७ वैशाख २०८१ शुक्रबार
खेल

मेसी बिना तयार हुनुपर्छ अर्जेन्टिना

चेन्नई- लियोनल मेसीबिना पनि अर्जेन्टिनाले महत्वपूर्ण उपाधिका लागि प्रतिस्पर्धा गर्नुपर्ने पूर्व फरवार्ड हर्नान क्रेस्पोले बताएका छन्। गत महिना कोपा अमेरिकाको फाइनलमाटाइब्रेकरमा पराजित भएपछि मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासघोषणा गरेका थिए।

पाँचपटक विश्व वर्ष खेलाडी भइसकेका मेसीले अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल गरिसकेका छन्। उनले तीनपटक सन् २००७, २०१५ र २०१६ मा कोपा अमेरिका तथा २०१४ मा विश्वकपको फाइनल खेलेका थिए। तर, सबै फाइनलमा अर्जेन्टिना पराजित भएको थियो।

यद्यपि बार्सिलोनाका फरवार्ड मेसीलाई संन्यास फिर्ता लिन दबाब परिरहेको छ। ४१ वर्षे क्रेस्पो भने मेसीलाई फर्काउनेभन्दा पनि अर्जेन्टिना नयाँ यात्राका लागि तयार रहनुपर्ने बताउँछन्। उनले २३ वर्षयता उपाधिविहीन रहेको अर्जेन्टिनाले महत्वपूर्ण उपाधिका लागि प्रयत्न गर्नुपर्ने सुझाएका छन्।

'अर्जेन्टिनाको राष्ट्रिय टोली निकै प्रतिस्पर्धात्मक छ। पछिल्ला तीन प्रतियोगिता दुई कोपा अमेरिका र एउटा विश्वकपको फाइनलहेर्ने हो भने ती सबै प्रतिस्पर्धात्मक थिए। ठूलो प्रतियोगिताको फाइनल पुग्नु आफैमा सुखद पक्ष हो,' उनले भने, 'हामी सबै प्रतियोगितामा राष्ट्रिय टोली जितेको हेर्न चाहन्छौं। तर, त्यसका लागि म मेसीलाई मात्र दोष दिन चाहन्न। त्यो सही होइन। मेसीले राम्रो खेलेका थिए। उनी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्। उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् । त्यो हार दुर्भाग्यपूर्ण थियो।'

क्रेस्पोले आशावादी हुँदै अर्कोपटक महत्वपूर्ण उपाधि जित्न सक्ने आँकलन गरे। 'यो मेसीको मात्र विषय होइन। पछिल्लो २३ वर्षयता हाम्रो राष्ट्रिय टोलीले महत्वपूर्ण उपाधि जित्न सकेको छैन। हामीले दुईपटक ओलम्पिक (२००४ र २००८ ) मा स्वर्ण पदक जितेका थियौं,' उनले थपे, 'सँगै हामीले धेरै फाइनल हार्‍यौं। तर हामी अझै प्रतिस्पर्धात्मक छौं। यसरी नै अघि बढ्ने हो। मलाई लाग्छ हामी अर्कोपटक च्याम्पियन बन्नेछौं।'

दक्षिण अमेरिकी खेलाडीलाई तुलनात्मक रूपमा कम उमेरमै युरोपियन क्लबहरूले सिकार गरिरहेको क्रेस्पोको गुनासो थियो। क्रेस्पो आफैले पनि महादेश पार गर्दै चेल्सी र एसी मिलान जस्ता सफल क्लबबाट खेलेका थिए। उनले नयाँ पुस्तामा खेलप्रतिको लगाव र धैर्य आवश्यक रहेको बताएका छन्। 'अहिले समय बदलिएको छ। ६ महिनामै कोही स्टार बन्न सक्छ। कसैले तीनलाई खरिद गर्छ,' हाल इन्डियन प्रिमियर लिग खेल्न भारतमा रहेका उनको सुझाव थियो,'अर्जेन्टिनाले त्यस्ता खेलाडीलाई रोक्न लगानी गर्नुपर्छ। '

क्रेस्पो अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो नम्बरमा छन्। नयाँ पुस्ताबारे उनले भने,'युरोप जानका लागि राम्ररी परिपक्व हुनु आवश्यक छ। तर, यही भनाइमात्र पनि शतप्रतिबत सत्य होइन। फुटबलमा धैर्य र लगाव आवश्यक पर्छ। फुटबल त्यागको होइन पूर्णरूपमालगावको खेल हो। मैले देशमात्र होइन २१ वर्षको उमेरमा महादेश नै पार गरेर खेलेको थिएँ।'

प्रकाशित: ३ श्रावण २०७३ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App