coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एकै दिन १०१ आरोही सगरमाथा शिखरमा

काठमाडौं- अनुकूल मौसमको फाइदा उठाउँदै सोमबार एकै दिन स्वदेश तथा विदेशका १ सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरिरहेका सयौं आरोहीमध्ये आइतबा ती आरोहीले शिखरमा विजयी झन्डा फहर्‍याएका हुन्। यसअघि बेलायती गोरखा सैनिकका तीन सदस्यसहित १४ नेपाली, विभिन्न दलका ३३ जना, गत शनिबार करिब तीन दर्जन र आइतबार करिब १ सय आरोही शिखर पुगेका थिए।

'विभिन्न दलमा आबद्ध एक सय एक आरोहीले सर्वोच्च शिखरको सफल आरोहण गरेका छन्,' पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले सोमबार नागरिकसँग भने, 'सबैजनाले साधारण रुट (दक्षिणपूर्वी मोहोडा) बाट सफल आरोहण गरेका हुन्। तीमध्ये ४५ जना विदेशी तथा ५६ जना नेपाली आरोही छन्।'

उनका अनुसार राजधानीको शेर्पा खाङ्ग्री ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएको दलका १४ विदेशी तथा १७ नेपाली, एक्सपिडिसन हिमालय डटकमको दलका पाँच विदेशी र सात नेपाली, बायुल एड्भेन्चरको दलका १२ विदेशी र १५ नेपाली, एसियन ट्रेकिङ प्रालिको दलका दुई विदेशी र तीन नेपाली, हिमालयन गाइड्सको दलका आठ विदेशी र नौ नेपाली तथा एचएडीको दलका चार विदेशी र पाँच नेपालीले सफल आरोहण गरेका हुन्।

मंगलबार पनि एकै दिन दर्जनौं आरोही शिखर पुग्ने गरी तयारी अवस्थामा रहेको उनले बताए। ती आरोही सोमबार रातिबाट शिखरतिर उकालो लाग्ने उनले जानकारी दिए। पछिल्लो तथ्यांकअनुसार यसपालि हालसम्म करिब २ सय आरोही शिखर पुगिसकेका छन्।

विभिन्न देशबाट आइपुगेका ३ सय ७३ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ४ सयसमेत गरी करिब ८ सय आरोहीमध्ये अधिकांश अहिले ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरदेखि चौथो क्याम्पसम्म उपयुक्त मौसम कुरेर बसिरहेका छन्। बढीमा एक साताभित्र अधिकांश आरोही शिखर पुगिसक्नेछन्।

पर्यटन मन्त्रालयले खटाएका सातजना 'आइसफल डाक्टर' (स्थानीय आरोही) ले चुचुरोसम्मै डोरी राखेपछि आरोहण सुरु भएको थियो। सामान्यतयाः जेठ पहिलो साताबाट दोस्रो साताभित्र अधिकांश आरोही शिखर पुग्ने गर्छन्। उनीहरू चैत दोस्रो सातादेखि सगरमाथातर्फ जाने गर्छन्। त्यसपछि आधारशिविर पुगेर झन्डै एक महिनासम्म त्यहीँ बसेर त्यहाँको वातावरणसँग आफूलाई घुलमिल (एक्लिमेटाइज) गराउँछन्। आधारशिविरबाट पहिलो क्याम्प, दोस्रो क्याम्प जाने र फर्केर आधारशिविर आउनजाने गरिरहन्छन्। अनुमति पाएको ७५ दिनभित्र सगरमाथा आरोहण गरिसक्नुपर्ने सरकारी नियम छ।

२०७१ वैशाख ५ गते आएको भयानक हिमपहिरोमा परी १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइेत भएपछि सरकारले नै आरोहण गतिविधि स्थगन गरेको थियो।

त्यस्तै २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि उत्पन्न हिमपहिरोमा परेर १६ जना गाइडको मृत्यु भएको थियो। त्यस घटनापछि पनि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा आरोहण स्थगन भएको थियो। 

पहिलो घटनालगत्तै सरकारले अनुमति लिइसकेर पनि आरोहणमा जान नपाएका सबै आरोहीलाई आगामी पाँच वर्षभित्र जहिले आए पनि आरोहणमा जान दिने निर्णय गरेको थियो।

पर्यटन विभागका अनुसार प्रत्येक विदेशी आरोहीले दक्षिणपूर्वी मोहोडा (नर्मल रुट) बाट वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न ११ हजार अमेरिकी डलर (११ लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि यस्तो शुल्क २५ हजार डलर (२५ लाख रुपैयाँ) थियो। नर्मल रुटबाहेक सगरमाथा आरोहण गर्न प्रत्येक विदेशी आरोहीले १० हजार डलर (१० लाख रुपैयाँ) रोयल्टी तिर्नुपर्छ। यसअघि १५ हजार डलर (१५ लाख रुपैयाँ) थियो।

त्यसैगरी नर्मल रुटबाट सगरमाथा आरोहण गर्न विदेशी आरोहीले शरद ऋतुमा प्रतिव्यक्ति ५ हजार ५ सय डलर तथा शिशिर र वर्षामा २ हजार ७ सय ५० डलरमात्र तिरे पुग्छ। यसअघि १२ हजार ५ सय र ६ हजार २ सय ५० डलर तिर्नुपर्थ्यो। यो रुटबाहेक शरदमा ५ हजार तथा शिशिर र वर्षामा २ हजार ५ सय डलर लाग्छ। यसअघि २० हजार र १० हजार डलर छ।

सरकारले वसन्त ऋतुमा सगरमाथा जाने एकजनालाई २५ हजार डलर, दुईलाई ४० हजार, तीनलाई ४८ हजार, चारलाई ५६ हजार, पाँचलाई ६० हजार, ६ लाई ६६ हजार र सातजनालाई ७० हजार डलर लिने गर्छ।

बेपत्ता भारतीय आरोही मृत

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा बेपत्ता भएका भारतीय आरोही २७ वर्षीय रवि कुमारको मृत्यु भएको छ। उनको शव सगरमाथाको ८ हजार २ सय मिटर उचाइमा सोमबार फेला परेको हो। उनी ८ हजार ४ सय मिटर उचाइबाट बेपत्ता भएका थिए।

त्यसैगरी स्लोभाकियाका आरोही भ्लादिमिर स्टेरबा र अमेरिकाका ५० वर्षीय रोल्यान्ड इयरउडको पनि मृत्यु भएको छ। तीनैजनाको शव संकलन गरी आधारशिविर झार्ने काम भइरहेको पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिए। 

इयरउडको लेक लागेका कारण मृत्यु भएको थियो भने स्टेरबाका हातखुट्टा हिउँले खाएपछि गम्भीर बिरामी भएका थिए र त्यही कारण उनको मृत्यु भएको विभागले जनाएको छ।

'हिलारी स्टेप' खसेको पुष्टि गर्ने आधार छैन

सगरमाथाको ८ हजार ७ सय ९० मिटर उचाइमा अवस्थित 'हिलारी स्टेप' खसेको भन्ने 'हल्ला' पुष्टि गर्ने आधार नरहेको पर्यटन विभागले जनाएको छ। एक विदेशी आरोहीको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले हिलारी स्टेप (१२ मिटर अग्लो चट्टान) खसेको समाचार सोमबार सम्प्रेषण गरेका थिए।  

'यो घटना सही हो वा गलत भन्ने तत्काल पुष्टि गर्ने आधार छैन,' विभागका महानिर्देशक दिनेश भट्टराईले भने, 'सगरमाथा शिखरबाट फर्केका आरोही काठमाडौं आएपछि यसबारे सोधपुछ गर्छौं र जुन विदेशीले पुष्टि नहुने खबर सार्वजनिक गरे तिनको खोजी गरिरहेका छौं।'

प्रकाशित: ९ जेष्ठ २०७४ ०५:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App