७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाल सरकारका पाँच उपलब्धि

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले वुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा दिए । १० महिना प्रधानमन्त्रीको पद सम्हाल्दा दाहाल नेतृत्वको सरकारले उज्यालो अभियान सुरु गरेर लोडसेडिङ मुक्त बनायो । यस अघि यो समयमा करिब १८ घण्टा विद्युत कटौति हुँदै आएको थियो । सरकारका सम्झनयोग्य काम मध्ये यो प्रमुख छ ।

निर्वाचन हुन्छ या हुँदैन भन्ने व्याप्त आशंकाकाबीच सफलरुपमा प्रथम चरणको निर्वाचन गराउनु अर्को उपलब्धी मान्न सकिन्छ । ०७४ माघ ७ भित्र तीनै चरणको निर्वाचन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । स्थानीय तह निर्वाचनसँगै संविधान कार्यान्वयनको दिशामा देश अघि बढोको छ । भलै दोस्रो चरणको निर्वाचन भने बाँकी नै छ।

लामो समय देखि अघि बढ्न नसकेको द्रुत मार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिनु, ओवरमा हस्ताक्षर गर्नु पनि सरकारका उपलब्धी हुन् ।

तर सरकारले भूकम्प पछिकाे पुननिर्माणमा उल्लेख्य काम गर्न सकेन। पुननिर्माण सुस्त भएको भन्दै पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीलाई हटाएर दाहाल सरकारले गोविन्द पोखरेललाई ल्ययाे। तर पनि प्राधिकरण कछुवा गतिमै सिमित भयो।

प्रधानन्यायाधीश सुशीला कार्कीमाथी संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावलाई पनि अदुरदर्शी निर्णयकोरुपमा हेरियो।

निर्वाचनको समयमा विभिन्न ठाउँमा आचारसंहिता विपरित बजेट वितरण तथा नियुक्ति गरेको भन्दै सरकार आलोचित बन्यो ।

सरकारका उपलब्धिलाई यसरी हेर्न सकिन्छः

१. पहिलो चरणको स्थानीय तह निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु दाहाल सरकारको प्रमुख उपलब्धी हो। उनले आफ्नो सम्बोधनको क्रममा यो उपलब्धीलाई विशेष महत्वका साथ प्रस्तुत गरे।   उनले भने, ‘मलाई यत्ति थाहा छ, यो निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रले जित्यो र समग्रमा राष्ट्रले जित्यो। अब गणतन्त्र, सामाजिक न्यायसहितको लोकतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी शासन प्रणाली थप संस्थागत भएको छ।’

२. लोडसेडिङको अन्त्य दाहाल सरकारको उपलब्धी हो । यो समयमा नेपालीहरु १८ घण्टासम्म अध्यारोमा बस्न बाध्य हुन्थे । दाहाल सरकारले त्यसलाई शून्यमा झार्न सफल भयो। देशमा अब लोडसेडिङ इतिहास भएको दाहालको भनाई छ ।

३. लामो समयदेखि राजनीतिक दाउपेचमा परिरहेको ‘फाष्ट ट्रयाक’ लाई अघि बढाउनु उपलब्धी हे । फाष्टट्रयाक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ। राजधानी र तराईबीचको द्रुरत मार्गको रुपमा रहेको यसको निर्माणको दुरगामी महत्व भएको सम्बोधनको क्रममा दाहालले बताए। यस्तै हुलाकी राजमार्गको तिब्र निर्माणले मधेश–तराईको समग्र अर्थतन्त्र र जनजीवन नै बदल्ने उनको विश्वास छ।

४. स्वास्थ्य क्षेत्रमा पनि सरकारले उपलब्धी हाँसिल गरेको छ। जनस्वास्थ्यका क्षेत्रमा नीतिगत र कार्यक्रमिक सुधार गर्न सरकार सफल देखियो । सबै प्राथमिक स्वास्थ्य केन्द्रसम्म कम्तिमा २ चिकित्सक, डायलेसिस सेवासँगै बाथ, मुटुरोग, मृगौला प्रत्यारोपण निशुल्क गर्नु जनतालाई प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम हुन् ।वर्षौदेखि बन्द रहेको नेपाल औषधी लिमिटेड सञ्चालनमा ल्याउनु सरकारको अर्को उपलब्धी हो । उक्त कम्पनीले औषधि उत्पादन गर्न सुरु गरिसकेको छ ।

५.चीन सरकारको महत्वकांक्षी योजना ‘वन बेल्ट वन रोड परियोजना’ कार्यक्रममा सहभागी हुने सम्झौतापत्रमा हस्ताक्षर गर्नु सरकारको अर्को उपलब्धी हो । यो परियोजनामा हस्ताक्षर गरेर नेपाल चीन सम्बन्ध र नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण पहल लिइएको दाहालको दावी छ ।

प्रकाशित: १० जेष्ठ २०७४ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App