८ वैशाख २०८१ शनिबार
अर्थ

खोटाङ जोड्ने एउटा बेलिब्रिज निकालियो

खोटाङ – सुनकोसीस्थित फोक्सिङटारको अस्थायी बेलिब्रिज निकाल्न सुरु गरिएको छ । योसँगै खोटाङ र पूर्वी सहरको सिधा यातायात सम्पर्क बिच्छेद भएको छ । वर्षा सुरु भएसँगै नदीमा पानीको बहाव बढ्न थालेकाले आइतबारदेखि बेलिब्रिज निकाल्न थालिएको हो । 

बेलिब्रिज निकाल्न थालिएसँगै दिक्तेलबाट गाईघाट जाने सवारी साधन छुट्न छाडेको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङले बताए । खोटाङ र सहरलाई जोड्ने दुईवटा बेलिब्रिजमध्ये अब खोटाङ र ओखलढुंगाको सीमामा पर्ने जयरामस्थित दूधकोसीको बेलिब्रिज मात्र बाँकी छ । 

हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी गत पुस १२ गतेदेखि फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो । बेलिब्रिज हटाएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगर लगायत सहर जाने नसकिने हुँदा घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्छ । फोक्सिङटारमा पक्की पुल निर्माण कार्यले अपेक्षित गति लिन नसक्दा विकल्पमा बेलिब्रिज राख्ने गरिएको छ । उक्त बेलिब्रिजले खोटाङको दक्षिणी गाविस जोड्ने गरी भोजपुरको सीमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–इन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट सडकबाट समेत सिधै गाईघाट जाने बाटो खुलाएको थियो । 

गत मंसिर २१ गतेदेखि सञ्चालनमा आएको जयरामको बेलिब्रिज पनि वर्षाका कारण जेठ १४ पछि निकाल्ने तयारी भइरहेको छ । दुवै बेलिब्रिज हटाइएपछि करिब ६ महिनासम्म खोटाङ र सहरबीचको सिधा यातायात सम्पर्क टुट्ने छ । 

पक्की पुल निर्माण सुस्त  
ठेक्का लागेको दुई वर्षपछि काम गर्नुको सट्टा डिजाइन परिवर्तन गरिएको खोटाङ र उदयपुरको फोक्सिङटारस्थित सुनकोसीको पक्की पुल निर्माण सुरु गरिएको छ । ठेक्का लागेको दुई वर्षपछि निर्माण सुरु नहुँदै डिजाइन परिवर्तन गरिएको पुल निर्माण ढिला गरी सुरु गरिएको हो । डिजाइन परिवर्तनसँगै फोक्सिङटारमा लठ्ठा हालेर ढलान गरिने ‘सस्पेन्सन ब्रिज’को सट्टा पिल्लर उभ्याएर ढलान गर्ने प्रकृतिको ‘आर्क’ डिजाइनको पुल निर्माण सुरु गरिएको छ । 

प्रकाशित: १० जेष्ठ २०७४ ०६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App