६ वैशाख २०८१ बिहीबार
खेल

राष्ट्रिय खेलकुदको अर्को तिथि

काठमाडौं- दुईपटक स्थगित सातौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अर्को तिथि तोकेको छ। राखेपको आइतबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद पूर्वनिर्धारित स्थान पूर्वाञ्चलमा मंसिर ७ देखि १५ सम्म गर्ने निर्णय गरेको उपाध्यक्ष लामा टेन्डी शेर्पाले जानकारी दिएका छन्।

गतवर्ष राखेपले पहिलोपटक मंसिर ११ देखि १८ गते र दोस्रोपटक फागुन १८ देखि २३ सम्म प्रतियोगिता आयोजना गर्ने तय गरेर पनि स्थगित गरेको थियो। राखेपले विभिन्न कारण देखाउँदै स्थगित गरे पनि खासमा सरकारले बजेट विनियोजन नै गरेको थिएन। गतवर्ष नाकाबन्दीका कारण पहिलोपटक स्थगित गरेको राखेपले दोस्रोपटक भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) सहभागिताको कारण देखाउँदै राष्ट्रिय खेलकुद रोकेको थियो। यो वर्ष भने सरकारले बजेटमार्फत सातौं राष्ट्रिय खेलकुदलाई २० करोड रुपैयाँ विनियोजन गरेको छ। 'गतवर्ष दुईपटक स्थगित गर्नुको मुख्य कारण बजेट नै थियो,' उपाध्यक्ष शेर्पाले भने, 'यो वर्ष २३ करोड माग गरेका थियौं। २० करोड रुपैयाँ विनियोजन भएको छ, अब समयमै राष्ट्रिय खेलकुद हुन्छ।'

राखेपका अध्यक्ष रहेका खेलकुदमन्त्री सत्यनारायण मण्डलको अध्यक्षतामा बसेको बैठकले १३ औं साग खेलकुद आयोजनाका विषयमा पनि छलफल गरेको थियो। नेपालले सन् २०१८ मा साग आयोजनाको जिम्मेवारी पाएको छ। सरकारले साग मूल आयोजक समिति गठन गरिनसकेकाले तत्काल राखेप सदस्यसचिव केशवकुमार विष्टको संयोजकत्वमा साग तयारी डेस्क स्थापना गरेर काम सुरु गर्ने निर्णय भएको छ।

पूर्वाञ्चलमा हुने राष्ट्रिय प्रतियोगितामा राखेपले गतवर्ष ३५ खेल समावेश गर्ने निर्णय गरेको थियो। सुदूरपश्चिमाञ्चलमा २०६८ मा सम्पन्न छैटौं संस्करणमा दुई तेक्वान्दोसहित ३२ खेल समावेश थिए। छैटौं राष्ट्रियमा राखेपले तेक्वान्दो संघ र तेक्वान्दो युनियनको नाममा एउटै खेलमा दुई फरक प्रतियोगिता गराएको थियो। छैटौं संस्करणका सबै खेललाई समावेश गर्दै नयाँ खेलका रूपमा सदस्यसचिव विष्ट उपाध्यक्ष रहेको सेपाकटाक्रो, फेन्सिङ, खो खो र ट्रायथलन समावेश गर्ने निर्णय गरेको थियो। राखेपले गतवर्ष दाहोरो अस्तित्व समाप्त पार्दै तेक्वान्दोको एकमात्र प्रतियोगिता गर्ने निर्णय गरेको थियो।

पाँच क्षेत्र र तीन विभागीय (सेना, प्रहरी, सशस्त्र प्रहरी) गरी ८ टोलीले राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्। पिएलएको अनुपस्थितिमा सेनालाई सबै खेलमा भाग लिने बाटो खुलेको छ। २०६५ को पाँचौं र छैटौं संस्करणमा सेनाले पिएलए सहभागी खेल बहिस्कार गरेको थियो।

प्रकाशित: ३ श्रावण २०७३ ०३:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App