७ वैशाख २०८१ शुक्रबार
राजनीति

संशोधन र संख्या थप्न सहमति जुटेन

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा), नेपालले संविधान संशोधन र तराई–मधेसमा स्थानीय तहको संख्या बढाएपछि मात्रै दोस्रो चरणको स्थानीय निर्वाचन गर्नुपर्ने पूर्ववत् अडान दोहोर्‍याएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार वालुवाटारमा डाकेको प्रमुख ७ दलको बैठकमा राजपा नेपालले पूर्ववतः अडान दोहोर्‍याएको हो । बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनअघि यी दुवै काम गर्न नमिल्ने तर्क गरेपछि कुनै निर्णय हुन सकेन् ।

‘हामीले चुनावमा जानुअघि संविधान संशोधन गर्नुपर्छ र तराई–मधेसमा स्थानीय तहको संख्या पनि बढाउनुपर्छ भन्यौं तर एमालेले मानेन,’ राजपा अध्यक्षमण्डलका सदस्य अनीलकुमार झाले नागरिकसँग भने, ‘अब प्रस्ट भयो, एमालेले सहमति हुन दिने देखिएन ।’ उनका अनुसार राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले सहमतिको आशामा वालुबाटार आएको तर निराशा भएर फर्किनुपरेको भन्दै बैठकमा टिप्पणी गरेका थिए ।

प्रधानमन्त्री दाहालले बैठकमा संविधान संशोधन, आगामी वर्षको बजेट, स्थानीय तहको संख्या बढाउने र दोस्रो चरणको निर्वाचनबारे असन्तुष्ट दलसहितको धारणा बुझेका थिए । यसैसाता राजीनामा दिएर सरकारबाट बाहिरिने तयारी गरेका प्रधानमन्त्री दाहालले सहमतिको वातावरण बनाउन कोसिस भने जारी राख्ने जनाएका छन् ।

बैठकमा सहभागी एमाले नेता भीम रावलले निर्वाचनको बीचमा बजेट ल्याउन नहुने तर्क राखेका थिए। निर्वाचन मिति घोषणा भइसकेपछि स्थानीय तहको संख्या बढाउन नमिल्ने पार्टीको धारणा पनि उनले बैठकमा राखेका थिए ।

संविधान संशोधन गर्ने प्रस्तावमा कांग्रेसको समर्थन छ । प्रधानमन्त्री दाहालले संविधान संशोधन गर्ने र स्थानीय तहको संख्या बढाउन प्रतिपक्षी दलसहितको सहमति जुटाउन बैठक राखेका थिए । 

 राप्रपाले भने बैठकमा संविधान संशोधन गर्ने सरकारको प्रस्तावलाई पार्टीले समर्थन गर्ने दोहो¥याएको थियो ।   ‘सरकारले संसद्मा पेस गरेको  संशोधन प्रस्तावलाई पास गराउन राप्रपा मञ्जुर छ भन्ने कुरा हामीले बैठकमा राख्यौं,’ राप्रपा नेता विक्रम पाण्डले नागरिकसँग भने, ‘तर, त्यसमा संशोधनसहित आउने प्रस्तावलाई भने समर्थन गर्न नसकिने धारणा राखेका छौं ।’ उनका अनुसार दाहाल सरकारमा रहेका बेला राप्रपाको सहमतिमा आएको सो संशोधन प्रस्ताव पास गर्ने सबालमा पार्टी एकरत्ति पनि विचलित नभएको बैठकमा प्रस्ट्याइएको छ ।

प्रकाशित: ५ जेष्ठ २०७४ १५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App