७ वैशाख २०८१ शुक्रबार
अर्थ

अफ–सिजनमै फर्कियो पर्यटन व्यवसाय

पोखरा- यहाँका पर्यटन व्यवसायीले विदेशीपर्यटक आगमनको दृष्टिलेसेप्टेम्बर–नोभेम्बरलाई पहिलो र मार्च–मेलाई दोस्रो सिजन मान्छन्। वर्षका ६ महिना सिजन र बाँकीसमयलाई व्यवसायीले अफ–सिजन मान्दै आएका थिए। तर, विगत ५–६ वर्षदेखि अफ–सिजनमा पनि पाहुनाको आगमन बढ्न थालेेपछि व्यवसायीले त्यसलाई 'लो–सिजन' भन्दै परिभाषित गर्न थालेका थिए।

'लो–सिजन'मा पनि पोखरामा पाहुनाको आगमन बढेपछि व्यवसायी खुसी थिए। लो–सिजनको कमाइले व्यवसायीलाई राहत दिइरहेको थियो। तर, योपटक लो–सिजनमा पाहुना आगमन निकै कम रहेको उनीहरुको भनाइ छ। त्यसले आफूहरुलाई फेरि अफ–सिजनमा फर्काएको व्यवसायीले बताउन थालेका छन्। लो–सिजनमा उक्लेको पर्यटन क्षेत्र फेरि अफ–सिजनमै फर्केको व्यवसायी बताउँछन्।

भूकम्प र नाकाबन्दीका कारण पर्यटन क्षेत्रले योपटक गतिलैसँग अफ–सिजनको अनुभव गर्नुपरेको व्यवसायीको भनाइ छ। लो सिजनलाई अफ–सिजनमा फर्काउनमा भूकम्प र नाकाबन्दी कारक रहेको उनीहरु बताउँछन्। '५–६ वर्षपछि योपटक अफ–सिजनको अनुभव भएको छ। लामो समयदेखि रहेको अफ–सिजन ५–६ वर्षदेखि हराएर लो–सिजनमा उक्लेको थियो। तर, यसपटक त पूरै अफ–सिजनमा फर्कियांैं,' होटल ल्यान्डमार्कका सञ्चालक ओमप्रकाश पाण्डे भन्छन्, 'पोहोर र अहिले पूरै अफ–सिजनको अनुभव भयो। पोहोर यो बेला भूकम्पपछिको समय थियो, अलिक फरक थियो, धेरथोर सभासम्मेलन भइरहेका थिए। त्यसले केही साथ दिएको थियो। तर, यसपालि पूरै सुनसान छ। विदेशीमात्र नभई स्वदेशी पाहुना पनि देख्न मुस्किल छ।'

यो सिजनमा आउनुपर्ने भारतीय र चिनियाँ पर्यटक नआएकाले बढी अभाव खड्किएको उनले बताए। परारसम्म यो सिजनमा गर्मी छल्न र मुक्तिनाथ दर्शन गर्न आउने भारतीय पर्यटक बढी हुन्थे। चिनियाँको आगमन पनि उल्लेखनीय थियो। त्यसले पर्यटन क्षेत्रमा ठूलै राहत मिलेको थियो। 'यसपटक सबैतिर सुनसान छ। भारतीय र चिनियाँ पर्यटक आएनन्।हामीले बिर्सिएको अफ–सिजनको अनुभव फेरि ब्युँतिएको छ,' पाण्डेले भने।

व्यवसायीका अनुसार यो बेला यहाँका होटलले निकै कम पाहुना छन्। 'आक्कलझुक्कल ८–१० कोठामा पाहुना पुग्छन, त्यो पनि दिनहुँ हुँदैन,' ७५ कोठा रहेको ल्यान्डमार्कका सञ्चालक पाण्डेले भने, 'खर्च धान्नै मुस्किल छ। पाहुना देख्नसमेत नपाउने अवस्था छ।' विभिन्न मुलुकमा भइरहेको विस्फोट, आन्दोलन, हत्या, हिंसाले पनि पर्यटकलाई निर्धक्क घुम्न सक्ने वातावरण नदिएको व्यवसायीको बुझाइ छ।

'विभिन्न मुलुकमा निरन्तरजसो भइरहेका आतंकवादी आक्रमणले पर्यटकलाईतर्साएको छ,' उनले भने, 'सबैतिर आतंक मच्चिँदा पर्यटकआगमन सुखद हुन सकेको छैन। नेपालमा केही घटना नघटेपनि बाहिरको प्रभाव छ।'व्यवसायीका अनुसार परारसम्मयो बेला यहाँका होटलको अकुपेन्सी कम्तिमा ५० प्रतिशत हुन्थ्यो। ५० प्रतिशतभन्दा माथि अकुपेन्सी हुँदा होटलको सञ्चालन खर्च धान्ने व्यवसायीको भनाइ छ।

नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष तथा ब्ल्याक एन्ड ह्वाइट रेस्टुरेन्टका सञ्चालक दील गौतम पनि यो बेला पाहुना अभावमा सुनसान रहेको बताउँछन्। 'रेस्टुरेन्ट बन्द गर्दा नराम्रो सन्देश जाने भएकाले मात्र हो। नत्र यो बेला रेस्टुरेन्ट चलाउँनुभन्दा बन्द गर्दा बढी फाइदा छ,' उनले भने, 'पाहुना छैनन्, तैपनि पूरै कर्मचारी पालेर बस्नुपरेको छ। कतिपय सामान छिटो बिग्रने भएकाले पनि यो बेला बन्द गर्न आँट नगरेका हौं। नत्र चलाउने अवस्था छैन।'

रेस्टुरेन्टले अहिले सञ्चालन खर्चसमेत पुर्‍याउन नसकेको उनले बताए। 'कामदारलाई बैंक ऋणबाट मासिक तलब खुवाउने हो। आगामी सिजनमा पाहुना आउनेमा आशावादी छौं। त्यही आशाका साथ अहिले कामविहीन अवस्थामा पनि कामदारलाई राखेका छौं,' उनले भने, 'कामदार नराख्ने हो भने पछाडि पाउन मुस्किल हुन्छ। अफ–सिजनमा काम पुगेन भनेर हटाउने, अनि सिजनका बेला काममा आउ भनेर भएन।'

पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली पनि हराइसकेको अफ–सिजन यो पटक अनुभव गर्नुपरेको बताउँछन। व्यवसायीका अनुसार अफ–सिजनमा पाहुना अभाव हुँदा लेकसाइडका कतिपय रेस्टुरेन्ट बन्द नै हुन्थे। त्यस्तै होटलमा पनि आन्तरिक मर्मतसम्भार चल्थ्यो। अफ–सिजनले पाहुना नहुँदा कर्मचारीलाई समेत अस्थायी बिदा दिइन्यो। तर, यो पटक रेस्टुरेन्ट बन्द नै नभएपनि खोलेर बस्नलायक अवस्था नरहेको पराजुलीले बताए। 'रेस्टुरेन्ट बन्द नभएका मात्र हुन। खोल्ने र कमाउने अवस्था छैन। सञ्चालन खर्च समेत पुर्‍याउन सकिएको छैन,' पराजुलीले भने, 'व्यवसायीले बढो कठिनका साथ अहिले रेस्टुरेन्ट खोलेका छन्।'

व्यवसायीले केहीवर्षदेखि 'अफ–सिजन' बिर्र्सदै गएपनि भूकम्प र नाकाबन्दीले पोहोरदेखि पहिलेकै अवस्थामा फर्काएको पराजुली बताउँछन्। '६ महिना सिजन र त्यत्ति नै समय लो–सिजन बनेको थियो। यहाँको पर्यटनको अफ–सिजन हटेर लो–सिजनमा पुगेको थियो। तर, पोहोरदेखि अफ–सिजनमै फर्कियौं,' उनले भने। उनका अनुसार यो बेला पोखराका होटलको अकुपेन्सी २० प्रतिशत हाराहारीमा छ। पाहुनाको यो आगमन न्यून रहेको उनले बताए। 'यतिबेलाको कमाइले व्यवसायको खर्च नै धान्दैन। तैपनि व्यवसायीले जसोतसो चलाएका छन्। आगामि सिजनदेखि सुधारा हुनेमा व्यवसायी आशावादी छन्,' उनले भने।

 

प्रकाशित: ३ श्रावण २०७३ ०४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App