'ब्रेन डेथ'को मृगौला अर्काे व्यक्तिमा

बिहिबार, ०४ जेठ २०७४, १० : १४ दीपक दाहाल  | @DeepakDahal1


काठमाडौं – निर्वाचन प्रचारप्रसारका क्रममा भएको दुर्घटनापछि मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका एक युवाको मृत्युपश्चात् मिर्गौला झिकेर पहिलोपटक जीवित व्यक्तिमा सफल प्रत्यारोपण गरिएको छ ।

ब्रेन डेथ भएकाको अंग निकाल्न मिल्ने कानुनले पूर्णता पाएको करिब ६ महिनापछि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र्रमा यस्तो प्रत्यारोपण भएको हो । वैशाख २७ गते दुर्घटनामा परेका सिन्धुली खाङगसाङ ८ का ३० वर्षे गोविन्द भुजेलको २८ गते बिहीबार कान्तिपुर अस्पतालमा ब्रेनडेथ भएको थियो । 

ब्रेनडेथ घोषणपश्चात् लामो परामर्शपछि परिवारको सहमतिमा गत बिहीबार अस्पतालबाट अंग निकालेर केन्द्रअन्र्तगत प्रत्यारोपणको पर्खाइमा रहेका दुई बिरामीमा प्रत्यारोपण गरिएको हो । केन्द्रका अनुसार प्रत्यारोपणको पर्खाइमा रहेका बिरामीद्वय सुनसरीका ५१ वर्षे गोविन्दप्रसाद तिमल्सिना र लाजिम्पाटका १५ वर्षे मिलन श्रेष्ठमा प्रत्यारोपण गरिएको थियो । स्वास्थ्यमन्त्री गगन थापाले मन्त्रालय सम्हालेसँगै अंगप्रत्यारोपणसम्बन्धी नियमावली तीन दिनमै जारी गराएर ब्रेन डेथबाट अंग निकाल्ने बाटो सहज बनाइदिएका थिए ।


कानुनले बाटो खोले पनि मृत्यु भएकाहरूको अंग निकाल्न दिन परिवारलाई तयार गर्नु नेपालको सन्दर्भमा सबैभन्दा चुनौतीपूर्ण छ । ब्रेन डेथ भएकाको अंग दिने कुरा व्यवस्थित गर्न सके यसै कामका लागि जीवितबाट अंग निकाल्नु पर्दैन ।

कानुन बनेपछि ब्रेन डेथबारे अस्पतालले जानकारी नदिनु, मृत व्यक्तिको अंग निकाल्न परिवार तत्पर नहुनुजस्ता कारणले ब्रेन डेथ प्रत्यारोपण सुरु हुन सकेको थिएन । पछिल्लोपटक बिरामीको मस्तिष्क मृत्य हुनासाथ कान्तिपुर अस्पताल प्रशासनले केन्द्रमा खबर गरेको थियो । केन्द्रको टोलीले गरेको घन्टौंको परामर्शपछि भुजेल परिवार अंग दान गर्न तयार भएको अस्पतालका निर्देशक डा.पुकारचन्द श्रेष्ठले जानकारी दिए । 

उनले जापानलगायत थुप्रै देशमा समेत धार्मिक र सांस्कृतिक आधारमा परिवारले सहमति नदिँदा प्रत्यारोपण हुन नसकेको सन्दर्भमा नेपालमा भुजेल परिवारले ठूलो ट्रेन्ड सेट गरेको श्रेष्ठले बताए । ‘भुजेल परिवारले आफन्त जीवित नरहेपछि खरानी भएर जाने अंगसहित कसैले नयाँ जीवन पाउँछ भने तयार छौं भन्यो,’ डा.श्रेष्ठले भने । 

अंग प्रत्यारोपण गरिएको बिरामी १५ वर्षे मिलनले आफ्नो नयाँ जीवनका लागि महानता देखाउने भुजेल परिवारलाई धन्यवाद दिए । ‘उहाँ त रहनुभएन तर उहाँका अंगले मलाई नयाँ जीवन दिएको छ,’ मिलनले भने, ‘अब ब्रेन डेथ भएकाको अंग खेरा नजाऊँन्, कसै न कसैले नयाँ जीवन पाऊँन्’ । 

अंग प्रत्यारोपणपछि भक्तपुरस्थित केन्द्रमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले ऐनमा संशोधन र नियामावली पारित भएसँगै नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण र ब्रेन डेथपछि अंग प्रत्यारोपण सुरु भएको बताए । ‘‘अंगदानभन्दा ठूलो दान केही हुन्न,’ उनले भने । थापाले मृत व्यक्तिबाट अंग निकाल्ने कुरामा परिवार र समाजलाई तयार पार्न जनचेतना बढाउनुपर्ने बताए । ‘अंग अमूल्य छ तर ब्रेनडेथ भएको अवस्थामा अंग निकाल्न प्रोत्साहन गर्न कम्तीमा अस्पतालमा लाग्ने खर्चमा सहुलियत दिन सकिन्छ,’ उनले भने । 

अंग प्रत्यारोपणलाई नियमन तथा व्यवस्थित गर्न बनेको ऐन र नियामावलीअनुसार चिकित्सकले विभिन्न जाँचका आधारमा मस्तिष्क मृत्यु घोषणा गर्न सक्छन् । मस्तिष्कमा अपरिवर्तनीय क्षति भएमा, प्राकृतिक श्वासप्रश्वास बन्द भएमा र मस्तिष्कको काम पूर्ण रूपमा रोकिएमा चिकित्सक टोलीले यकिन गरेर मस्तिष्क मृत्यु घोषणा गर्छन् ।

कानुनले बाटो खोले पनि मृत्यु भएकाहरूको अंग निकाल्न दिन परिवारलाई तयार गर्नु नेपालको सन्दर्भमा सबैभन्दा चुनौतीपूर्ण भएको विज्ञहरूले बताएका छन् । यसरी मृत्यु भएको व्यक्तिको अंग प्रत्यारोपणका लागि पर्खाइमा रहेकामध्ये सबैभन्दा बढी म्याच हुने, दाता र ग्रहणकर्ताबीच उमेर लिमिट कम भएको, महिलाजस्ता आधारमा प्राथमिकता तोकिन्छ । ‘मृतकले पहिल्यै ब्रेन डेथ भएमा दिन्छु भनेर दान गरेको, वा पछि परिवारको सहमतिले अंग निकालेपछि पनि सबैभन्दा बढी म्याच जसलाई गर्छ उसैले अंग पाउँछ,’ डा.श्रेष्ठले भने ।
दुर्घटनाको अवस्थामा प्रहरी मुचुल्का बनाउनुपर्ने र पोष्टमार्टम गर्नुपर्ने भए पनि कानुनअनुसार नै प्रहरीले रिपोर्ट बनाइदिएको अस्पतालले जनाएको छ । 

 चिकित्सकका अनुसार ब्रेन डेथबाट जीवित व्यक्तिमा ८ वटा प्रमुख अंग दान गर्न सकिन्छ । त्यसमा पनि मुटु र फोक्सो प्रत्यारोपण गर्न ब्रेन डेथ डोनर नै चहिन्छ । यसका लागि समन्वय युनिट पनि भक्तपुरस्थित केन्द्रमै तोकिएको मन्त्रालयले जनाएको छ । कानुन पारित भएसँगै युनिटमा ६ वटा मस्तिष्क मृत्युसम्बन्धी खबर आए पनि तीनवटामा परिवारले अंग निकाल्न सहमति नदिएको, २ वटामा खबर ढिला आएको कारण अंगको कार्यक्षमता कम भइसकेको थियो ।

भुजेलको परिवारले कलेजोसमेत निकाल्न सहमति दिए पनि कलेजोे प्रत्यारोपणका लागि पर्खाइमा रहेका व्यक्तिले लिन नमानेका कारण मिर्गौला मात्रै निकालिएको डा.श्रेष्ठले बताए । ‘परिवार सहमत भएपछि कान्तिपुर अस्पतालमै शल्यक्रिया गरी अंग निकालेर भक्तपुर लगियो,’ डा.श्रेष्ठले भने, ‘सोही रातभर शल्यक्रिया गरेर दुबै बिरामीमा प्रत्यारोपण भयो ।’ 

चिकित्सकका अनुसार युरोप अमेरिकातिर जनचेतना उच्च भएकै कारण अधिकांश प्रत्यारोपण मतिष्क मृत्यु भएकाबाट गरिन्छ । नेपालमा पनि प्रत्येक वर्ष १ हजारको सडक दुर्घटनामा मृत्यु हुन्छ । यो आधारमा प्रत्येक वर्ष २ हजार मिर्गौला प्राप्त गर्न सकिने डा.श्रेष्ठ बताउँछन् । ‘अहिले प्रत्येक वर्ष ३ हजार मिर्गौला फेल हुन्छ भन्ने अनुमान छ,’ उनले भने, ‘ब्रेन डेथ भएकाको अंग दिने कुरा व्यवस्थित गर्न सके यसै कामका लागि जीवितबाट अंग निकाल्नै पर्दैन ।’ 

मृतकबाट अंग निकाल्दा दातालाई जोखिम नहुने र समयमै निकाल्न सके अंगको प्रभावकारितामा कमी नआउने चिकित्सकहरू बताउँछन् ।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...

लण्डनमा बक्स अफिस अवार्ड

लण्डनमा बक्स अफिस अवार्ड

बेलायतको लण्डनमा आगामी असार १७ गते हुन लागेको १० औं संस्करणको 'बक्स अफिस फिल्म फेयर अवार्ड २०१७'को उत्कृष्ट पाँचको मनोनयन...

मनसुनमा के खाने के नखाने ?

मनसुनमा के खाने के नखाने ?

सहरमा मनसुन सुरु भइसकेको छ । गर्मीको रापिलो घाममा पानीले शीतल त बनाउँछ नै, तर यसका नकारात्मक पाटाको लिस्ट पनि...