८ वैशाख २०८१ शनिबार
कला

निखिलको 'कमिटमेन्ट' हिन्दी र अंग्रेजीमा पनि डब हुने

काठमाडौं- दुई वर्षअघि फिल्म 'भैरव'बाट निर्देशनमा डेब्यु गरेका अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म 'कमिटमेन्ट : सिक्स्टी आवर्स'को पनि निर्देशन गर्ने भएका छन्। उनको होम प्रोडक्सन निखिल उप्रेती प्रोडक्सनको ब्यानरले प्रामा इन्स्टुमेन्टसँग सहकार्य गर्दै निर्माण गर्न लागेको फिल्ममा बलिउडका कलाकारको समेत अभिनय रहनेछ।

राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक तथा अभिनेता निखिलले फिल्ममा मुम्बईमा अलपत्र परेकी नेपाली युवतीको उद्धार गर्ने कथा रहने बताए। 'यात्राका क्रममा आइपर्ने आरोह अवरोहका वरिपरि फिल्म घुम्नेछ,' निखिलले भने, 'फिल्मका लागि लिड अभिनेत्री भने फाइनल भइसकेको छैन। भूमिका सुहाउँदो अभिनेत्रीको खोजी गरिरहेका छौं।' निखिलले हिन्दी, नेपाली र अंग्रेजी भाषाको प्रयोग हुने फिल्म विशुद्ध नेपाली स्वादको हुने जनाए।

निखिलको शीर्ष भूमिका रहने फिल्ममा विजय लामासँगै बलिउड फिल्म 'वेलकम ब्याक', 'हाउसफूल २', 'बम्बे टू गोवा', 'सावन' सहित सयभन्दा बढी फिल्ममा अभिनय गरेका रञ्जित, अमिताभ बच्चनसँग 'वजिर' मा देखिएका सियाजी शिंदे, 'राउडी राठौर', 'लाल सलाम', 'सरकार' लगायतका फिल्ममा काम गरेका अनन्त जोग, अली जाफर र नेन्सीको पनि अभिनय रहनेछ।

फिल्म मुम्बईसहित उत्तरप्रदेश, मध्यप्रदेश, काठमाडौं, नेपाल–भारत सिमाना, थाइल्यान्ड, सिंगापुर र अमेरिकामा खिचिनेछ। आगामी जुन ५ बाट फ्लोरमा जाने फिल्ममा एक्सन डिजाइनको काम पनि निखिलले नै गर्दैछन्।

फिल्ममा डा. कृष्णहरि बरालको शब्द, एड्रियन प्रधानको संगीत, सौरभ लामाको छायांकन रहनेछ।

प्रकाशित: ८ जेष्ठ २०७४ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App