coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्याङ्जाका नगर हाक्ने पाँच नेतृ

स्याङ्जा – स्याङ्जाका पाँचवटा नगरपालिकामा महिला उम्मेदवारले मुख्य पदमा बाजी मारेका छन् । स्थानीय तहको संरचनामा स्याङजामा पाँच नगरपालिका र ६ वटा गाउँपालिका छन् । ती सबै नगरपालिकामा महिला उम्मेदवार प्रमुख र उपप्रमुखमा विजयी भएका हुन् । 

पुतलीबजार नगरपालिकाका प्रमुखमा एमाले उम्मेदवार सीमा क्षेत्रीले बाजी मार्दै मेयर बनेकी छिन् । अन्य चारवटा नगरपालिकाको उपमेयरमा महिला उम्मेदवार चुनिएका छन् । गल्याङ नगरपालिकामा एमालेकी देवी थापामगर उपप्रमुख बनिन् । चापाकोट नगरपालिकामा कांग्रेसकी बिमला श्रेष्ठ र भीरकोट नगरपालिकामा पनि कांग्रेसकै सीमा कर्माचार्य क्षेत्री उपप्रमुख बनेका छन् । त्यस्तै वालिङ नगरपालिकामा कांग्रेसकै कल्पना तिवारीले उपप्रमुखमा बाजी मारिन्। 

‘एउटा जिल्लाका पाँचवटै नगरपालिकामा महिला नेतृत्व स्थापित हुँदा हामीलाइ गर्व लागेको छ,’ वालिङ बहुमुखी क्याम्पसकी प्रमुख रिना रानाले भनिन, ‘आधा जनसंख्याको विकास नभएसम्म अन्यत्र हुँदैन । महिलाको यो सफलताले हामीलाई र समग्र महिलालाई नै खुसी बनाएको छ । आधा भन्दा बढी जनसंख्याको प्रतिनिधित्व भएको अनुभव हामीले गरेका छौं ।’

पुतलीबजार नगरपालिकाका प्रमुख चुनिएकी सीमाले नगरपालिकाको वर्तमान अवस्थामा उल्लेख्य सुधार गर्ने, विधिको शासन स्थापित गर्ने, भौतिक विकासबाट हुने नकारात्मक असर न्यूनिकरण गर्दै दीगो, नतिजामूलक र जनमुखी विकासका खाकाहरु कोर्ने योजनो कोरेकी छिन् । ‘शासन र विकासमा आम नागरिकको अर्थपूर्ण र प्रभावकारी सहभागितामा प्राथमिकता दिनेछु’ उनले भनिन् । 

गल्याङ नगरपालिकाको उपमेयर बनेकी देवी थापामगरको योजना पनि विकासमा महिलाको सहभागिता बढाउने छ । नगरका जनतालाई सहज हुनेगरि आफुले काम गर्ने उनको बाचा छ । ‘गाउँगाउँमा जाँदा खानेपानीको समस्या छ । खानेपानीको समस्या हुँदा उनै महिलाले दुख पाएका छन्,’ उनले भनिन, ‘म उनै डोकोमा गाग्रो राखेर पानी बोक्दै गरेका महिलाको पीडासँग निकट छु । उनै महिलालाई सघाउन आएकी हुँ ।’ त्यसबाहेक युवा रोजगार बढाएर विदेश जानबाट रोक्ने पनि उनको लक्ष्य छ । 

अर्काे चापाकोट नगरपालिकामा उपमेयर बनेकी बिमला श्रेष्ठको योजना समाज रुपान्तरणमा खट्ने रहेको छ । समाजको रुपान्तरण, बिसगंति विरुद्ध लागेर समाजमा सचेतना फैलाउन आफू लाग्ने उनले बताइन । जनसामूहिक प्राविको शिक्षकबाट राजीनामा दिएर निर्वाचनमा होमिएकी उनी महिला संघ चापाकोट नगरको अध्यक्ष पनि हुन् । ‘महिला भएकोले मेरो पहिलो प्राथमिकता महिला सशक्तिकरणमा हुनेछ,’ उनले भनिन, ‘गाउँको विकासमार्फत महिलालाई सघाउने योजना छ ।’

भीरकोट नगरपालिकामा उपप्रमुख बनेकी सीमा कर्माचार्य भर्खर बनेको नगरपालिकाको विकासमा सक्रिय हुने बताउँछिन् । खानेपानी, बाटो, विद्यालय, स्वास्थ्यचौकीको समस्यालाई समाधान गरेर जनतालाई गाउँमै सुविधा दिलाउने उनको योजना छ । ‘महिलाले केही गर्न सक्छन् भन्ने सोचेर नै मतदाताले मलाई जिताएका हुन्,’ उनले भनिन, ‘मप्रति भिरकोटका कुनैपनि राजनीतिक आस्था बोकेका महिलाको भरोसा छ । मैले उम्मेदवारी दिएपछि मलाई विश्वास गरेर अरु दलले समेत महिलालाई उठाएनन् । त्यसले मलाई यो ठाउँमा ल्याएको हो ।’ 

वालिङ नगरपालिकाकी उपप्रमुख बनेकी कल्पना तिवारी महिला संघकी जिल्ला अध्यक्ष समेत हुन् । उनले वालिङलाई स्मार्ट सिटी बनाउने सपना देखेकी छिन् । त्यसबाहेक ग्रामिण क्षेत्रका महिलाको विकासमा हरदम सहयोग गर्ने तिवारीको योजना छ । ‘गाउँको विकासमा चासो दिने हो । त्यसमा महिला सहभागितालाई पहिलो प्राथमिकता राख्नेछु,’ उनले भनिन्, ‘महिलालाई अग्रणी भूमिका दिलाउने गरी काम गर्नेछु । मतदाताको मत खेर नजानेगरी मैले गाउँको विकासमा सहकार्य गर्नेछु ।’

प्रकाशित: ५ जेष्ठ २०७४ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App