coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इन्टरलाई समर्थकको दुत्कार

मिलान – कट्टर समर्थक ‘लन्च’ का लागि भन्दै पहिलो हाफमै सान सियरो रंगशाला छाडेको दिन इन्टर मिलानले घरेलु मैदानमा सासौलोलाई २–१ को नतिजा सुम्पिएको छ । लिगमा इन्टरको यो लगातार चौथो हार हो ।

मंगलबार प्रशिक्षक स्टेफानो पिओलीलाई बर्खास्त गर्ने निर्णय गरेको इन्टरले आइतबार पनि हार टार्न सकेन । पछिल्लो ८ खेलमा विजय हासिल गर्ने नसकेको इन्टरले दुई अंक मात्र जोड्न सकेको छ ।

सासौलोका लागि दुवै गोल पिएट्रो इमेलोले गरेका थिए । भ्रमणकारी टोलीलाई ३६औं मिनेटमा अग्रता दिएका इमेलोले ५०औं मिनेटमा अग्रता दोब्बर पारेका थिए । ७०औं मिनेटमा इडरको गोलमा इन्टरले पुनरागमनको प्रयास गरे पनि अंक जोगाउन सकेन । 

पहिलो ३० मिनेट नबित्दै समर्थकहरूले ‘यदि तिमीहरू हाम्रो सम्मानको लायक छैनौं भने हामी लन्चका लागि जान्छौं’ भन्दै रंगशाला छाड्न थालेका थिए ।

हारपछि ३६ खेलबाट ५६ अंक जोडेको इन्टर आठौं स्थानमा छ । जुन पाँचौं स्थानको एटलान्टाभन्दा १० अंकले कम हो । इन्टरले मंगलबार प्रशिक्षक पिओलीलाई बर्खास्त गरेर युवा टोलीका प्रशिक्षक स्टेफानो भेच्चीलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

फ्रान्क डे बोइरलाई ८५ दिनमा बर्खास्त गरेको इन्टरले गत नोभेम्बरमा पिओलीलाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो । हारसँगै इन्टरको युरोपा लिग सम्भावना न्यून बनेको छ । 

यसअघि शनिबार खेल सकिन तीन मिनेट बाँकी छँदा एसी मिलानका जेरार्ड डेउलोफले गोल गरेपछि बराबरीमा रोकिनाका बावजुद एटलान्टा २६ वर्षपछि युरोपा लिगमा फर्किएको छ ।

इटालियन सिरी ‘ए’ मा २ चरणका खेल बाँकी छँदा एटलान्टा ६६ अंकका साथ पाँचौं स्थान छ । जुन छैटौं स्थानमा रहेको मिलानको भन्दा ६ अंकले बढी हो । यससँगै युरोपा लिगका लागि छनोट भएको एटलान्टाले १९९१ यता युरोपियन प्रितियोगिता खेलेको थिएन ।

आन्द्र कोन्टीको गोलमा एटलान्टाले ४४औं मिनेटमा अग्रता लिएको थियो । तर खेल सकिन तीन मिनेट बाँकी रहँदा डेउलोफले बराबरी गोल फर्काएपछि एटलान्टाले अंक बाँड्नुपरेको थियो ।

‘हामीले एउटा गल्ती ग¥यौं । त्यसैमा मिलान गोल गर्न सफल भयो । तर हामीले आफ्नो लक्ष्य पूरा गर्न सफल भयौं,’ एटलान्टाका फरवार्ड एलेजान्द्रो ‘पपु’ गोमेजले भने, ‘क्रिसमसतिरको समयमा युरोपा लिगको कल्पना गर्दै हामीले सिजन सुरु गरेका थियौं र अहिले त्यो लक्ष्य हासिल गर्न सफल भएका छौं ।’

तथापि मिलानको अपराजित यात्राले पाँच खेलसम्म निरन्तरता पायो । एटलान्टाले आफ्नो लक्ष्य पूरा गर्दा मिलानका दुई क्लब इन्टर र एसी मिलान भने पहिलो पटक युरोपा लिगका लागि छनोट हुन सकेनन् । 

त्यसअघि १–० ले पछि परेको स्थिति उल्टाउँदै फियोरेन्टिनाले लाजियोलाई ३–२ ले स्तब्ध बनायो । केइटा बाल्डे डिएओले लाजियोलाई ५५औं मिनेटमा अग्रता दिएका थिए । खोउमा बाबासेरले ६७औं मिनेटमा बराबरी गोल फर्काए भने निकोला कालिनिकले ७३औं मिनेटमा फियोरेन्टिनालाई अग्रता दिए । त्यसको तीन मिनेट नबित्दै क्रिस्टियानो लोम्बार्डीको आत्मघाती गोलमा फियोरेन्टिनाले अग्रता बढायो । ८१ मिनेटमा एलसान्द्रो मुर्गियाले गोल फर्काए पनि लाजियोलाई अंक दिलाउन पर्याप्त भएन । हारका बावजुद लाजियो चौथो स्थानमा रहँदा फियोरेन्टिना सातौं स्थानमा छ । 

यता फेर्रारामा आधारित क्लब स्पल ४९ वर्षपछि इटालियन सिरी ‘ए’ मा फर्किएको छ । दोस्रो श्रेणीको लिगमा टेर्नीसँग २–१ ले पराजित हुनाका बावजुद तेस्रो स्थानको फ्रोसिनोन बेनेभेन्तोसँग पराजित भएपछि स्पल पहिलो श्रेणीमा उक्लिएको हो।

लिगमा अन्तिम चरणको खेल बाँकी रहँदा स्पलले दोस्रो स्थानको हेलास भेरोनासँग २ तथा  तेस्रो स्थानको फ्रोसिनोनसँग ४ अंकको अग्रता लिएको छ । दोस्रो श्रेणीका शीर्ष दुई क्लबले सीधै पहिलो श्रेणीमा स्थान पक्का गर्छन् । तेस्रो स्थानको क्लबले चौथो स्थानको क्लबसँग १० अंकको अग्रता लिए सीधै पहिलो श्रेणीमा उक्लन्छ नभए प्लेअफबाट गुज्रिनुपर्छ । फ्रोसिनोन अहिले चौथो स्थानको सिटाडेलाभन्दा ८ अंकले अघि छ । 

 

प्रकाशित: १ जेष्ठ २०७४ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App