coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ओलम्पिक त्याग्दै शीर्ष खेलाडीहरू

प्राग- चेक गणतन्त्रका आठौं वरीयताप्राप्त टेनिस स्टार टोमस बर्डिच र १६ औं वरीयताकी कारोलिना प्लिस्कोभाले जिका भाइरसको कारण देखाउँदै रियो ओलम्पिकबाट नाम फिर्ता लिएका छन्। वरीयताक्रमकाशीर्ष१० स्थानमा रहेका मिलोस रोनिक र सिमोना हेलेपले स्वास्थ्यमा समस्या आउन सक्ने कारण देखाउँदै नाम फिर्ता लिएको ठिक एक दिनपछि बर्डिच र प्लिस्कोभाबाट यस्तो निर्णय आएको हो।

‘म क्षमा चाहन्छु कि गृष्मकालीन ओलम्पिक रियो दी जेनेरियोमा मेरो सहभागिता हुनेछैन,’ विम्बल्डन टेनिसको सेमिफाइनल खेलेका ३० वर्षे बर्डिचले भने, ‘किनकि ओलम्पिक हुने राष्ट्रमा जिका भाइरसको संक्रमण फैलिएकोछ। मेरो परिवार र आफन्तहरूले पनि स्वास्थ्यमा जोखिम नमोल्न सुझाव दिएका छन्।’

गत वर्षमात्र मोडल इस्टर साटोरोभासँग विवाह गरेका बर्डिचले चेक गणतन्त्रको डेभिसकप टिमबाट पनि आफ्नो नाम फिर्ता लिएका थिए।

२४ वर्षे प्लिस्कोभाले स्वास्थ्यकै कारण प्रतियोगिताबाट नाम फिर्ता लिएको स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिइन्। ‘मेरो चिन्ता भनेको जिका भाइरस नै हो,’ प्लिस्कोभाले भनिन्।

बर्डिच र प्लिस्कोभाको यो निर्णयले रडाक स्टेपनेक र बार्बोरा स्ट्रेकोभा भने खुसी छैनन्। रियो ओलम्पिकको चेक टोलीमा यी दुई खेलाडी बर्डिच र प्लिस्कोभाको जोडीका रूपमा पुरुष र महिला डबल्स खेल्ने तयारीमा थिए।

शुक्रबार विम्बल्डनका उपविजेता सातौं वरीयताका रोनिक र पाँचौं वरीयताप्राप्त रोमानियाकी हेलेपले रियो भ्रमण नगर्ने बताएका थिए। विम्बल्डनमा बेलायतका एन्डी मरेसँग पराजित भएका क्यानेडियन स्टार रोनिकले ‘कठोर मुटु’ बनाएर यस्तो निर्णय लिएको बताए।

अमेरिकाका जोन इस्नर, अस्ट्रियाका डोमिनिक थिइम, अस्ट्रेलियाका बर्नाड टोमिक निक केरगियोसका साथै स्पेनका फेलिसियानो लोपेजले पनि विभिन्न कारण देखाउँदै ओलम्पिकमा भाग नलिने बताएका छन्।

पूर्व विश्व नम्बर एक मारिया सारापोभा र बेलारुसकी भिक्टोरिया अजारेन्काले पनि प्रतियोगिता नखेल्ने भएपछि इटालीकी फ्रान्सेस्का सिमोनीले मौका पाएकी छन्।

सारापोभा डोपिङ काण्डका कारण निलम्बनमा छिन् भने अजारेन्काले आफू गर्भवती भएको भन्दै शुक्रबार रियो २०१६ मा प्रतिस्पर्धा नगर्ने बताएकी थिइन्।

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आइटिएफ)ले अगस्ट ५ बाट सुरु हुने ओलम्पिकमा जिका भाइरस संक्रमणको जोखिम न्युनीकरणका उपाय अवलम्बन गरिएको भन्दै शनिबार पुनः खेलाडी, समर्थक तथा सम्बन्धित अधिकारीहरूलाई विश्वस्त हुन आग्रह गरेको छ।

‘जिका भाइरसलाई लिएर भएको चासोलाई हामीलाई सम्मान गर्छौं। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले संक्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गरिने भन्दै सबै खेलाडी, समर्थक, सम्बन्धित निकायलाई आश्वस्त पारिसकेको छ,’ आइटिएफका अध्यक्ष डेभिड हगर्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले पनि रियो ओलम्पिक सार्नु नपर्ने भन्दै आफ्नो धारणा स्पष्ट गरिसकेकोछ।’

जिकाभाइरसकै कारण देखाउँदै गल्फका शीर्ष चार खेलाडी जेसन डे, जोर्डन स्पिथ, रोए म्याकलोरी र दुस्टिन जोन्सनले नखेल्ने निर्णय गरिसकेका छन्।

स्पेनिस स्टार राफेल नाडाल रियो ओलम्पिकका लागि अन्तिम सूचीमा परेका छन्। १४ ग्रान्डस्लाम विजेता नाडालले नाडीमा चोट लागेका कारण फ्रेन्च ओपनबाट नाम फिर्ता लिएका थिए।

नाडालले २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जितेका थिए। शीर्ष चारका नाडाल, सर्बियाली नोभाक जोकोभिच, बेलायती एन्डी मरे र स्विट्जरल्यान्डका रोजर फेडेररले एकल र डबल्स दुवैतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।

मरेले पनि ओलम्पिकमा स्वर्ण पदक जितिसकेका छन्। जोकोभिच र फेडेरर भने एकलतर्फ पहिलो ओलम्पिक स्वर्ण जित्ने लक्ष्यमा हुनेछन्। फेडेररले २०१२ मा कांस्य र जोकोभिचले २००८ मा रजत जितेका थिए।

बेलायतका मरेले भाइ जेमीसँगै मिलेर डबल्समा प्रतिस्पर्धा गर्ने भएका छन्। त्यस्तै फेडेररले भने पाँचौं वरीयताका स्टान वावरिन्कासँग मिलेर प्रतिस्पर्धा गर्नेछन्। यी दुईले २००८ मा पनि स्वर्ण जितेका थिए। नाडालले भने मार्क लोपेजसँग मिलेर पुरुष डबल्सतर्फ प्रतिस्पर्धा गर्नेछन्। जोकोभिचले सर्बियाका नेनाद जिमोनिचसँग मिलेर खेल्नेछन्।

महिलातर्फ सेरेना विलियम्स दिदी भेनससँग मिलेर चौथो ओलम्पिक स्वर्ण जित्ने लक्ष्यमा हुनेछन्।रियो ओलम्पिकमा एकलतर्फ ६४ खेलाडी र डबल्सतर्फ ३२ जोडीको सहभागिता रहनेछ।

प्रकाशित: ३ श्रावण २०७३ ०३:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App