा परम्परागत मन्टेसोरी र अर्धमन्टेसोरी पद्धति अपनाइने गरेको पाइन्छ । परम्परागत पद्धतिमा किताब पेन्सिल केन्द्रित देखिन्छ भने अर्को पद्धति मन्टेसोरी पद्धतिमा आधारित हुन्छ यसमा पूर्णरूपमा बालबालिकालाई अभ्यास गर्न लगाएर रमाइलो वातावरणमा अध्ययन गराइन्छ । तेस्रो पद्धति हो अर्ध मन्टेसोरी पूर्वप्राथमिक विद्यालयमा पर्याप्त अभ्यासका शैक्षिक सामग्री हँुदैन । परिणामतः बालबालिकालाई पर्याप्त मनोरञ्जनात्मक तरिकाले अभ्यास गर्न सक्दैनन् । यसर्थ अभिभावकले बालमैत्री शिक्षण पद्धतिका लागि पूर्ण मन्टेसोरी पद्धतिअनुसार पढाइ हुन्छ÷हुन्न बुझ्नु जरुरी छ ।

फेरि मन्टेसोरी पद्धतिका नाममा अभिभावकको ढाड भाँच्ने काम पनि भएको छ । अत्यधिक शुल्क बढाएर मध्यम र निम्न वर्गले पढाउन नसक्ने अवस्था छ । मन्टेसोरी पद्धतिमा पढाइ हुने विद्यालयमा शुल्क महँगो भएकाले गरिव वर्गका केटाकेटी प्रतिभावान भएर पनि पढ्न नसक्ने हुँदा यस्ता विद्यालयले अब्बल बालबालिकाका लागि निःशुल्क छात्रवृतिको बन्दोवस्त गरिदिनुपर्छ । शिक्षामा प्रतिभाको कदर हुन सकेन भने देशले भोलि ठूलो घाटा बेहोर्नुपर्छ ।

राजनीतिक नेताहरूले सस्तो भोट र लोकप्रियताकालाई मुलुकबाट प्रतिभा पलायन हुने काम गर्दै आएका छन् । दलको झण्डा र नारा बोकेर हिँड्ने मन्द बुद्धिका कार्यकर्तालाई उपल्लो दर्जामा राख्ने, जातीय र क्षेत्रिय नारा बढाएर प्रतिभावान केटाकेटी युवालाई हतोत्साही बनाउँदै आएका छन् । शिक्षामा प्रतिस्पर्धा चाहिन्छ । त्यसैका माध्यमबाट योग्य व्यक्तिको छनोट र चयन गरिनुपर्छ । दलित र पिछडिएका वर्गका नाममा प्रतिभा मार्न हँुदैन । बरु आर्थिकस्तर उठाउन सरकारले पिछडिएका र दलित वर्गका लागि ठूलो धनरासी अर्पन सक्नुपर्छ । भोलि यो वर्ग पनि अब्बल प्रतिभावान हुँदै प्रतिस्पर्धामा अगाडि आउन सक्छ । ज्ञान र सिप वृद्धिमा सही मापदण्डविरुद्धको कुनै सम्झौता हुनुहुँदैन ।

मुलुकको भविष्यका लागि डाक्टर, इन्जिनियर वा अन्य कुनै विषयमा अध्ययन÷अध्यापन गराउँदा प्रतिभावनको खोजी हुनु जरुरी छ । क्षेत्रीय, जातीय वा गरिबका नाममा कमजोर मन मष्तिस्कका व्यक्तिलाई डाक्टर जस्तो संवदेनशील पदमा राखिँदा कैयौ बिरामीको हाल के हुने हो ? राम्रो अध्ययन गर्न नसक्नेले मेरिड लिस्टका विद्यार्थीलाई पछाडि पारी पैसा र जातीय आधारलाई मान्यता दिने हो भने मुलुकबाटै प्रतिभा पलायन हुन सक्छ । अझ डाक्टरी जस्तो संवेदनशील क्षेत्र त झनै अन्योलग्रस्त बन्न पुग्छ । जाति, लिङ्ग, दलित वा क्षेत्रीय आधारमा प्राज्ञिक क्षेत्रमा आरक्षण कोटा राखिनुभन्दा आर्थिक उन्नति गराउनका लागि यस्ता वर्गलाई आर्थिक आरक्षण व्यवस्था मिलाउनु अत्यन्त जरुरी छ । आर्थिक मजवुत तुल्याएपछि ती वर्गको स्वतः अपलिफ्ट हुनेछ ।

राज्यको प्रतिमा प्रोत्साहनका लागि हरेक बाल बालिकाले पूर्व प्राथमिक शिक्षा मन्टेसोरी पद्धतिमा पढन पाउने सुनिचित हुनु पर्दछ । यस्ता विद्यालयहरुमा न्यून शुल्क लगाउनु पर्दछ सरकारले पनि आर्थिक अनुदान दिने व्यवस्था गरिनु मनासिव हुन्छ । अभिभावकले पनि आफ्नो आयअनुसारको विद्यालय छनोट गरी पायक पर्ने ठाउँमा आफ्ना बालबालिकालाई भर्ना गर्न सक्छन् । उनीहरूले दुःख सुख गरेर बचाएको आम्दानीबाट आफ्ना सन्तान राम्रो बनोस् भनेर नै पढ्न पठाएका हुन्छन् । त्यहीअनुसारको प्रतिफल विद्यालयले दिन सकेमा यस्ता विद्यालय अभिभावकका नजरमा अब्बल दर्जाको विद्यालय ठहर्न सक्छ ।

मानव सभ्यता सुरु भएदेखि नै शक्तिका रूपमा ज्ञान अर्थ र सैनिक शक्तिलाई प्रयोग गर्दै आएको देखिन्छ । अहिले पनि राज्य संगठनको स्रोत शक्ति नै मानिन्छ । विगत केही दशकयता शक्तिको खाडीकरण र क्षयीकरणले राजनीति झन् अस्थिरता, सामाजिक उथलपुथल तथा व्यवस्थापकीय कमजोरी देखापर्दै आएको छ । नेतृत्वपंक्ति सामाजिक हितभन्दा व्यक्तिगत हीत र सत्तामूखी बनेको छ । नयाँ पुस्ताले यस्ता गतिविधि नियालेर होला स्वदेश भन्दा विदेशमा रमाउन थालेका छन् र अन्तर्राष्ट्रिय सामाजिक राजनीतिक मूल्यप्रति आकर्षित हुँदै गएका छन् । यसले गर्दा नयाँ पुस्ताका प्राथमिकता पनि चाँडो चाँडो परिवर्तन भइरहेका छन । शिक्षाको क्षेत्रमा पनि यिनै परिघटनाको गहिरो प्रभाव पर्दै आएको छ । आजका पुस्तामा किताब पढने बानी बढ्दै आएको छ । आफ्नो आम्दानीको केही रकम राम्रा पुस्तक किन्नमा खर्चिने पनि गर्छन् । आज पढ्ने संस्कृतिको विकास बढ्दो छ । यो अत्यन्त सकारात्मक पक्ष हो । यसले मुलुकको प्राज्ञिक राजनीतिक र नीतिगत बहस बढाउनसमेत मद्दत गर्छ । हरेक जागरुक नागरिकले मात्र लोकतन्त्र, जिम्मेवार र उत्तरदायीको विषयमा जानकारी हासिल गर्न सक्छ । नागरिक शिक्षाले राज्यको संविधान यसका सिद्धान्त र आचरणगत अपेक्षा सम्प्रभुता, नागरिक मौलिक र मानव अधिकार, व्यवस्थपिका, कार्यपालिका र न्यायपालिकाबारे यथेष्ठ ज्ञान दिलाउँछ । जनतालाई नागरिकमा परिणत गरी असल नागरिक निर्माणमा नागरिक शिक्षाले ठूलो मद्दत गर्छ । 

 

प्रकाशित: १ जेष्ठ २०७४ ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App