coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

म्यागसेसे पुरस्कार लिलामीमा

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्र बनाउने महाअभियानमा होमिएका सामाजिक अभियन्ता महावीर पुनले आफूले पाएका अमूल्य पदक लिलामीमा राखेका छन् । नेपाली युवालाई नयाँनयाँ आविष्कार, खोज र अनुसन्धानमा प्रेरित गर्ने उद्देश्यले खोल्न लागिएको केन्द्रका लागि पर्याप्त रकम नजुटेपछि उनले यस्तो जुक्ति निकालेका हुन् ।  

ठमेलको मण्डला स्ट्रिटस्थित महावीर्स नेपाल कनेक्सन रेष्टुरेन्टमा उनका ५ वटा पदक बिहीबारदेखि प्रदर्शनीमा राखिएका छन् । एसियाकै नोबेल पुरस्कार मानिने फिलिपिन्सबाट प्राप्त रामोन म्यागसेसे पुरस्कार, नेपाल सरकारले दिएका दुईटा राष्ट्रदीप पदक, अमेरिकाबाट प्राप्त इन्टरनेट हल अफ फ्रेम र नेब्रस्का विश्वविद्यालयले दिएको अनर ग्रयाजुएट पदक बेच्न लागिएको हो।   

आविष्कार केन्द्र बनाउन महावीर पुनले आफूले पाएका पदक बिक्रीका लागि प्रदर्शनीमा राखेका छन्  
 

पदकको मूल्य तोकिएको छैन । जसले सबैभन्दा धेरै रकम दिन्छ उसैलाई सुम्पने उनको योजना छ । तर, शुक्रबार साँझसम्म कोही किन्न आएका छैनन् । बरु क्यालिफोर्नियामा व्यवसाय गर्दै आएका एक नेपाली युवाले अमेरिका लगेर लिलाम गर्ने इच्छा देखाएको पुनले बताए ।   

‘शनिबार दिउँसो ४ बजेभित्र रेस्टुरेन्टमा पदक किन्न कोही नआए यी पदक अमेरिका पुर्याएर लिलाम गरिनेछ’, उनले भने, ‘नेपालभित्र पदक अन्तिम दर्शन गराउन पनि प्रदर्शनीमा राखेको हुँ ।’  

पचास करोड रुपैयाँ लागतमा आविष्कार केन्द्र बनाउन उनले ९ महिनाअघि महादान अभियान चलाएका छन् । त्यसमा स्वतस्फुर्त देशविदेशबाट ४ करोड रुपैयाँ जम्मा भइसकेको छ । ‘युरोप, अमेरिकातिरबाट भन्दा पनि खाडी मुलुक र हङकङमा काम गर्ने श्रमजीवी नेपालीबाट बढी चन्दा पाइयो’, उनले भने, ‘यी पदकको बिक्रीले  पनि भरथेग गर्ने आशा छ।’ 

कुनै पनि पदक भित्तामा सजाएर राख्नुको अर्थ नहुने भएकाले बेचेर उत्पादनमूलक काममा लगाउन खोजेको उनको तर्क छ । ‘पदक बेच्न लागेको मान्छे मलाई त दुःख लागेको छैन’, पदक लिलाम हुन लागेको खबर सुनेर चित्त दुखाउने शुभेच्छुकलाई उनी भन्छन्, ‘अरुले किन दुःख मान्ने ?’

उनले आविष्कार केन्द्रका लागि पैसा जुटाउनै भनेर केही समयअघि एउटा चाउचाउ र सिमेन्टको विज्ञापनमा समेत मोडलिङ गरेका छन् । ‘विज्ञापनमा खेलेबापत सकभर धेरै पैसा देऊ भनेको छु’, पुन प्रस्टीकरण दिन्छन्, ‘रकम नजुट्दाको पीडा मलाई मात्र थाहा छ।’  

केन्द्रलाई दिगो बनाउन बिजुली निकाल्ने योजना छ । सरकारसँग २० मेगावाट उत्पादन गर्न सकिने खोला मागेर १० मेगावाटको शेयर बेच्ने र बाँकी १० मेगावाट बराबरको शेयर केन्द्रको स्वामित्वमा राखेर त्यसकै आम्दानीबाट केन्द्र चलाउने उनको योजना छ ।     

केन्द्रले मेडिकल ड्रोन र ब्याट्रिबाट चल्ने तीनपांग्रे इलेक्ट्रिक भेहिकल बनाउन सुरु गरिसकेको पुनले बताए । प्रयोगशालाका लागि केन्द्रले सरकारसँग जग्गा मागेको छ । तर, प्राप्त भइसकेको छैन । सर्वसाधारण आविष्कार केन्द्रको महत्त्व बुझेर सहयोग गरिरहेका छन् । तर, सरकारले महत्त्व नबुझेकोमा उनको मन कुँडिएको छ । ‘सरकारले आविष्कार केन्द्रको महत्त्व बुझ्दै बुझेन’, सामाजिक अभियन्ता पुनले भने, ‘त्यसैले स्वदेशमा अवसर नपाउँदा राम्रा प्रतिभा पलायन भइरहेका छन् ।’  

प्रकाशित: १३ जेष्ठ २०७४ ०२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App