८ वैशाख २०८१ शनिबार
खेल

भारतसँग मैत्रीपूर्ण फुटबल हुने

काठमाडौं – राष्ट्रिय पुरुष फुटबल टोलीले एक मैत्रीपूर्ण खेलका लागि यसै महिना छिमेकी भारतको भ्रमण गर्ने भएको छ ।
 
दक्षिण एसियाका दुई छिमेकीबीच मुम्बई फुटबल एरिना अफ अधेरी स्पोर्टस कम्प्लेक्सको मैदानमा जेठ २३ गते मैत्रीपूर्ण खेल हुने तय भएको अखिल नेपाल फुटबल संघ(एन्फा)ले बताएको छ । नेपाल र भारत दुवै देशले एएफसी एसिया कप २०१९ को छनोट प्रतियोगिताको तयारी गरिरहेका छन । 

अल इन्डिया फुटबल फेडरेसन (एआइएफए)ले मैत्रीपूर्ण खेलका लागि राखेको प्रस्ताव स्विकार्दै राष्ट्रिय टोली मुम्बई पठाउन लागेको एन्फाले जनाएको छ । तर भारतीय सञ्चार माध्यमले भने जेठ २४ गते लेबनानविरुद्ध हुने तय भएको खेल भिसा समस्याका कारण स्थगित भएपछि नेपाललाई प्रस्ताव गरेको उल्लेख गरेका छन् ।
 
एन्फाले एसियन कप छनोटको तयारीलाई मैत्रीपूर्ण खेलले सहयोग गर्ने विश्वास लिएको बताएको छ । नेपालले एएफसी एसियन छनोटअन्तर्गतको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को अवे पराजय भोगिसकेको छ । भारतले भने सुखद सुरुआत गर्ने क्रममा म्यानमारलाई अवे खेलमा १–० ले हराएको थियो । नेपालले जुन १३ मा यमनसँग खेल्नेछ । सोही दिन भारतले घरेलु मैदान बेङ्लोरमा किर्गिस्तानसँग खेल्नेछ । 

नेपालले छनोट खेलका लागि दुई साता अघि देखि जापानी प्रशिक्षक ग्याटुको कोजीको प्रशिक्षणमा तयारी सुरु गरिसकेको छ । प्रशिक्षक कोजीले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका थिए । तर प्रशिक्षणमा रक्षक रविन श्रेष्ठ, रोहित चन्द र गोलकिपर किरणकुमार लिम्बु सहभागी छैनन् । चोटका कारण रविन अहिले आराममा छन् । रोहित इन्डोनेसिया र किरण माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका छन् । 

भारतले पछिल्लो फिफा वरियतामा एक दशक यताकै उच्च छलाङ मार्ने क्रममा १ सयौं स्थानमा उक्लिएको थियो । १ सय ७०आैँ स्थानमा रहेको नेपालको नतिजा भारतविरुद्ध सुखद छैन । यसअघि १९ पटक आमने–सामने हुँदा नेपालले चिर प्रतिद्वन्द्वी भारतसँग १३ खेलमा हार सामना गरेको छ । छिमेकी महारथीविरुद्ध तीन जित हासिल गरेको नेपालले तीन खेलमा बराबरी नतिजा निकालेको इतिहास छ । विगतका १९ खेलमा भारतले ३२ गोल गरेको छ भने नेपालले ८ गोलमात्र गर्न सकेको छ । 

२०१३ मा काठमाडौंमा सम्पन्न आठौं साफ च्याम्पियनसिपमा हासिल गरेको जित भारतविरुद्ध नेपालको पछिल्लो सफलता हो । अनिल गुरुङ र जुमानु राईको गोलमा त्यतिबेला नेपालले भारतमाथि २–० को विजयी नतिजा निकालेको थियो । पछिल्लो पटक भारतमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा दुई टोलीबीच भेट हुँदा भारत ४–१ ले विजयी भएको थियो । 

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App