coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘एसियाले चाँडै विश्वकप जित्न सक्छ’

चाङ्सा – इङ्ल्यान्डका पूर्वगोलकिपर डेविड जेम्सले विश्वकप जित्ने टोली उत्पादनमा अफ्रिकालाई एसियाले पछि पारेको बताएका छन् ।

चाङ्सामा भएको विश्व फुटबल फोरममा बोल्दै जेम्सले एसियाले गरेको आर्थिक लगानी तथा लगावका कारण केही दशकमै फुटबलमा एसिया अग्रपंक्तिमा आउने बताए ।

‘साच्चिकै सोच्ने हो भने अफ्रिकन देशहरूले भन्दा एसियाली राष्ट्रले चाँडै विश्वकप जित्नेछन्,’ लिभरपुलका पूर्वगोलकिपर जेम्सले भने, ‘९० को दशकमा म हुर्किंदा सबैले विश्वकप जित्ने अर्को महाराष्ट्र अफ्रिका भन्थे । मैले त्यो देखिरहेको छैन ।’

ब्राजिलका महान् हस्ती पेलेले २००० अघि अफ्रिकी मुलुकले विश्वकप जित्छ भनेर गरेको अनुमानलाई उद्धृत गर्दै जेम्सले त्यो समय नाघिसकेको बताए । 

अफ्रिकाका कुनै पनि राष्ट्र क्वार्टरफाइनलभन्दा अघि बढ्न सकेका छैनन् । तथापि २००२ मा भएको घरेलु विश्वकपमा दक्षिण कोरिया सेमिफाइनलमा पुग्नुबाहेक २०१४ सम्ममा कुनै पनि एसियाली राष्ट्रले पनि त्यो यात्रा तय गर्न सकेका छैनन् ।

अहिले एसियाको शीर्ष टोली इरान फिफा वरीयताको २८औं स्थानमा रहँदा दक्षिण कोरिया, जापान र अस्ट्रेलिया पनि शीर्ष ५० भित्र छन् ।  तर, इन्डियन सुपर लिगमा केरला ब्लास्टरबाट समेत खेलेका जेम्सले ८१औं स्थानमा रहेको चीन र १ सयौं स्थानमा रहेको भारतले पनि विश्वकप उपाधि जित्न सक्ने सम्भावना औंल्याए ।

‘फुटबलका लागि एसिया उर्वर भूमि हो । आर्थिक रूपमा पनि चीनले यसमा लगानी गरेको छ,’ इङ्ल्यान्डबाट ५३ खेल खेलिसकेका ४६ वर्षे जेम्सले भने, ‘तर, फुटबलप्रति देखाएको उत्साह र वित्तीय अवस्थाका कारण भारतको सम्भावना पनि बलियो छ । दुई देशमा साढे दुई अरब जनसंख्या छ । जुन विश्व जनसंख्याको एक तिहाइ हो ।’

२०२२ को कतार संकरणबाट विश्वकपले एसियामा पुनरागमन गरेको छ भने २०३० को विश्वकप आयोजना गर्न चीनले तत्परता देखाएको छ । चीनले विश्वकप आयोजना तथा जित्ने आशामा विदेशी खेलाडीका लागि दशौं करोड डलर खर्च गरेर घरेलु लिग बलियो बनाइरहेको छ । तर, केरला ब्लास्टरको खेल हेर्न रंगशालामा उपस्थित ५० हजार दर्शकबाट जेम्स भारतप्रति पनि आशावादी छन् । पछिल्लो समय यु–१७ विश्वकप प्रतियोगिता आयोजना गर्न लागेको भारत पछिल्लो समय चर्चामा छ ।  

‘अहिले चीनमा भौतिक पूर्वाधारहरू राम्रा छन् । भारतले पनि त्यसमा सुधार गरिरहेको छ तर त्यो हासिल गर्न ३० वर्ष लाग्छ भन्ने होइन,’ जेम्सले भने, ‘फुटबलभित्र प्रयोग हुने प्रविधि, मैदान निर्माण र अभ्यास सुविधा एउटा पाटो हो । यो पनि चाहिन्छ तर खेलमा सुधार गर्न राम्रो प्रशिक्षण आवश्यक हुन्छ ।’

जेम्सले अबको ३० वर्षमा एसियाली देशको स्तर युरोपेली देशको स्तर समान हुन नसक्ने कुनै कारण नभएको बताए । 

‘यहाँको उत्साहबाट एसियाप्रति म आशावादी छु,’ उनले थपे, ‘तपाईसँग उत्कष्ट घरेलु लिग र उत्कृष्ट राष्ट्रिय टोली दुवै हुन सक्दैन । यो निकै कठिन हुन्छ ।’

प्रकाशित: १० जेष्ठ २०७४ ०५:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App