६ वैशाख २०८१ बिहीबार
विचार

प्रचण्डको भोट रुखमा

पहिलो चरणको निर्वाचन उत्साहप्रद रह्यो । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसको निर्वाचन चिह्न रुखमा मतदान गरी ऐतिहासिक उदाहरण यसै निर्वाचनबाट कायम गरेका छन् । नेपाली कांग्रेसलाई पहिलो वर्ग शत्रु घोषणा गर्दै सशस्त्र हिंसामा होमिएका प्रचण्ड यसरी एक सय असी डिग्रीमा परिवर्तन हुनु आफैँमा महत्वपूर्ण पक्ष हो । २०५२ सालमा सहयोगी नेता डा. बाबुराम भट्टराईमार्फत् चालीस सूत्रीय मागहरु तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष  पुर्याउँदा प्रचण्डको आक्रमण समग्रमा नेपाली कांग्रेसमा मात्र केन्द्रित रहेको स्पष्ट थियो । दश वर्षे सशस्त्र हिंसामा माओवादीले सबैभन्दा बढी क्षति नेपाली कांग्रेसलाई नै पुर्याएको हो । अनेक होनहार नेता र सदस्य समर्थकहरु कांग्रेसका नै मारिए माओवादीका हातबाट । नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रतिरक्षामा कार्बाही गर्दा माओवादीमा पनि कम क्षति भएन । त्यसबेला लागेको घाउको खाटो अझै पुरिएको छैन तर पुर्ने प्रयास निरन्तर छ । २०६२ मंसिरमा भएको बाह्र बुँदे सहमतिले दश वर्षसम्म कथित जनयुद्धका नाउँमा लागेको घाउमा मल्हम लगाउने काम गरेको थियो । २०६३ को संयुक्त जनआन्दोलनले घाउमा खाटा लगाउन विशेष भूमिका खेले पनि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति हुन नदिन गरेको माओवादी चालबाट घाउ पुनः बल्झिन पुगेको थियो तर माओवादीका लडाकुलाई व्यवस्थापन गरी लोकतान्त्रिक प्रणालीमा माओवादी प्रवेश गर्नासाथ वातावरण फरक हुन पुग्यो । नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हुनाले कांग्रेससँग सहकार्य गर्न सबैलाई सजिलो हुँदै गयो । यसअघि नेपाली कांग्रेसकै नेतृत्वमा सबै निर्णायक आन्दोलन भएका छन् । नेपालको राजनीतिक इतिहासलाई बांगोटिंगो नपारी अध्ययन गर्ने जस–कसैले पनि यस तथ्यलाई स्वीकार गर्नैपर्ने हुन्छ । यद्यपि इतिहासको पाठबाट सिकेर मात्र हुँदैन, वर्तमानमा त्यस इतिहासलाई बचाउन सक्ने सामथ्र्य पनि हुनु आवश्यक छ । वर्तमानमा इतिहासको सम्मान हुन सकेन भने र वर्तमानले भविष्यलाई निर्देशित गर्न सकेन भने जनताका मनमा वर्तमानले आसन जमाउन सकेन भने इतिहासको अर्थवत्ता अन्त्य हुन्छ । नेपाली कांग्रेस नेतृत्वले विस्तारै अर्थवत्तालाई विस्मृतिको गर्भमा अन्तस्थ गर्न लागेको अनुभव हुँदैछ । तैपनि व्यवहारिक राजनीतिको प्रयोग समयको माग हुनुपर्छ । त्यही समयको मागअनुरुप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाली कांग्रेससँग सहकार्य गर्न बाध्य भएका छन् र वर्ग दुश्मनको निर्वाचन चिन्ह रुखमा मतदान गर्न पुगेका छन् । उनको टाउकाको मूल्य तोक्दा प्रधानमन्त्री देउवा थिए भने देउवालाई भौतिक रुपमा समाप्त पार्न माओवादीले काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यालयमा र कैलालीमा देउवामाथि सांघातिक आक्रमण गरेको थियो । देउवा त्यसबेला बल्लबल्ल जोगिएका थिए । अब समयको धार र राजनीतिको धार परिवर्तन भएको छ । धार परिवर्तन राजनीतिको विशेषता नै हो । त्यस क्रूर कालखण्डमा देउवा वा प्रचण्डको भौतिक अवशान भएको भए आजको समयको धार अर्कै हुने थियो । नियतिले देउवा र प्रचण्डलाई सँगै बस्ने, शासन गर्ने र शासनमा पुग्न आपसी समझदारी गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यो असल समयका लागि सबैले धन्यवाद दिनुपर्ने हुन्छ ।

इतिहासको पाठबाट सिकेर मात्र हुँदैन, वर्तमानमा त्यस इतिहासलाई बचाउन सक्ने सामथ्र्य पनि हुनु आवश्यक छ । वर्तमानमा इतिहासको सम्मान हुन सकेन भने र वर्तमानले भविष्यलाई निर्देशित गर्न सकेन भने जनताका मनमा वर्तमानले आसन जमाउन सकेन भने इतिहासको अर्थवत्ता अन्त्य हुन्छ ।

तर प्रश्न उठ्छ के साँच्चै प्रचण्डजस्तो चतुर मानिसले रुखमा समझदारीअनुसार मत हाले होलान् त ? उनको अन्तरमनले के भन्यो होला त्यसबेला ? लोकतन्त्रको सौन्दर्य घृणा हुँदैन । समझदारी र स्नेह नै हुन्छ । लोकतान्त्रिक राजनीतिमा विश्वास हुन्छ, विश्वासघात हुँदैन । प्रचण्डले भरतपुर चितवनमा आफ्नो मत खसाली सकेपछि आफूले समझदारीअनुरुप मत हालेको स्पष्ट पारेका छन् । उनी त्यसोभन्दा लकपकाएका थिएनन् । उनको भनाइ विश्वासपूर्वक देखिएको हुनाले उनी समझदारीमा प्रतिबद्ध थिए भन्ने पुष्टि हुन्छ । दाहाल आफ्नी करिब उत्तराधिकारीका रुपमा स्थापन गर्न चाहेकी सुपुत्री रेणुलाई भरतपुर नगरपालिकाको मेयरबाट जमिनी राजनीतिको शिक्षा दिन चाहिरहेका छन् । पहिले संविधान सभा सदस्य बनाए, चार वर्ष रेणु सभासद् भइन्, २०७० को निर्वाचनमा उनले काठमाडौं एकबाट उनलाई उमेदवार बनाए पनि त्यहाँ सफल भएनन् । काठमाडौं एक अहिलेसम्म नेपाली कांग्रेसको बस्तीका रुपमा परिचित छ । प्रकाशमान सिंहले त्यसै काठमाडौं एकलाई माया गरेका होइनन् । बस्तीको अन्तर्य उनलाई थाहा छ । वर्तमान पुस्ता नभड्किएसम्म नेपाली कांग्रेसको सुरक्षित स्थान हो त्यो क्षेत्र । काठमाडौं प्रयास विफल भएपछि रेणुका लागि चितवन उपयुक्त स्थान हुनेछ । दाहालको पुख्र्यौली थलो कास्कीको नाउडाँडा कुनै दिन पुगेर सम्मान गर्ने एउटा भावनात्मक थलोबाहेक केही होइन । नाउडाँडाबाट बसाइँ सरेको दाहाल परिवारको राजनीतिक क्षेत्र चितवन नै हुनेछ । स्वयं पुष्पकमलका लागि काठमाडांैं वा सिराहा राजनीतिक बसाइँ सर्दै हिँड्नुभन्दा आफ्नो गृहक्षेत्र चितवनमा आफ्नो राजनीतिक तम्बु खडा गर्नु उपयुक्त हुनेछ । उनले खडा गरेको तम्बुमा पुत्री रेणु र पुत्र प्रकाश सजिलै ओत लाग्न सक्नेछन् तर रेणुको विजय सहज अवश्य छैन । खासगरी कांग्रेसका २०१८ साल देखिका पाको र आक्रामक राजनीति गरेका कांग्रेसहरु त्यहाँ छन् । ढिलो गरी समझदारी भएकोमा उनीहरुको कठोर चित्त दुखाइ छ, जुन असाध्य जायज पनि छ ।

आफ्नो गृहक्षेत्रमा नै जानुपर्ने अवस्था आउनसक्छ भन्ने थोरै हेक्का प्रचण्डमा भएको भए कम्तीमा तिनोटा गम्भीर घटना उनीबाट हुने थिएनन् । बसमा यात्रा गर्दै गरेकी बालिका काजोल खातुनलाई क्रान्तिका नाउँमा बलिवेदीमा जिउँदै जलाइयो । ती अबोध बालिकाको चित्कार अहिले पनि टाँडीको जंगलमा गुञ्जित हुँदै होला । उनी आज पनि जीवनको पुकारा गरिरहेकी होलिन् । बाँदरमुढेमा बयालीस जनाको ज्यान जाने गरी विष्फोट भयो । त्यहाँ बालक, वृद्धहरु पनि परे । ती सबै निर्दोष नागरिकको सामूहिक करुणाको स्वर खोलाको पानीसँगै सुसाउँदै होला । लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीको विभत्स हत्या कायरताको नमूना थियो र गोरखाको कृष्ण अधिकारीको हत्या अन्यायको उदाहरण हुन पुगेको छ । चितवन भनेको लमजुङ, गोरखा, कास्की र तनहुँ अनि केही मात्रामा बाग्लुङ, धादिङ, नुवाकोट र काभ्रेबाट पुगेकाहरुको मुख्य बस्ती हो । ती कुनै पनि जिल्लाको राजनीतिक माहोलबाट वा कुनै पनि गतिविधिबाट चितवनको राजनीति तरंगित हुन्छ । अहिले नेपाली कांग्रेस चितवनलाई नेतृत्व दिनेहरुको ठूलो अंश यिनै जिल्लाहरुबाट आएकाहरुको संख्याले भरिएको छ । बाँदरमुढे, काजोल र मुक्तिनाथको पीडा बोल्यो, देउवा–प्रचण्ड समझदारीविरुद्ध । कठोर आलोचना भयो त्यस सहमतिको । भरतपुरमा मेयरमा माओवादीकी रेणुलाई समर्थन गर्ने विषयले कांग्रेसहरुको मनमा हाहाकार मच्चियो । उनीहरु क्रूद्ध भए, आफ्नै पार्टी सभापति देउवाको पुत्ला जलाइयो । प्रचण्डविरुद्ध नारा लाग्यो । वास्तवमा उनीहरु देउवाविरुद्ध रुष्ट भएका होइनन् । काजोल, मुक्तिनाथ र बाँदरमुढेको घाउले तिल्मिलाएका थिए । त्यही पीडालाई देउवाको समझदारीका निहुँमा सम्झना गरिरहेका थिए । उनीहरुको त्यो स्मृतिपीडा जायज छ । चितवनमा स्थापित हुने र राजनीतिक जमिन बनाउने हो भने लोकतन्त्रमा विनम्रताको सिद्धान्तलाई प्रचण्डले वरण गर्नु पर्छ । उनले ती सबै क्रूर र अपकर्मका लागि व्यक्तिगत रुपमा र सामूहिक रुपमा जनताका सामू पुगेर क्षमायाचना गर्नु उपयुक्त हुनेछ । नेपाली समाजको विशेष चरित्र भनेको क्षमाशीलता नै हो । जनताले क्षमा गरेमा सबै कुरा क्षम्य हुनेछन् । लोकतन्त्रमा जनता जनार्दन नै हो । जनताभन्दा माथि कोही पनि हुँदैन । न संविधान जनतामाथि हुन्छ न राजनीतिक नेतृत्व नै । जनताको अधीनस्थ नभई लोकतन्त्रको राजनीति हुँदैन । एक पटकको सहकार्य मात्र होइन भविष्यमा धेरै पटक यस्तो सहकार्य गर्न क्षमायाचना सही उपाय हुनेछ ।

 भरतपुर नगरपालिका र लेखनाथ पोखरा नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको छ । पोखरा मेयरमा माओवादी केन्द्रले कांग्रेसका रामजी कुँवरलाई समर्थन गरेको छ । त्यसो त दोलखासहित कतिपय स्थानमा माओवादी र कांग्रेसको लय मिलेको देखिन्छ । तात्विक रुपमा यस लयले विशेष परिणाम देखाउने छाँट छैन । चितवनका सन्दर्भमा जसले देउवाको रणनीतिलाई स्वीकार गरे, ती कांग्रेसले मात्र रेणुका लागि हथौडामा हात राखेका छन् । जसले देउवाविरुद्ध आफूलाई कठोर धारमा राखेका छन्, तिनले पार्टी निर्णयलाई मानेको अनुभव हुँदैन । जयपराजय कसरी हुन्छ त्यसले नै धेरै कुरा बोल्ने छ । माओवादी र कांग्रेसको लय मिले पनि स्थानीय निकायको प्राथमिक मत गणना परिणामलाई हेर्दा एमाले निकै बलियो प्रतीत हुँदैछ । एमाले प्रमुख प्रतिपक्षमा रहेर सत्ताका कमजोरीबाट पर्याप्त फाइदा लिँदैछ । उसका लागि नयाँ रणनीति आवश्यक पर्दैन । सत्ता कमजोरीका केस्रा केलाउनासाथ एमालेका लागि आफ्नो मुद्दा बन्छ । पहिलो चरणको निर्वाचनमा एमाले सर्वाधिक प्रभावकारी देखिनुमा यही कारण मुख्य हो । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले दोस्रो चरणको निर्वाचनमा आफ्ना कमजोरी सच्याउने, आफ्ना कामहरुको सवल प्रतिरक्षा गर्ने र समझदारीका साथ भरतपुर र पोखराजस्तै गरी उम्मेदवारी तय गर्ने काम गर्न सके उनीहरुलाई फाइदा पुग्नेछ । अन्यथा एमालेको हावाले दुवैको जग हल्लाउने सम्भावना देखिएको छ ।

प्रकाशित: ३ जेष्ठ २०७४ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App