७ वैशाख २०८१ शुक्रबार
राजनीति

कान्तिका बनिन् नेपालकै पहिलो महिला मेयर

नेपालगन्ज – ९ कक्षा पढ्दापढ्दै बिहे भयो । एलएलसी गर्नेबित्तिकै १६ वर्षको उमेरमा शिक्षक बनिन् । त्यसपछि जुम्लामा उनको परिचय बन्यो– ‘कान्तिका मेडम !’ अहिले यिनै मेडम चन्दननाथ नगरपालिकाको मेयरमा निर्वाचित भएकी छन् । ६ नम्बर प्रदेशका ७९ स्थानीय तहमा निर्वाचित हुने उनी एक्लो महिला प्रमुख हुन् ।

२०७० फागुन ४ गते हवाई दुर्घटनामा कांग्रेसका तत्कालीन जुम्ला सभापति मानव सेजुवालको निधन भएपछि सिंगो कर्णाली स्तब्ध बन्यो । अभिभावक गुम्दाको पीडाले परिवार गहिरो शोकमा डुब्यो । श्रीमती कान्तिका माध्यमिक तहको शिक्षक थिइन् । आफन्त र शुभचिन्तकले सान्त्वना दिँदै भने– नहुनु भैहाल्यो, अब छोराछोरीको मुख हेर, जागिर छँदैछ, चिन्ता नगर । तर, एक वर्षमै कान्तिकाले सबैलाई चकित पार्नेगरी स्थायी शिक्षकबाट राजीनामा दिइन् र श्रीमान्को बाटो रोजिन् । पार्टीको तेह्रौं महाधिवेशनमा महासमिति सदस्य चुनिइन् । ‘उहाँले घरपरिवार र आर्थिक पक्षलाई गौण राखेरै हामीबाट बिदा हुनुभयो,’ कान्तिकाले भनिन्, ‘राजनीतिमार्फत जनताको सेवा गर्ने उहाँको सपना पूरा गर्नकै लागि मैले यो क्षेत्रमा हात हालें ।’

‘अब म चुनावका बेला अघि सारेका अजेन्डा बोकेर आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नतिर लाग्नेछु , स्थानीय सरकारमार्फत जनतालाई परिवर्तनको अनुभूति गराउनेछु ।’

अन्ततः कान्तिकाले देखेको त्यही सपना अहिले आएर पूरा भएको छ । ६ नम्बर प्रदेशका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये उनी एक्लो महिला प्रमुख (मेयर) का रुपमा निर्वाचित भइन् । जुम्लाको चन्दननाथ नगरपालिकाबाट उनी नेपाली कांग्रेसको तर्फबाट मतसहित विजयी भएकी हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्यशिक्षा र ग्रामीण विकासमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेकी ४५ वर्षीया कान्तिका जुम्लामा माध्यमिक विद्यालयकी पहिलो महिला प्रधानाध्यापक पनि हुन् । उनको नेतृत्वमा जुम्लाको कर्णाली मावि पटकपटक जिल्लामा उत्कृष्ट भएर राष्ट्रिय पुरस्कार पाउन सफल भएको थियो । ‘उहाँमा कुनै पनि काम आत्मविश्वास र आँटका साथ गर्न सक्ने क्षमता छ,’ उनलाई नजिकबाट चिनेका स्थानीय हंशराज न्यौपाने भन्छन्,  ‘त्यही आँट र आत्मविश्वासले राजनीतिमा पनि सफल बनाएको छ ।’ कामप्रतिको लगाव र समन्वय गर्ने क्षमता उनका विशेष गुण रहेका उनले बताए ।

कान्तिकाले सफलता हात पार्नुमा उनले निर्वाचनमा अघि सारेका दृष्टिकोण, मतदातामा उनको नेतृत्व क्षमताप्रतिको विश्वास, सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्व र राजनीतिक रुपमा बलियो पारिवारिक पृष्ठभूमि प्रमुख कारक मानिएको छ । कान्तिकाले निर्वाचनको बेला १० क्षेत्रमा ३९ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेकी थिइन् । नगर गुरुयोजना बनाएर चन्दननाथलाई समृद्ध सहरको रुपमा विकास गर्ने, धावक हरिबहादुर रोकायाको नाममा ‘हरिबहादुर म्याराथुन मार्ग’ निर्माण गर्ने, ‘हाम्रो चन्दननाथ, जनताको साथ’ नारासहित सुरक्षित नगरपालिका अभियान सञ्चालन गर्ने, ‘चन्दननाथ चौवीसै घण्टा उज्यालो सहर’ बनाउन पहल गर्नेजस्ता आकर्षक योजना चन्दननाथवासीलाई सुनाएकी थिइन् । ‘अब म चुनावको बेला अघि सारेका अजेन्डा बोकेर आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्नतिर लाग्नेछु,’ उनले भनिन्, ‘स्थानीय सरकारमार्फत जनतालाई परिवर्तनको आभास दिलाउनेछु ।’

कान्तिका जुम्लामा स्थापित नारी कल्याण केन्द्रको अध्यक्ष छिन् । उनी कार्यरत संस्थाले कर्णालीका महिलाको विकास र हकअधिकारका लागि काम गर्छ । स्थानीयका ससाना समस्यालाई चासोका साथ सुन्ने र समाधानका लागि पहल गर्ने उनको स्वभाव जुम्लामा अनुकरणीय छ ।

पतिको लागि प्रेरणा

२०५० को दशकमा त्रिभुवन विश्वविद्यालयबाट एमएससी गरेका पति मानवलाई उति बेलै विश्वविद्यालयदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायमा आकर्षक रोजगारीको प्रस्ताव आएको थियो । इमानदार र समर्पित युवा नेताको छवि बनाइसकेका मानव भने त्यतातिर लागेनन्, राजनीतिमार्पmत समाजसेवा गर्ने बाटो समाते । मानवको राजनीतिक जीवन सफल र सार्थक बनाउनुमा कान्तिकाको हात महत्त्वपूर्ण रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ‘उहाँ (कान्तिका मेडम) ले जागिर खाएर सुखी जीवन बनाउनुपर्छ भन्ने दबाब दिएको भए मानव दाइ सायद कर्णालीको लोकप्रिय नेता बन्ने अवसरबाट चुक्नुहुन्थ्यो होला,’ न्यौपाने भन्छन्, ‘तर आपूmले संघर्ष गरेर भए पनि राजनीतिमार्पmत समाजसेवा गर्ने अवसर दिनुभयो ।’

पति राजनीतिमा रहँदा कान्तिकाले विद्यालयमा कहिल्यै राजनीति गरिनन् । उनलाई कांग्रेसनिकट नेपाल शिक्षक संघको जिल्ला अध्यक्ष हुन निकै प्रस्ताव आए । उनले प्रस्ताव सीधै अस्वीकार गरिन् । ‘म मेरो विद्यालयका  शिक्षकको नेता हुँ,’ उनी भन्ने गर्थिन्, ‘राजनीतिक नेता नै हुने भए त राजीनामा दिएर मैदानमा उत्रिन्छु नि !’ आखिर कान्तिका राजनीतिक मैदानमा उत्रिइन् र जनताको नेता बनिन् ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App