७ वैशाख २०८१ शुक्रबार
खेल

सिटीको लगभग पक्का, आर्सनल दौडमा कायम

लन्डन –   स्ट्राइकर एलेक्स सान्चेजको दुई गोल प्रेरित आर्सनलले मंगलबार रेलिगेसनमा परिसकेको सन्डरल्यान्डमाथि २–० को जित हासिल गर्दै अर्को वर्षको च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको  छ ।

घरेलु इमिरेट्स रंगशालामा सम्पन्न खेलको ७२औं मिनेटमा सान्चेजले मेसुट ओजिलको पासलाई गोलमा परिणत गरेपछि आर्सनलले अग्रता लिएको थियो । 

८१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सान्चेजले आर्सनलका लागि महत्वपूर्ण ३ अंक पक्का गरे । ओलिभर जिरौडको प्रहार विपक्षी गोलकिपले रोकेपछि रिबाउन्डमा प्राप्त बललाई सान्चेजले पोस्टको दिशा दिएका थिए । जारी सिजनमा उनको यो २२औं गोल हो । 

यस जितपछि ३७ खेलको समाप्तिमा ७२ अंक जोडेको आर्सनल पाँचांै स्थानमा यथावत् छ, जुन चौथो स्थानको लिभरपुलभन्दा १ अंक कम हो । इङ्लिस प्रिमियर लिगको शीर्ष ४ मा रहँदै अर्को वर्ष च्याम्पियन्स लिग खेल्न आर्सनलले आइतबार एभर्टनको घरेलु मैदानमा हुने लिगको अन्तिम खेल जित्नुपर्ने हुन्छ । साथै लिभरपुलले रेलिगेसनमा परिसकेको अर्को टोली मिडल्सब्रोसँगको खेल हारेको हेर्न पाउनुपर्ने हुन्छ । तर अन्तिम चरणको नतिजापछि अंक बराबरी गरे पनि योर्गान क्लोपको टोली आर्सनलभन्दा गोलअन्तरमा माथि छ । 

३७ खेलको समाप्तिमा २४ अंक जोडेको सन्डरल्यान्ड पुछारमा कायम छ । 

‘हामीले अन्तिम दिनको खेलबाट धेरै पटक च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेका छांै,’ आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले भने, ‘हामीले ७१ अंक जोड्दा पनि दोस्रो भएका थियौं, अहिले ७२ जोडिसकेका छौं र ७५ पु¥याउने लक्ष्यमा छौं । त्यसपछि के हुन्छ हेरौं ।’

इमिरेट्स रंगशालामा मंगलबार राति अधिकांश कुर्सी खाली थिए । जारी सिजनमा लगातार खराब प्रदर्शन गरेपछि आर्सनलका समर्थकहरू प्रशिक्षक वेंगरसंग रुष्ट बन्दै आएका छन् । उनीहरूले तत्काल वेंगरले प्रशिक्षकबाट राजीनामा दिनुपर्ने माग राख्दै आएका छन् । घरेलु टोलीले सन्डरल्यान्डविरुद्ध जित हात पार्न धेरै संघर्ष गर्नुपरेको थियो । 

पहिलो हाफमा हेक्टर बेलेरिनको प्रहार पोस्टनजिकैबाट बाहिरिँदा आर्सनल निराश बनेको थियो । मध्यान्तरअघि त्यो नै घरेलु टोलीले विपक्षी पोस्टमा गरेको एक मात्र राम्रो आक्रमण थियो । 

तर सन्डरल्यान्डले काउन्टर अट्याकमा दुई खतरनाक प्रहार गर्दै आर्सनललाई दबाब दिएको थियो । डिडियर एनडोङ र जेर्माइन डिफोको प्रहार आर्सनलका गोलकिपर पिटर चेकले विफल पारेका थिए । 

दोस्रो हाफमा पनि सन्डरल्याान्डका गोलकिपर जोर्डन पिकफोर्डले आरोन रामसे र ड्यानी वेलब्याकको प्रहार रोक्दै घरेलु टोलीलाई निराश पारेका थिए ।

मंगलबारै सम्पन्न अर्को खेलमा वेस्ट ब्रोमलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटी शीर्ष ४ मा रहेर सिजनको अन्त्य गर्ने संघारमा पुगेको छ । 

घरेलु इत्तिहाद रंगशालामा सम्पन्न खेलको २७औं मिनेटमा ग्याब्रियल जिससले गोल गरेपछि सिटीले अग्रता लिएको थियो । उनले केभिन डी ब्रुएनेको पासलाई पोस्टको दिशा दिएका थिए । 

त्यसको २ मिनेटपछि डी ब्रुयेनेले जिससको पासमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा सर्जियो अग्वेरोको पासमा याया टाउरेले गोल गर्दै सिटीको जित लगभग पक्का गरेका थिए । जहाँ खेल सकिन तीन मिनेट बाँकी रहँदा एलान नियोनको पासमा रोब्सन कानुले एक गोल फर्काए पनि त्यो वेस्ट ब्रोमलाई खेलमा फर्काउन पर्याप्त भएन ।

जितपछि ३७ खेलको समाप्तिमा ७५ अंक जोडको सिटी तेस्रो स्थानमा उक्लिएको छ । आइतबार वाट्फोर्डविरुद्धको खेलमा एक अंक मात्र जोडे पनि सिटीको शीर्ष ४ पक्का हुनेछ । साथै उक्त खेल जित्न सके पेप ग्वार्डिओलाको टोलीले तेस्रो स्थान सुरक्षित गर्नेछ । प्रिमियर लिगको शीर्ष तीनमा रहेर सिजन अन्त्य गर्ने टोली सोझै आगामी सिजनको च्याम्पियन्स लिगलाई छानिन्छन् भने चौथो हुने टोलीले प्लेअफ खेल्नुपर्नेछ ।

प्रकाशित: ४ जेष्ठ २०७४ ०५:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App