७ वैशाख २०८१ शुक्रबार
खेल

गति लियो भलिबल ट्रेनिङ सेन्टरले

पोखरा- रंगशालामा एक वर्ष पहिलेदेखि निर्माण हुन लागेको क्षेत्रीय स्तरको भलिबल प्रशिक्षण सेन्टरले गति लिन थालेको छ। आवश्यक रकम अपुग भएपछि केही समय रोकिएको सेन्टर निर्माण कार्य अहिले धमाधम सुरु गरिएको छ।

आवश्यक रकम खेलकुद मन्त्रालयबाट विनियोजन भएसँगै काम सुरु गरिएको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए। उनका अनुसार भलिबल प्रशिक्षण सेन्टर ७४ लाख लगानीमा निर्माण हुँदै छ। सेन्टरमा अहिले २० जना नेपाली कामदारले काम गरेका छन्। '३/४ चरणमा काम थालनी गरेका छौं,' पौडेलले भने, 'असार मसान्तसम्म निर्माण सिध्याइसक्नुपर्नेछ।'

पौडेलका अनुसार चेन्जिङ रुम, प्राक्टिसवाल, ग्राउन्ड लेवल मिलाउने काम विभिन्न चरणबाट भइरहेको छ। 'त्यहाँ भलिबलका ४ वटा कोर्ट हुनेछन्,' उनले भने, 'खेलाडीका लागि आवश्यक सामाग्रीहरू उपलब्ध हुनेछन्,।' सबै समावेश गरिएको भलिबल कोर्ट नेपालमै पहिलो रहेको पौडेलले दाबी गरेका छन्। सेन्टरमा भलिबल प्रशिक्षणलाई मात्र समावेश गरिने पौडेलले बताए।

पोखरामा अहिलेसम्म भलिबलका लागि व्यवस्थित प्रशिक्षण केन्द्र नहुँदा असहज भएको उनले प्रस्ट्याए। 'यहाँबाट कास्कीको मात्र नभई पश्चिमाञ्चल क्षेत्रकै भलिबल विकसित गराइनेछ,' उनले भने, 'प्रशिक्षण केन्द्रमा नियमित रूपमा खेलाडीले अभ्यास गर्न पाउनेछन्।'

भलिबल खेललाई राष्ट्रिय खेलको रूपमा घोषणा भएसँगै यसको क्रेज अझ बढ्ने उनले औंल्याए। 'पश्चिमाञ्चलमा भलिबल खेलको क्रेज निकै छ। निर्माणपछि एकेडेमीको रूपमा चलाउनेछौं,' उनले भने। भलिबल खेलाडी बढी मात्रामा उत्पादन गर्ने लक्ष्यका साथ सेन्टरको निर्माण गरेको पौडेलले बताए। १३औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा आयोजना गरेर पोखरालाई खेलकुदको केन्द्रबिन्दु बनाउने लक्ष्यका साथ प्रशिक्षण, निर्माणसँगै खेलाडी उत्पादनमा जोड दिइएको उनले प्रस्ट्याए।

१० रोपनी क्षेत्रफलमा निर्माण हुने भलिबल प्रशिक्षण सेन्टरमा प्यारापिट निर्माण गरिनेछ। 'लगभग १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गर्दै छौं,' उनले भने, 'यसले गर्दा सेन्टरसँगै खेल प्रतियोगिता भएको खण्डमा सजिलो हुन्छ।' क्षेत्रीय खेलकुद विकास समितिले निर्माणको थालनी गरेर कास्की जिल्ला भलिबल संघलाई व्यवस्थापनको जिम्मा दिएको छ। साउनबाट विधिवत् प्रशिक्षण सुरुआत गरिने पौडेलले बताए।

प्रकाशित: ११ जेष्ठ २०७४ ०३:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App