काठमाडौं– चर्चित साहित्यकार तथा राजनीतिज्ञ बिपी कोइरालाका साहित्यिक कृति नयाँ स्वरुपमा आएका छन्।
बिपीका कथाकृति तथा उपन्यासलाई नयाँ साजसज्जा र आवरणमा प्रस्तुत गरिएको हो । उपन्यासहरु ‘मोदिआइन’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ तथा कथासंग्रह ‘दोषी चस्मा’ र ‘श्वेतभैरवी’ लाई लिपि बुक्सले नयाँ स्वरुपमा बजारमा ल्याएको हो । बिपीको आत्मकथा ‘आफ्नो कथा’ पनि लिपिले प्रकाशनमा ल्याएको छ ।
यसअघि ती पुस्तक साझा प्रकाशनले निकाल्दै आएको थियो । ‘बिपी कोइराला मेमोरियल ट्रस्टसँग सम्झौता गरेरै पुस्तक प्रकाशन गरेका हौं,’ लिपि बुक्सका अर्जुन अधिकारीले भने, ‘ट्रस्टले नौ वटा पुस्तकको प्रकाशन अधिकार लिपि बुक्समा स्थानान्तर गरेको छ।’
पुस्तकलाई पढ्न सजिलो हुने गरी लेआउट र सम्पादनमा ध्यान दिएको उनले दाबी गरे। ‘तर हामीले बिपीको शब्द, वाक्य र प्रस्तुतिलाई जस्ताको तस्तै प्रस्तुत गरेका छौं,’ अधिकारीले भने।
प्रकाशित: २ श्रावण २०७३ १३:४० आइतबार