५ वैशाख २०८१ बुधबार
अन्य

घागीमा यौन र बुद्धि

कृष्ण धरावासी

कथेको कुरालाई कथा भनिन्थ्यो उहिले । कथ्नु भनेको कल्पना गर्नु र असत्यलाई सत्यझैँ बनाउनु मानिन्थ्यो । त्यसैले उसबेला साहित्यलाई अचेलको जस्तो जीवनसँग जोडर हेरिँदैनथ्यो । तर, आज आएर कथा जीवन बुझ्ने विशिष्ट विधा बन्न पुगेको छ । पछिल्लो कालमा नेपाली कथाले विषयवस्तु र शैलीगत प्रयोगको फड्को मार्दै नयाँनयाँ स्वाद पस्किरहेका छन् ।


नेपाली भाषाका लेखकहरू अब नेपालभित्र मात्र छैनन् । रोजगारी तथा विभिन्न कामले देशबाहिर जानेमा पनि साहित्यिक लेखन अभ्यास निरन्तर बढिरहेको छ । विदेशमा रहेर साहित्य सिर्जना गर्नेमध्ये गुणात्मक तथा संख्यात्मक हिसाबले अमेरिका र बेलायतमा बस्ने नेपाली लेखक निक्कै सक्रिय पाइएका छन् । सक्रिय लेखकमा अमेरिका बस्ने शिवप्रकाश पनि चिनिन्छन् । आख्यानमात्र हैन, गैरआख्यानमा पनि निरन्तर कलम चलाइरहने लेखक हुन् शिवप्रकाश । समसायिक विषयमा लेखिएका उनका विचारोत्तेजक लेखहरू चर्चामा छन् ।
केही वर्षअघि उनको ‘जैमली’ कथासंग्रह प्रकाशित भएको थियो । जैमलीमा संग्रहित कथामा महिला समस्या र यौन मनोविज्ञानलाई मसिनो पाराले उतारिएको थियो । विषयवस्तुलाई धेरै बेरसम्म घुमाइफिराइ नगरी झट्टै सन्दर्भमा प्रवेश गरेर दौडिहाल्ने शैली नै शिवप्रकाशको विशेषता हो । आख्यान होस् वा गैरआख्यान, अनावश्यक अल्मलिनु, उभिनुभन्दा उनी दौडन रूचाउँछन् ।


उनको पछिल्लो कथा संग्रह ‘घागी’ कथासंग्रह मैले निकै ढिलो पढेँ । २२ कथा, २४० पृष्ठको आकर्षक आवरणमा छापिएको शीर्षक ‘घागी’ नै प्रश्न बनेको छ, अहिलेसम्म । धेरै पाठकले ‘घागी’शब्दको अर्थ के होला भनी प्रश्न गरिरहेको पनि सुनेको थिएँ । घागी पढ्न थालेपछि कथाहरू जाग्रृत हुँदै जान्छन् । एकपछि अर्को गर्दै झन्झन् उत्साही हुँदै मेरा आँखाअघि कथा र पात्र हाजिर हँुदै गए ।
लेखकको कल्पनाशक्ति, प्रस्तुति र त्यसले बोकेको सन्देशका आधारमा कथा र तिनका पात्रहरू सशक्त छन् । घागीभित्रका कथा पढ्दै गर्दा पात्रहरू कुन शक्ति बोकेर भेट्न आइरहेका छन् भन्ने लागिरहेकै थियो । नेपाली भाषामा कथाहरूले टेकेको धरातल धेरै नै बलियो भैसकेको छ । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला र इन्दबहादुर राईले स्थापना गरेका कथाका आधार टेकेर उत्तरोत्तर प्रगतिपथमा लम्कँदै आएको नेपाली कथा अब थुप्रै नयाँ ‘एक्जिट’हरूबाट निस्किरहेका छन् ।


आआफ्नो पहिचान र धार बनाउँदै नेपाली लेखकहरू भीडभित्र अलग्गै चिनिने अभ्यास गरिरहेका छन् । यही मेसोमा अमेरिका बसेर नेपाली भाषामा निरन्तर काम गरेर अलग पहिचान बनाउन सक्षम शिवप्रकाश कथामा धेरैजसो नेपाली पात्रकै अमेरिकी जीवनलाई खोतल्न व्यस्त छन् । विभिन्न तरिकाबाट अमेरिका आइपुगेपछि यहाँको सभ्यतासँग चिनजान गर्ने क्रममा परेका अप्ठ्यारासँग जुध्दै अघि बढ्दा लाग्ने ठेसहरू नै हुन् यी कथा । कथाका विषयवस्तु मार्मिक छन्, तर कथाकारले कथामा नेपाली भावुकता र करुणालाई उति धेरै प्रवेश दिएका छैनन् । अमेरिकी समाजमा हुने निरश र क्षणिक भावुकताको राम्रो चित्रण गरिएको छ । हुन त आत्मिक, प्रेमिल र शास्त्रीय अवधारणाबाट कोसौँ टाढा रहेको यो समाजमा नेपालीय भावुकताको उस्तो उपस्थितिको कुनै अर्थ पनि हुँदैन ।
बातैपिच्छे ‘ह्याव अ गुड डे, ग्रेट, एक्सिलेन्ट, गुडजब’भन्ने, तर भित्र मनमा त्यसको कुनै भावनात्मक स्थान नहुने यहाँको सभ्यतालाई नेपालीखाले दिमागले बुझ्यो भने ठूलै झन्झटमा फसिने डर हुन्छ । प्रेम, प्रणय, गृहस्थी एकदमै कमजोर सूत्रमा बाँधिएको समाजको चित्रणलाई लेखकले एक्लो भावुकताको लेपन गर्नाले पनि खासै महŒव राख्दैन । शिवप्रकाशका यी कथालाई अमेरिकी जीवनको भावतरंगका साथ बुझ्नुपर्छ । सानो परिचयसँगै आत्मीय भइहाल्ने, अँगालो हालिहाल्ने, के के न भएझैँ गर्ने र छुट्टिँदा साथ दिमाग र स्मृतिबाट डिलिट गरिसक्ने यहाँको सम्बन्धसँँग जुध्नुपरेका नेपाली मनका यी कथाका पात्रहरू जतासुकै हरिबिजोग भएको अवस्थामा भेटिन्छ ।
प्रत्येक कथामा भेटिने पुरुषपात्र संवेदनाको जुन तहमा भए पनि महिलालाई देख्नासाथ यौनाभावले तरंगित भइहाल्छ । नायकको त्यो भाव कहिल्यै पनि अन्त्यसम्म पुग्दैन । जति सजिलै आइ लभ यु भनिन्छ, अमेरिकी समाजमा पनि त्यति सजिलै यौन सम्बन्ध हुन सक्दैन । यहाँको समाजमा महिला अत्यन्तै स्वतन्त्र, उन्मुक्त, बौद्धिक र आत्मनिर्भर भएकाले कुनै पुरुषको क्षणिक भावुक प्रस्तुतिमा लोभिँदैनन् ।  
यौनबारे पुरुष आफूलाई जति स्वतन्त्र सोच्न सक्छ, महिला पनि त्यति नै स्वतन्त्र छे । त्यसैले कथाका पात्रले सोचे पनि त्यो त्यति सहज र प्राप्य छैन । धेरै कथामा हामी यौनका नजिकतिर जाँदै गरेको अनुमान गर्छौं, तर कुनै कथा पनि त्यो अन्तिम बिन्दुसम्म पुग्दैनन् । कथामा नारी पात्रहरू बाहिर हेर्दा एकदमै खुसीजस्ता देखिए पनि भित्रभित्र एकदमै तनाव र ऐकान्तिक जीवनमा भेटिन्छन् । धेरैजसो पात्र नेपाली र अमेरिकी छन्  । मिश्रित पात्रमा नेपाली र अमेरिकी संस्कृतिको द्वन्द्व पनि देखिन्छ । धेरैजसो कथामा नेपालबाट आएका महिलामा देखिएको विचलन केन्द्रिकृत गरिएको छ । लेखकले कथामा त्यस पक्षतिर आफ्नो दृष्टि केन्द्रित गरेकोले यस्ता भेटिएका होलान् । नेपालबाट आएका पुरुषतिर पस्ने हो भने झन् कति विकराल कथा भेटिएलान् । प्रेम र गृहस्थीको क्षणिकता डरलाग्दो लाग्छ, पढ्दै जाँदा । तर, यहाँको सभ्यता र संस्कृतिमा हुँडलिँदै गएपछि ती कुरा पनि उति कहालिलाग्दा हुन छोड्लान् बिस्तारै ।


अधिकांश कथा एकले अर्कालाई ठगेको विषयमा छन् । झुक्किनु, ठगिनु र आफै मूर्ख बन्नु अमेरिकी शैली हो । कानुनले सबैलाई सुरक्षा दिएको छ, तर कानुनी प्रक्रिया पु¥याएर ठग्नेहरूको पनि छुट्टै संसार छ । घागीका अधिकांश कथामा नारीका तुलनामा पुरुष पात्र निकै कमजोर र निरीह छन् । यस संग्रहमा एकतिहाइ कथा निबन्धात्मक छन् । तिनलाई अकथा पनि भन्न सकिन्छ । लेखक धेरै बोलेपछि कथा निबन्ध बन्छ । जति धेरै पात्रभित्र लेखकको बुद्धि पस्छ त्यो कथा कमजोर हुन्छ, तर सशक्त निबन्ध बन्न सक्छ । धेरैजसो कथामा बुद्धिपक्ष प्रवल भएकाले पाठकले खोज्ने हार्दिकताको अभाव हुन्छ । आज लेखिने कथा र निबन्धमा एकदमै झिनो फरक छ, त्यो के भने कथा पढ्दापढ्दै सकिन्छ, तर निबन्धले चाहिँ कथा भनिसकेपछि अन्त्यमा त्यस्तो केही कुरा अझै भन्छ जो उपसंहार हुन्छ । यही पछिल्लो विशेषताले शिवप्रकाशका केही कथा निबन्ध भएका छन् ।


शिवले यी कथामा मनभन्दा बुद्धिको बढी प्रयोग गरेका छन् । कथाभित्र प्रशस्त सूक्तिमय वाक्य भेटिन्छन् । अधिकांश कथा व्यंग्यप्रधान बनेका छन् । यसो हुनु उनको बौद्धिक लेखनको प्रमाण पनि हो । कतिपय कथामा कथाकार जति धेरै गहिरिनुपथ्र्यो त्यसो हुन सकेको छैन । घागीमा भाषा, शैली र विषयवस्तुप्रति लेखकको विश्वास एकदमै दह्रो छ । भन्न चाहेको कुरा भन्न उनी कतै धकाउँदैनन् । निकै दोहोरिएको एउटा कमजोरी भनेको, हरेक महिला पात्रलाई देख्दा वा भेट्दा पुरुष पात्रभित्र तत्काल उदाइहाल्ने यौनभाव हो । त्यो स्वाभिवकता भन्दा बढी नै देखिन्छ । अमेरिकाको जीवन भोगिरहेकालाई आफ्नै वरिपरिको र आफ्नै कथा पनि बन्ला, अमेरिकाबाहिरका पाठकलाई भने यहाँको निस्सारता बुझ्न सहज होला ।
लेखक : शिव प्रकाश
विधा :कथा  
प्रकाशक :सांग्रिला बुक्स
मूल्य रु :२७५
प्रकाशन वर्ष :२०७२

 

प्रकाशित: ४ असार २०७३ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App