coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

मार्शल दाइ सम्झँदा

यही वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको चुनाव सम्पन्न भएको छ । हुने/नहुने शंकाबीच ३, ४ र ६ नम्बरका तीन प्रदेशमा केही दुखद् घटनाबाहेक शान्तपूर्वक यो चुनाव सकिएको छ । पट्यारलाग्दो गरी भएका मतगणनाबाट केही नतिजा पनि आउन थालेका छन् । २० वर्षपछि भएको यो महत्वपूर्ण निर्वाचनबाट दलका राजनीतिक भविष्यबारे पनि यसले केही संकेत गर्नेछ । अन्तिम परिणामसम्म आइपुग्दा दलका अवस्थाबारे लेखाजोखा होला । तथापि बडो सकसपूर्वक भएको यस निर्वाचनबाट जनताको भने जीत भएको छ । नागरिक घर–आँगनको सरकार पाउनेमा विश्वस्त छन् । तिनले परिवर्तनको चाहना राखेका छन् । यस चुनावबाट सत्तारुढ दलप्रतिको असन्तुष्टि पनि झल्किएको छ ।

निर्वाचन हुँन बाँकी अरु ४ वटा प्रदेशका नागरिकसमेत दोस्रो चरणको निर्वाचनको व्यग्र प्रतीक्षामा छन् । कसैले चाहेर पनि अब हुने यो चुनाव रोकिने अवस्था देखिएको छैन । मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढाउनु पनि एक सकारात्मक पक्ष हो ।   

कतिपय युवा पिँढीले मार्शल दाइको लोकतन्त्रप्रतिको निष्ठा एवं योगदान थाहा नपाएका हुन सक्छन् । नेपाली राजनीति, विशेष गरेर काठमाडौंको कांग्रेसी वृत्तमा लौहपुरुष सर्वमान्य नेता गणेशमान सिंहपछि उनको नाम आउने गथ्र्याे । युवा वर्ग र काठमाडौंबासीका लागि मार्शलजुलुम गर्वसाथ लिइने एक नाम थियोे ।

यस चुनावी अभ्यासले स्थानीय लोकतन्त्रलाई चलायमान बनाउने भएको छ । बलियो भइनसकेको राष्ट्रिय राजनीतिलाई यसले दरो टेवा दिनेछ । नारामात्र होइन, वास्तविक अधिकार जनतासम्म पुग्ने यसबाट आशा गरिएको छ । यस राजनीतिक स्थितिसम्म मुलुक आइपुग्न कैयौं नागरिकले बलिदान र सहादत प्राप्त गरे । नागरिकलाई निरंकुशताका चंगुलबाट पटक–पटक फुत्काउन साहसिक कदम उठाए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मुलुकलाई दिलाए । यसबाट आमनागरिकमा खुशीको लहर छाउनु स्वभाविकै हो पनि । तथापि यस सुखद क्षणलाई लोकतन्त्रका अग्रपंक्तिका योद्घा तथा होनाहार एवं ऐतिहासिक व्यक्तित्व मार्शलजुलुम शाक्य (मार्शल दाइ)ले भने देख्न पाएनन् । किनभने यो चुनाव हुनु ९ दिनअघि (२०७३ वैशाख २३ गते) उनकोे निधन भयो ।

भौतिक शरीर यस संसारमा नरहे पनि लोकतन्त्र र मानव अधिकार क्षेत्रमा उनले पु¥याएको योगदान अविश्मरणीय छ । लोकतान्त्रिक यात्रामा उनले देखाएको अदम्य साहस एवं प्रतिबद्घता नयाँ पिढीका लागि एक प्रेरणाको स्रोत बन्नेछ । राजा महेन्द्रले २०१७ पुस १ गते प्रजातन्त्रको घाँटी निमोठ्दा उनी त्यस गलत कदमविरुद्घ काठमाडौंको सडकमा खुलेर उत्रिए । त्यसका विरुद्घ माइकिङ गर्दै हिँडे । ज्यानसमेतको परवाह नगरी सशक्त विरोध गरे । प्रजातन्त्रप्रतिको गहिरो निष्ठा उनले त्यस मौकामा देखाए । लोकतान्त्रिक इतिहासमा उनी एक अमर व्यक्तित्व बने । 

त्यसबेला मार्शल दाइ नेपाली कांग्रेस तरुण दलका सचिव थिए । बिपी कोइरालालगायत नेताहरू पक्राउ परेपछि त्यसको विरोधमा तत्कालै उनी सडकमा उत्रिए । तत्कालीन राजा महेन्द्रले नागरिक तथा राजनीतिक अधिकार अपहरण गरेको कदमको उनले कडा विरोध गरे । उनी तरुण दलका अर्का सदस्य भक्तपुर निवासी भरतगोपाल झासँग सडकमा उत्रिए । ‘शाही कदम मुर्दावाद’ भन्दै त्रसित काठमाडौं सहरका मख्य स्थान र चोकमा गाडी लिएर दुई दिनसम्म नारा लगाउँदै हिँडे । सबैलाई चकित पार्दै चर्को माइकिङ गरे । कतिपय कांग्रेसी नेता तथा मन्त्रीहरू निरंकुशताको त्रासबाट त्यस समय लुकेर बसेका थिए । यस अवस्थामा पनि उनले यस्तो अदम्य साहस देखाए । न्युरोड, असन, इन्द्रचोक, लैनचौर, सुन्धारा, त्रिपुरेश्वर, थापाथली जस्ता संवेदनशील क्षेत्रमा उनी नारा घन्काउँदै हिँडे । त्यसबेला उनको ज्यान पनि जान सक्थ्यो तर त्यसको वास्ता गरेनन् । जगत नेपालले यसबारे आफ्नो पुस्तकमा लेखेका छन्– ‘शाही कु’ को दोस्रो दिन पनि त्यसको निरन्तरता दिन पाटनतिर जान खिचापोखरीबाट धराहरा पुग्दा जिप चालक हरिनारायण र अर्का मित्र शंकर जोशीसहीत उनी गिरफ्तार भए र हनुमान ढोका पु¥याइए । त्यसपछि उनलाई नख्खु कारागारमा राखियो । 

नेपालको लोकतान्त्रिक इतिहासमा मार्शल दाइको नाम बिरलै छुट्ने गरेको छ । १७ सालको ‘शाही कु’ को विरोधमा शान्तिपूर्ण ढंगबाट जोखिम मोलेर सडकमा स्वतःस्फूर्त उत्रने निडर युवामध्ये उनी र शैलजा आचार्यसमेत हुन् । ‘नलेखिएको इतिहास’ मा राधाकृष्ण मैनालीले पनि उनलाई सम्झेका छन् । २०३३ सालमा नख्खु कारागारमा उनीसँग भेट भएको त्यसमा लेखेका छन् ।

कतिपय युवा पिँढीले मार्शल दाइको लोकतन्त्रप्रतिको निष्ठा एवं योगदान थाहा नपाएका हुन सक्छन् । नेपाली राजनीति, विशेष गरेर काठमाडौंको कांग्रेसी वृत्तमा लौहपुरुष सर्वमान्य नेता गणेशमान सिंहपछि उनको नाम आउने गथ्र्याे । युवा वर्ग र काठमाडौंबासीका लागि मार्शलजुलुम गर्वसाथ लिइने एक नाम थियोे । गणेशमानजीको छवि कायम राख्न सक्ने व्यक्तिका रूपमा उनी चिनिन्थे । उनको राजनीतिक छवि र उचाइ निकै माथिको थियो ।

तर गणेशमानजीले २०४६ पछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा मन्त्री हुँदा ‘मार्शल गनायो’ भन्ने शब्दले उनको राजनीतिक छवि एकाएक धमिलियो । जबकि लगाइएको त्यो आरोप मिथ्या भएको कुरा उनले बारम्बार भन्दै आएका थिए । यसको वास्तविक रहस्य अरु नै भएको कुरा उनले सुनाउने गरेका थिए । यसको सार्वजनिक खुलासा कुनै दिन होला पनि । तथापि उनको गुनासो थियो– ठूला नेताले जे भने पनि त्यही कुरामात्र पत्याउने विचित्रको छ हाम्रो नेपाली समाज ।

मार्शल दाइसँगको मेरो पहिलो भेट २०३६ सालको जनमत संग्रहताका भएको थियो । एक जेसिज मित्र रत्नमान शाक्यको अनुरोधमा सिमराको टिकट उपलब्ध गराइदिने सिलसिलामा उनीसँग मेरो पहिलो भेट भएको हो । त्यस समय उनलाई भेट्दा आफूलाई बडो भाग्यमानी सम्झेको थिएँ । उनको बोलीवचन र सरल व्यवहारले म अत्यधिक प्रभावित भएको थिएँ । पहिलो भेटमा उनको जस्तो व्यवहार थियो, अस्पतालको अन्तिम भेटमा पनि त्यस्तै देखेको थिएँ । उनी मृदुभाषी, सरल एवं सिद्घान्तनिष्ठ एक असल नेपाली थिए ।

मेरो दोस्रो भेट ज्ञानेश्वरस्थित उनको निवासमा २०४६ सालको जनआन्दोलनपछि भट्टराईजीको अन्तरिम मन्त्रिमण्डलमा उद्योग वाणिज्य मन्त्री हुँदा भएको हो । झापाको धुलाबारीमा उनलाई एक कार्यक्रममा प्रमुख अतिथि बनाउन निमन्त्रणा गर्ने क्रममा म भेट्न पुगेको थिएँ । त्यस समयमा उनको निवासमा यति भीड हुन्थ्यो कि मैले आफ्नो बलबुताबाट भेट्न प्रायः असम्भव देखेँ । त्यसैले त्यसबेलाका जल्दाबल्दा नेता एवं कांग्रेसका केन्द्रीय सदस्य भूविक्रम नङमाङको साहारा लिए । उनको साथमा गएपछि मात्र सहजरूपमा उनलाई भेट्न पाइयो । जनआन्दोलनपछिका शक्तिशाली मन्त्री भए पनि मेरो पहिलो भेटमा उनी जस्ता थिए त्यहाँ पनि त्यस्तै पाएँ । 

उनको राजनीतिक पाटो धेरैले केलाएका छन् । तथापि मानव अधिकार क्षेत्रमा उनले पु¥याएको योगदान कमैले बुझेका होलान् । आधुनिक विश्वको मानव अधिकार क्षेत्रलाई नेपालसँग जोड्न उनको पनि महत्वपूर्ण योगदान छ । नेपालमा एम्नेस्टी भित्राउन नूतन थपलियालाई उनले साथ दिए । एम्नेस्टी इन्टरनेसनल नेपालका सन् १९६९ मा संस्थापक सदस्यमध्येका उनी एक थिए । पञ्चायतकालका कठीन दिनमा पनि उनी यस संस्थाको अध्यक्ष भए । गत वर्ष नेपालमा एम्नेस्टीलाई संकट परेको बेलामा उनको बलियो साथ र सहयोग रह्यो । किनभने नेपालमा राजनीतिक संकट परेको बेलामा एम्नेस्टीले पुर्याएको योगदान उनले भुलेका थिएनन् । मानव अधिकार क्षेत्रमा काम गर्दा पञ्चायती शासकले उनीलगायतलाई दिएको दुःख–कष्टका कथा उनले बेलाबखत सुनाउने गरेका थिए ।

उनी २०४५ सालमा नेपाल मानव अधिकार संगठनको संस्थापक उपाध्यक्ष भए । लोकतन्त्रको आधारशीला मानव अधिकार हो भन्ने कुरामा उनी दृढ थिए । जीवनको उत्तरार्धमा समेत यी दुई संस्थाका प्रायः सबै महत्वपूर्ण कार्यक्रममा उनको सक्रिय सहभागिता रहने गरेको थियो ।  उनको मानव अधिकारप्रतिको अगाध लगाव यसबाट पनि पुष्टि हुन्छ ।  

मार्शल दाइ अब यो संसारमा रहेनन् तर लोकतन्त्र र मानव अधिकारकाप्रतिका उनको निष्ठा सधै सम्झिरहने छाैँ । उनी जति नरम र सरल देखिन्थे सिद्घान्तप्रति उनको अडान त्यति नै कठोर थियोे । उनले मूल्य–मान्यतामा कहिलै सम्झौता गरेनन् । कांग्रेसप्रति पनि उनले गुनासो गरेको कहिल्यै सुनिएन । बरु नेताहरूका अकर्मण्यता र अविवेकी निर्णयप्रति भने उनी रुष्ट देखिन्थे । हामीबीचमा मार्शल दाइ नरहे पनि उनका मार्गदर्शन एवं पे्ररणा सधैँ रहिरहनेछ । उनीप्रति साधुवाद एवं भावपूर्ण श्रद्घान्जली । भाउजू सलिना शाक्य र छोरी शिवानीसमेत परिवारजनप्रति हार्दिक समवेदना ।

प्रकाशित: ५ जेष्ठ २०७४ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App