१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चोटलाई जितिन् भिटोभाले

प्राग – पेट्रा भिटोभाले लामो समयदेखिको चोटलाई जित्दै फ्रेन्च ओपनका लागि सहभागिता जनाउने अन्तिम समयमा नाम दर्ता गराएकी छिन् । 

चोटका कारण पाँच महिनादेखि कोर्टबाहिर रहँदै आएकी दुई पटककी विम्बल्डन च्याम्पियन भिटोभा पूर्ण रूपमा फिट भएर कहिल्यै प्रतिस्पर्धामा फर्किन नसक्ने खतरा भोगिरहेकी थिइन् । तर चेक गणतन्त्रकी भिटोभाले डिसेम्बरमा लागेको चोटलाई पाँच महिनाको संघर्षबाट पराजित गर्न सफल भइन् । 

मे २८ देखि जुन ११ सम्म हुने ग्रान्ड स्लामका लागि शुक्रबार हुने ड्रमा अब भिटोभाको पनि उपस्थिति हुने भएको छ । भिटोभाले फ्रेन्च ओपनका लागि आफूलाई उपलब्ध गराइसके पनि उनका प्रवक्ता क्यारेल तेजकालले भने अन्तिम समयसम्म पनि निर्णय परिवर्तन हुन सक्ने बताएका छन् । 

‘रोलान्ड गारोसका लागि त्यतिकै उनको नाम दर्ता गराएको होइन । यो एक प्रकारले उनको फिटनेस परीक्षा पनि हो । भिटोभाको खास लक्ष्य फ्रेन्च ओपन होइन, उनी विम्बल्डनका लागि पूर्ण रूपमा फिट भएर प्रतिस्पर्धामा उत्रिन चाहन्छिन् । त्यसैले अन्तिम समयमा रोलान्ड गारोसबाट नाम फिर्ता पनि हुन सक्छ,’ तेजकालले भने ।

२७ वर्षे भिटोभाले यसअघि २०११ र २०१४ मा विम्बल्डनको उपाधि जितेकी थिइन् । यसपालि विम्बल्डन जुलाई ३ मा अल इङ्ल्यान्ड क्लबमा सुरु हुनेछ । 

भिटोभाले जस्तो लक्ष्य राखे पनि चिकित्सकहरूले भने चेक गणतन्त्रकी स्टार जुलाईअघि कोर्टमा फर्किन नसक्ने भविष्यवाणी गरेका छन् । 

चिकित्सकहरूको सल्लाह र भविष्यवाणीलाई बेवास्ता गर्दै भिटोभा मे महिनाको सुरुआतदेखि नै अभ्यासमा फर्किइसकेकी छिन् । जसका कारण उनले आफूलाई फ्रेन्च ओपनको प्रारम्भिक दर्तामा पनि उपलब्ध गराइन् । 
‘पेरिसमा खेल्नका लागि म पूर्ण रूपमा तयार छु भन्ने होइन । तर म आफूलाई सबैखाले सकारात्मक पाइलाका लागि तयार राख्न चाहन्छु,’ भिटोभाले भनिन् ।

प्रकाशित: १० जेष्ठ २०७४ ०५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App