७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेसको 'अनपेक्षित परिणाममा देउवा दोषी'

काठमाडौं- स्थानीय तहको पहिलो चरणको निर्वाचनमा पार्टीको अनपेक्षित परिणाम आएको निष्कर्ष निकाल्दै यसमा सभापति शेरबहादुर देउवा जिम्मेवार भएको आरोप रामचन्द्र पौडेल पक्षधर नेताहरूले लगाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रममा देउवाले लिएको गलत नीतिका कारण सहरी क्षेत्रमा बस्ने मध्यमार्गी मतदाता कांग्रेससँग बिच्किएको निष्कर्ष पौडेल पक्षको छ।

पौडेल पक्षधर नेताले सोमबार साँझ पौडेलको सम्पर्क कार्यालय अनामनगरमा बैठक बसी पहिलो चरणको चुनाव परिणामबारे समीक्षा गरेका थिए। समीक्षामा गाउँमा कांग्रेसको पक्षमा राम्रो परिणाम आएको, सहरी क्षेत्रमा भने अनपेक्षित भएको  निष्कर्ष नेताहरूले निकालेका थिए।

राजदूत प्रकरण, आइजिपी प्रकरण, प्रधानन्यायाधीशमाथि लगाइएको महाभियोगलगायतका कारण सहरी क्षेत्रमा कांग्रेसको पक्षमा भोट नआएको पौडेल पक्षधरले आरोप छ। आइजिपी तथा महाभियोग प्रकरणमा पार्टी सभापति देउवाले लिएको अडान  गलत भएको उनीहरुले जनाएका छन।  गलत नीति लिएकोमा नेपाली कांग्रेसले दोस्रो चरणको चुनावअघि नै  जनतासमक्ष माफी माग्नुपर्ने पनि उनीहरूले जनाएका छन। जनतासमक्ष माफी नमागेमा दोस्रो चरणको चुनावमा कांग्रेसको स्थिति झनै कमजोर हुने उनीहरूले दाबी गरेका छन्।

प्ाार्टी सभापतिबाट पहिलो चरणको चुनावमा टिकट वितरणमा मनोमानी भएको र तालमेल गर्दा पनि स्थानीय जनताको भावनालाई कुल्चिएको आरोप पौडेल पक्षधरले लगाएका छन्। टिकट वितरणमा क्षेत्रीय तथा जिल्ला समितिले सिफारिस गरी पठाएको नाममा समेत पार्टी सभापतिले मनोमानी गरेको उनीहरुको दाबी छ। चुनाव  जित्ने उम्मेदवारलाई भन्दा पनि सभापतिसँग निकट रहेकालाई प्राथमिकतामा राखिएको आरोप उनीहरूले लगाएका छन्।

पौडेल पक्षधर नेताले तत्काल केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग गरेका छन्। उनीहरुले तालमेलबाट माओवादीलाई मात्रै फाइदा भएको निष्कर्ष पनि निकालेका छन्। बैठकमा सहभागी नेता बलबहादुर केसीले भने, 'परिणाम अनपेक्षित आउनुमा कोको जिम्मेवार भए, यसको समीक्षा हुनुपर्छ र दोस्रो चरणको चुनावमा ती सबै कमजोरी हटाइनुपर्छ।'

बैठकमा सहभागी अर्का नेता दिलेन्द बडूले पहिलो चरणको चुनावमा भएका कमीकमजोरीको समीक्षा भएको बताए। 'हामो तर्फबाट कमीकमजोरी भएका छन्। तिनलाई सच्याएर दोस्रो चरणको चुनावमा जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ,' बडूले भने। बैठकमा नेता पौडेल, महामन्त्री, शशांक कोइराला, चीनकाजी श्रेष्ठ, धनबहादुर गुुरुङ, किरण यादव, कल्याण गुरुङ, हृदयराम थानीलगायत सहभागी थिए।

प्रकाशित: ९ जेष्ठ २०७४ ०२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App