काठमाडौं- नेपाल र भारतबीचको साहित्यिक सम्बन्ध, प्रगतिको चर्चा र कविता वाचनसँगै राजधानीमा गत शनिबारदेखि सुरु भएको 'त्रिदिवसीय राष्ट्रिय वाङ्मय संगोष्ठी तथा सम्मान' सोमबार सकिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो हीरक जयन्तीको मौका पारेर भारतका एघार साहित्यकारलाई नेपालमा बोलाई गरेको कार्यक्रममा तीन दिन नेपाल र भारतका साहित्यसँगै सामाजिक विषयमा अन्तरक्रिया गरिएको थियो।
समापनको दिन सोमबार साहित्य पारखीमाझ नेपाल र भारतको साहित्यसँगै नदी संस्कृति, दर्शन परम्पराका विषयमा कार्यपत्र प्रस्तुतिसँगै छलफल गरिएको थियो। अन्तिम दिन डा. साफल्य अमात्यले 'नेपालमा नदी संस्कृतिः एक अवलोकन', डा. काशीनाथ न्यौपानेले 'दर्शन परम्परामा दुःखनाश र आनन्दप्राप्तिको अवधारणा', भारतका साहित्यकार रुपेश शर्माले 'समकालीन भारतीय नेपाली साहित्यमा गद्य साहित्यको अवस्था' र भारतकै प्राध्यापक डा. कृष्णराज ज्ञवालीले 'समकालीन भारतीय नेपाली साहित्यमा पद्य साहित्यको अवस्था' विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
अमात्यले कार्यपत्रमा मान्छेको निधनपछि स्वर्गलोक वा जुनसुकै लोक जाने माध्यम नदी नै रहेको उल्लेख गरेका छन्। उनले नेपालका नदीहरूको आफ्नै महत्व रहेको जनाउँदै हिमनदी, ताल, तलाउ, कुण्ड तथा पोखरीहरू संस्कृतिको प्रेरणाका केन्द्र रहेको बताए।
उनको कार्यपत्रमाथि गोष्ठीमा सहभागीहरूले नेपालका नदीका बारेमा धेरै कुरा नसमेटिएको र नदीहरूको स्रोत पनि नखुलाइएको टिप्पणी गरेका थिए। नदी भौतिक सम्पदा पनि भएकाले त्यसलाई कार्यपत्रमा प्रस्तुत गर्नुपर्नेमा उनीहरूले जोड दिए। कार्यपत्र प्रस्तोता शाक्यले सहभागीले उठाएको विषय सान्दर्भिक भएकाले त्यसलाई समेटिने आश्वासन दिए।
न्यौपानेले कार्यपत्रमा दर्शनका विविध पक्ष प्रस्तुत गरेका थिए। कार्यपत्रमा टिप्पणी गर्दै सहभागीले प्रस्तोताले कार्यपत्रमा पूर्वीय दर्शनलाई प्राथमिकता दिएको र कार्यपत्र प्रस्तुतिभन्दा पनि प्रवचनजस्तो भएको बताएका थिए। प्रस्तोता न्यौपानेले पनि सहभागीको भनाइअनुसार कार्यपत्रमा सुधार ल्याउने वचनबद्धता प्रकट गरे।
त्यस्तै शर्माले आधुनिक गद्य साहित्यको जग बसाल्न भारतीय नेपाली साहित्यले महत्वपूर्ण योगदान दिएको जनाउँदै भारतीय नेपाली साहित्यमा पनि लीलालेखन, संक्रमण लेखन, विचलन, किनारीकरण, हस्तक्षेपी, समावेशीलगायतका अवधारणा हुर्किएको बताए। ज्ञवालीले कार्यपत्रमा लोकभावना तथा नीतिमूलक पद्य धारा, समाज सांस्कृतिक जागरणमूलक धारा, स्वच्छन्दतामूलक तथा प्रयोगपरक धारा, आयामेली नवप्रयोगवादी धारा, प्रगतिवादी धारा र समकालीन वा उत्तराधुनिक धाराजस्ता चरणलाई प्रस्तुत गर्दै भारतमा भएको पद्य साहित्यको विकासबारे प्रस्तुत गरेका थिए।
सहभागीले पद्य साहित्यबारेको कार्यपत्रमा गद्य साहित्यका कृतिको संख्या बढी उल्लेख गरिएको भन्दै त्यसलाई सुधार्न आग्रह गरे। कार्यपत्र प्रस्तोता ज्ञवालीले भारतमा नेपाली साहित्यको विकासक्रम राम्रो रहेकाले आगामी दिनमा साहित्य अझ परिस्कृत हुने बताए।
कार्यपत्र प्रस्तुतिको सत्र सकिएपछि दुवै देशका कविहरूले कविता वाचन गरेका थिए। नेपालबाट सुलोचना मानन्धर, उषा शेरचन, लक्ष्मी माली, विजय सुब्बा, बासुदेव अधिकारी, खुमनारायण पौडेल, विश्वमोहन श्रेष्ठ, मोमिला, रमेश क्षितिज, विप्लव ढकाल, अभय श्रेष्ठ, सुरेश किरण, आरएम डंगोल, मिश्र वैजयन्ती, सुदीप पाखि्रन, प्रकाश थाम्सुहाङ, सुन्दर कुरुप, देवेन्द्र शक्तेन, रोशन जनकपुरी, गोविन्दराज विनोदी, निमेष निखिल, तीर्थ श्रेष्ठले कविता वाचन गरेका थिए।
यस्तै सरस्वती प्रतीक्षा, उत्तमकृष्ण मजगैयाँ, टीकाराम उदासी, बूँद राना, बलभद्र भारती, छविलाल कोपिला, संगीत श्रोता, सकुन्तला जोशी, विनोदविक्रम केसी, रावत, स्वप्निल स्मृति, लक्ष्मी रुम्बा, बिना थिङ, सोझो गाउँले, भोजराज न्यौपाने, डा. देवी नेपाल, मित्रलाल पंज्ञानी र केवल विनावीले पनि कविता सुनाए।
भारतबाट सिक्किमका केदार गुरुङ, सिलिगुढीका ज्ञानेन्द्र खतिवडा, कालिङपोङका टीका भद्री, ज्ञानेन्द्र सुब्बा याक्सो, दार्जिलिङकी सुभद्रा बम्जन र कलकत्ताका गोपाल भित्रीकोटीले पनि कविता वाचन गरेका थिए।
गोष्ठीमा गत शनिबार 'मातृभाषा साहित्य : समकालीन स्वरहरू', 'नेपाली भाषाको आधुनिकीकरणको प्रमुख आयाम', 'नेपाल भारत सम्बन्ध प्रवर्द्धनमा १९५० को शान्ति तथा मैत्री सन्धीको सान्दर्भिकता' र 'नेपालमा बोलिने भाषाहरूको संवैधानिक स्थिति र भाषिक नीति' का विषयमा विमर्श भएको थियो।
प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले पहिलोपटक हीरक जयन्ती मनाएकाले पनि वाङ्मय गोष्ठीको आफ्नै महत्व रहेको बताए। 'जयन्ती मनाउनका लागि हामीले विराटनगर र नेपालगन्जमा केही महिनाअघि राष्ट्रिय स्तरको कार्यक्रम गर्यौं। यसपटक चाहिँ हाम्रो कामलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि जानकारी दिन र साहित्यिक अन्तरसंवादका लागि भारतमा रहेका नेपाली साहित्यकारलाई निम्तो दिएका हौं,' कुलपति उप्रेतीले भने,' तीनदिने गोष्ठीमा नेपाल भारतको साहित्यिक सम्बन्धदेखि अन्य विविध सम्बन्धका बारेमा चर्चा गर्यौं। भारतलाई सबल बनाउन त्यहाँ रहेका नेपालीभाषी साहित्यकारको पनि योगदान महत्वपूर्ण छ। त्यस कारणले पनि हामीले दुई देशको साहित्यिक विकासका विविध पक्षबारे गोष्ठीमा छलफल गर्यौं।'
भारतका साहित्यकार प्राडा कृष्णराज ज्ञवालीले पनि नेपालमा आएर पहिलोपटक साहित्यिक माहोलमा सहभागी हुन पाउँदा खुशी लागेको बताए। प्रतिष्ठानका उपकुलपति विष्णुविभू घिमिरेले साहित्यको माध्यमबाट दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउनुले हीरक जयन्तीले महत्वपूर्ण भूमिका खेलेको बताए।
प्रकाशित: ९ जेष्ठ २०७४ ०५:१८ मंगलबार