८ वैशाख २०८१ शनिबार
राजनीति

दलहरु चुनावी समीक्षामा

काठमाडौं- स्थानीय तहको पहिलो चरणको चुनावमा अनेपक्षित परिणाम आएको निष्कर्ष निकालेका दलहरू पराजयको कारण खोज्न थालेका छन्।  नेपाली कांग्रेस, राप्रपा र नयाँ शक्ति पार्टीले स्थानीय तहको पहिलो चरणको चुनाव अनेपक्षित भएको निष्कर्ष निकालेका छन्। माओवादीले परिणाम अनेपक्षित भएको निष्कर्ष ननिकाले पनि पार्टीभित्र असन्तुष्टि बढेको छ।

कांग्रेसका विभिन्न जिल्लाबाट पराजित उम्मेदवारले पार्टीभित्रै अन्तरघात भएको भन्दै अन्तरघातीमाथि कारबाही गर्न सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, र कोषाध्यक्ष सीतादेवी यादवसमक्ष दुई दर्जनभन्दा बढी मौखिक उजरी परेको छ। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले काठमाडौं, भक्तपुर, नुवाकोट, चितवन, धादिङ, बागलुङ, स्याङ्जा, रसुवा, रामेछापलगायतका जिल्लाबाट सभापतिलाई  मौखिक उजुरी आएको बताए। 'केही उजुरी टेलिफोनबाट आएका छन् भने केही उजुरी सभापतिलाई भेटेरै दिइएका छन्,' भानुले भने।

स्रोतका अनुसार उजुरी दिनेले अन्तरघात गर्ने नेताहरूको नामै तोकेका छन्। भक्तपुरमा मध्यपुर ठिमी नगरपालिकामा नगरसभापति सुरेश श्रेष्ठले मध्यपुर ठिमीमा अन्तरघात भएको निष्कर्ष निकाल्दै अन्तरघातीमाथि छानबिन गर्न नगर सचिव राजेश मानन्धरको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन्। मध्यपुर ठिमीमा पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, पूर्वउपमेयर मुरारी आचार्यलगायतका नेताहरूले अन्तरघात गरेको आरोप मध्यपुर कांग्रेसका नेताहरूले लगाएका छन्।

नुवाकोटमा अर्जुननरसिहं केसी र रामशरण महतमाथि अन्तरघातको आरोप लगाइएको छ। केसी समर्थकले महतमाथि र महत समर्थकले केसीमाथि अन्तरघात गरेको आरोप लगाउँदै अन्तरघातीमाथि कारबाही गर्न पार्टी सभापतिलाई आग्रह गरेका छन्। रामेछापमा संासद आङटावा शेर्पा र जिल्ला सभापति लवश्री न्यौपानेमाथि अन्तरघातको आरोप लागेको छ।

कांग्रेस नेतृत्वले यसपटक गोरखा, नवलपरासी, सल्यानमा पार्टीले राम्रो परिणाम ल्याएको निष्कर्ष निकालेको छ भने डोल्पा, रुकुम, नुवाकोट, हुम्ला, स्याङ्जा, बागलुङ, काठमाडौं, चितवन, ललितपुर, कास्कीलगायतका जिल्लामा  पार्टीले अनेपक्षित परिणाम ल्याएको निष्कर्ष निकालेको छ। डोल्पा र रुकुममा कांग्रेसको पक्षमा  परिणाम शून्य छ। हुम्लामा पार्टीले राम्रो परिणाम ल्याउन नसक्नुमा त्यहाँका नेता जीवन शाहीको भूमिका कमजोर रहेको हुम्ला कांग्रेसका नेताहरूले आरोप लगाएका छन्।

चुनाव परिणामबारे अन्तिम समीक्षा गर्न मंगलबार पार्टी कार्यालय सानेपामा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ। 'पहिलो चरणको चुनावको परिणामबारे पार्टीभित्र गम्भीर समीक्षा गर्नुपर्छ। चुनावमा त्रुटि रहेछन् भने सच्याएर दोस्रो चरणमा जानुपर्छ', कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भने। कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले मंगलबार बस्ने कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पहिलो चरणको चुनावको अन्तिम समीक्षा गर्ने बताए।

म्ााओवादी केन्द्रभित्र चुनाव परिणामबारे  केही नेताहरूको भूमिकाप्रति असन्तुष्टि बढेको पार्टी स्रोतको भनाइ छ। शीर्ष नेता नारायणकाजी श्रेष्ठको कमजोर भूमिकाका कारण उनको गृहजिल्ला गोरखामा पार्टीले अनपेक्षित परिणाम ल्याएको भन्दै माओवादी केन्द्रका केही नेताले असन्तुष्टि पोख्न थालेका छन्।

माओवादी केन्द्रका नेताहरूले काठमाडांै महागरपालिकाका मेयरका उम्मेदवार कमजोर भएको धारणा व्यक्त गरेका छन्। ललितपुरमा उम्मेदवार छनोट गर्दा त्रुटि देखिएको माओवादी केन्द्रका नेताहरूको बुझाइ रहेको स्रोतको भनाइ छ।

यसैगरी चुनावको समीक्षा गर्न राप्रपाले सोमबार बोलाएको कार्यसम्पादन समिति बैठकले पहिलो चरणको चुनाव अनेपिक्षत भएको निष्कर्ष निकालेको छ। बैठकपछि पार्टीले जारी गरेको विज्ञप्तिमा परिणाम अनपक्षित भएको उल्लेख छ। पहिलो चरणको चुनाव परिणामबारे छानबिन गर्न महामन्त्री धु्रवबहादुर प्रधानको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ। पार्टीका नेता पशुपतिशमशेर राणाले पहिलो चरणको चुनावमा व्यापक अन्तरघात भएको जनाएका छन्।

राणाले पहिलो चरणको चुनावमा राप्रपाले सोचजस्तो परिणाम ल्याउन नसक्नुको चार कारण देखाएका छन्। पार्टीको चुनाव चिह्न हलो भएको भए पार्टीले यस्तो परिणाम भोग्नुनपर्ने उनको दाबी छ। 'चुनाव चिह्न हलो छाडेर गाई छानियो। पार्टी पराजय हुने यो एउटा कारण हो। यसैगरी सिन्धुपाल्चोक लगायतका विभिन्न ठाउँमा व्यापक अन्तरघात भयो। यो पनि अर्को कारण हो,' राणाले भने, 'जुन समय राप्रपाले सरकार छाड्यो, त्यो समयमा सरकार छाड्नु उपयुक्त थिएन।' पार्टीबाट चुनाव लडेका उम्मेदवारलाई केन्द्रले जसरी साधनस्रोत उपलब्ध गराउनुपर्थ्यो, त्यसअनुसार उपलब्ध नगराएको उनले बताए। 

राप्रपाका अर्का एक शीर्ष नेताले भने राप्रपाले पराजय भोग्नुमा राप्रपाबाट प्रकाशचन्द्र लोहनीलगायतका केही केन्द्रीय नेताहरूले राप्रपा छाडी नयाँ पार्टी एकीकृत रापप्रा (राष्ट्रवादी) बनाएपछि पार्टीलाई घाटा लागेको निष्कर्ष निकालेका छन्। यसबारेमा राणाले भने केही बोलेनन्। पुरानो राप्रपा नेपालका नेताहरूले भने चुनाव चिह्नका कारण पार्टीलाई नोक्सानि नभएको दाबी गरेका छन्। 'पार्टी पराजय हुनुमा चुनाव चिह्नको कारण होइन। गाई चिह्नप्रति जनताको समर्थन छ',  राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले भने।

राप्रपाले अन्य पार्टीसन्ग गरेको तालमेल पनि पार्टीमन लागि फलदायी नभएको श्रेष्ठले बताए । उनले भने, 'पहिलो चरणको चुनाव हाम्रा लागि अनेपक्षित हुनको कारण खोज्दैछांै,' उनले भने। दोस्रो चरणको चुनावमा पार्टीले पहिले भन्दा बढी राम्रो परिणाम ल्याउने पनि उनले दाबी गरे। उनले भने, 'तुलनात्मक रूपमा हाम्रो संगठन कमजोर भएको ठाउँमा पहिलो चरणको चुनाव भएको छ। दोस्रो चरणको चुनाव हुने ठाउँमा हाम्रो संगठन पहिलेको भन्दा राम्रो छ।' 

राप्रपाका शीर्ष नेताहरूले चुनावका बेला राप्रपाका केही  केन्द्रीय नेताहरू प्रचारप्रसारमा नखटी निष्त्रि्कय भएर बसेको निष्कर्ष निकालेका छन्। दोस्रो चरणको चुनावमा राप्रपाका सबै केन्द्रीय नेताहरूलाई सक्रिय बनाउँदै जिल्लाजिल्लामा प्रचारप्रसारमा खटाउने नीति उनीहरूले बनाएका छन्। राप्रपाबाट पहिलो चरणको चुनावमा उम्मेदवार भएका पार्टीका नेताहरूले केन्द्रबाट आफूहरूले सहयोग नपाएको गुनासो राखेको स्रोतको भनाइ छ।

प्रकाशित: ९ जेष्ठ २०७४ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App