८ वैशाख २०८१ शनिबार
कला

‘जतिबेला पनि विवाह हुन सक्छ’

काठमाडौं – पछिल्लो समय सौगात मल्ल फिल्ममा गरेको अभिनयभन्दा पनि व्यक्तिगत कारणले चर्चामा छन् । पूर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठसँग अफेयरको हल्लाले सौगात यो पटक फिल्मइतर विषयका कारण चर्चामा आएका हुन् । त्यसैले सौगात आजभोलि जतिबेला जहाँ भेटिन्छन्, मानिसको आँखामा होस् वा ओठमा उही जिज्ञासा हुन्छ । फिल्म ‘फाटेको जुत्ता’को कार्यशालामा भेटिएका सौगातलाई नागरिकले यही प्रश्न राख्दा उनले सृष्टिसँगको अफेयर अस्वीकार त गरेनन् तर खुलेर बोल्न पनि चाहेनन् । उनले नागरिकसँग भने, ‘यो लुकाउनुपर्ने विषय हो जस्तो लाग्दैन । न त हल्ला नै गर्नुपर्ने विषय हो जस्तो लाग्छ।’

प्रेमको कुरा भएपछि उमेर पुगेका जोडीको विवाहको कुरा पनि भैहाल्छ । सौगात विवाहको प्रश्नमा पनि पहिलो प्रश्नमा झैं प्रस्ट उत्तर दिएनन् । उनले आफूहरूका बीचमा विवाहको चर्चा चले पनि यो मितिमा नै गर्ने भन्ने टुंगो नभएको बताए । ‘निश्चय नै विवाहको कुरा हामी सबैको दिमागमा छ ।  तर, यति बेलै गर्ने भन्ने कुनै हतार छैन । समय र परिस्थिति हेरेर जतिबेला पनि हुन सक्छ,’ सौगातले भने। 

दुई दर्जन हाराहारी फिल्ममा अभिनय गरेका सौगात यतिबेला ‘फाटेको जुत्ता’को सुटिङको तयारीमा छन् । बिहीबार ललितपुरमा मुहुर्त हुन गइरहेको फिल्मका लागि मंगलबार सौगात स्क्रिप्ट हातमा लिएर अभ्यास गरिरहेका थिए । ‘के सौगातलाई अझै वर्कसपमा बसिरहन पर्छ र ? ‘परिहाल्छ नि !,’ सौगातले भने , ‘वर्कसप भनेको समूहमा बसेर गरिने काम हो । एक्लैले सोचेको भन्दा समूहले सोचेको राम्रो । मचैं चराले झैं दाना टिप्न आउँछु ।’ उनले कतिपय फिल्ममा सिधै सेटमा गएर अभिनय गरेको भए पनि वर्कसपले कलाकारलाई कामका लागि तयार पार्ने बताए। 

सधैं नयाँनयाँ चरित्र र गेटअपमा प्रस्तुत हुन रुचाउने सौगात ‘फाटेको जुत्ता’मा फेरि एकपटक मधेशी पात्रको भूमिका निर्वाह गर्दैछन् । वीरगन्जको पृष्ठभूमिमा बन्ने फिल्ममा सौगातले मधेशी युवाको प्रतिनिधित्व गर्दैछन् । तर, सौगातले पहिलो पल्ट यस्तो भूमिका निर्वाह गर्न लागेका भने होइनन् । यसअघि उनले ‘षडंग’ र ‘लुकामारी’मा मधेशी पात्रको अभिनय गरेका छन् । आफैंलाई दोहोर्याउन खासै नरुचाउने सौगात यो चरित्रका लागि कसरी तयार भए ? उनले भने ,‘फिल्मको कथानक रोचक छ । अनि पृष्ठभूमि नै मधेश भएपछि चरित्र पनि त्यस्तै हुनुपर्ने कथाको माग थियो । त्यही भएर गरे ।’ नवलपरासीमा जन्मिएका सौगात आफू हुर्किबढेको परिवेश भएकाले अरु चरित्रभन्दा मधेशको चरित्र निर्वाह गर्न धेरै मिहिनेत गर्न नपर्ने बताउँछन् । ‘फाटेको जुत्ता’मा सौगातसँगै कामेश्वर चौरसिया, रवीन्द्र झा र प्रियंका कार्की मुख्य भूमिकामा अभिनय गर्दैछन् । अर्जुन कुमारले निर्माण गर्न लागेको फिल्मलाई निकेश खड्काले निर्देशन गर्न लागेका हुन् जसले यसअघि ‘जिन्दगी रक्स’ निर्देशन गरेका थिए। 

पछिल्लो समय थिएटरका कलाकारले फिल्मको अभिनयमा धाक जमाएका छन् । तर, योसँगै थिएटरका कलाकारले फिल्ममा अभिनयको मर्म आत्मसात नगरेको बहस सुरु भएको छ । सौगात स्वयंलाई भने चरित्रको बाहिरी आवरणमा मात्र काम गरेर मेकर र दर्शक झुक्याएको आरोप लाग्ने गरेको छ । सौगातले यो आरोपको भने खण्डन गरे । ‘हुन त उहाँहरूले केही देखेर नै भन्नु भएको होला । तर, सबैले के बुझ्न पर्यो भने, म कलाकार मात्र हो र कलाकार सधैँ निर्देशकको नियन्त्रणमा हुन्छ । म पनि हुन्छु,’ सौगातले भने, ‘ मैंले आफूलाई लागेको कुरा निर्देशकलाई भन्ने हो । मान्ने नमान्ने उहाँको जिम्मा । बाहिर हल्ला भएजस्तो मैंले न त स्क्रिप्टमा डिक्टेट गर्छु र न चरित्रमा।’ 

‘लुट’ यता सौगातले अभिनयका लागि गाली नै नखाए पनि कामका लागि औधी ताली पनि पाएका छैनन् । त्यसयता केही फिल्म चले पनि उनका अधिकांश फिल्मले निर्माताको पैसा फिर्ता गराउन सकेका छैनन् । त्यसैले पछिल्लो समय उनलाई ‘अनलक्की’ अभिनेता पनि मानिन थालेको छ । तर, यसका बाबजुद पनि सौगातलाई फिल्ममा लिन चाहनेको भने कमी छैन । यो साल उनले ‘लालपूर्जा’, ‘संरक्षण’, ‘बमकाजी’ र ‘झ्यानाकुटी’को काम सकाइसकेका छन् भने आउँदो तिहारसम्मका लागि केही फिल्मलाई डेट दिइसकेका छन् । यही साल उनले नाटकमा पनि अभिनय गर्ने मन बनाएका छन् । ‘अघिल्लो साल पनि अन्त्यतिर एउटा नाटक गर्छु भन्ने सोचेको थिएँ ,पूर्व प्रतिबद्धताका कारण पाइनँ । यो सालचैं जसरी नि गर्छु,’ सौगातले भने । 

 

 

प्रकाशित: ४ जेष्ठ २०७४ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App