६ वैशाख २०८१ बिहीबार
कला

खोसिएको खुसी

मानिसको जीवनमा दुःख कष्ट र संघर्ष के हो भन्ने बुझ्न चरिमाया तामाङको भोगाइ  पर्याप्त छ । उनले आफ्नो जीवनमा जे देखिन्, भोगिन् र अनुभव गरिन्, सायदै अरुले गरे होलान् । त्यही दुःख र भोगाइले उनलाई भारतको कोठी हुँदै अमेरिकाका तत्कालीन विदेशमन्त्री (राष्ट्रपतिमा पराजित उम्मेदवार) हिलारी क्लिन्टनको हातबाट पुरस्कार ग्रहण गर्ने हैसियतसम्म पुर्यायो। 

उनले भोगेका दुःख कष्ट हुन् वा प्राप्त गरेका सफलता, साधारण मान्छेका कल्पनाभन्दा बाहिरका हुन् ।  त्यसैले त लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमा भारतको कोठीमा बेचिएर नर्कजस्तो जीवन भोगेकी तामाङ संघर्षबिनाको जीवनलाई अर्थपूर्ण जीवन नै ठान्दिनन् । मध्यमवर्गीय परिवारमा जन्मिएकी परिवारकी कान्छी सन्तान तामाङको जीवनका भोगाइ साँच्चिकै साहसिक र प्रेरणादायी छन्।  

चरिमाया घाँस–दाउरा गर्न घरनजिकै शिवपुरी जंगलमा गएकी थिइन् । त्यत्तिकैमा जंगलमा चारजना व्यक्ति आएर उनलाई विभिन्न प्रलोभन देखाए । उनीहरुले सहरमा जागिर लगाइदिने आशा देखाउँदै फकाउन खोजे । उनले नमानेपछि उनलाई बेहोस हुने पदार्थ खुवाइयो । ब्युँझँदा उनले आफूलाई गोरखपुरमा पाइन् । 

१६ वर्षमै खोसियो खुसी
सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी चरिमायाको बाल्यकाल सामान्य ढंगले चल्दै थियो । उनी सानै छँदा महिला स्कुल जाने त्यति चलन थिएन । तर, चरिमायाका दाजुले उनलाई घरमै शिक्षक राखेर पढ्ने व्यवस्था मिलाएका थिए । पछि उनले गाउँको स्कुलमार्फत पाँच कक्षासम्म अध्ययन गरिन् । गाउँमा प्राविसम्मको मात्र विद्यालय भएकाले निम्नमाध्यमिक तहसम्म अध्ययन गर्न गाउँदेखि टाढाको स्कुल जानुपथ्र्याे । जसले उनको अध्ययनमा पूर्णविराम लाग्यो। 

औपचारिक शिक्षा बीचमै रोकिए पनि गाउँमा सञ्चालन भएका तालिम तथा किशोरी शिक्षाजस्ता अनौपचारिक कक्षमा उनी सहभागी भइरहन्थिन् । उनी भर्खर यौवनावस्थामा प्रवेश गर्दै थिइन् । डकर्मी तथा सिकर्मीको काम गर्ने उनका बाबुको आम्दानीबाट परिवार चलिरहेको थियो । अकस्मात उनका बाबुको मृत्यु भयो । त्यसपछि उनको परिवार समस्यामा प¥यो । बाबुको मृत्युपछि परिवारको खुसी मात्र खोसिएन । बाबुको मृत्यु भएको ६ महिनामै उनी दलालको फन्दामा परेर बेचिन पुगिन् । यसले उनको जीवनको सुरुवातमै खुसी लुटिन पुग्यो। 

मृत्युले नपत्याएको त्यो दिन
चरिमाया घाँस–दाउरा गर्न घरनजिकै शिवपुरी जंगलमा गएकी थिइन् । त्यो उनको नियमितको काम थियो । त्यत्तिकैमा जंगलमा चारजना व्यक्ति आएर उनलाई विभिन्न प्रलोभन देखाए । पुरानो घटना सम्झँदै चरिमाया भन्छिन्, ‘उनीहरुले मलाई सहरमा जागिर लगाइदिने आशा देखाउँदै फकाउन खोजे तर मैले सीधै अस्वीकार गरेँ । उनीहरुले डर देखाउँदै र धम्की दिन थाले।’ 

चरिमाया सहजै सहमत नहुने भेउ पाएपछि उनीहरुले उनको मुखमा जबर्जस्ती केही खाने कुरा राखिदिए । त्यसपछि के भयो उनलाई थाहा भएन । ब्युँझदा उनी गोरखपुरको एउटा घरमा थिइन् । त्यसै दिन दलालहरुले उनलाई पुनः बेहोस बनाएर बम्बई लगे । त्यहाँ उनलाई दुई दिनसम्म एउटा अँध्यारो कोठामा थुनियो । त्यतिबेला उनलाई एकान्तपनले निकै सतायो। 

उनी आफू बेचिएको चाल पाइसकेकी थिइन् । बाँकी जीवन पीडादायी हुन्छ भन्ने बुझेकी उनले कोठामा सलको पासो लगाएर झुन्डिइन् । तर, उनलाई मृत्युले पनि पत्याएन  । अर्थात् सलको डोरी चुँडिएर उनी बाँच्न सफल भइन् । यो घटनाबाट उनी एउटा कुरामा प्रस्ट भइन्, ‘बाँच्न जति संघर्ष गर्नुपर्छ, मर्न पनि त्यत्तिकै गाह्रो हुन्छ।’  

कोठीको पीडादायी बास 
मुम्बई पुर्याएको पाँचाँै दिनमा उनलाई रेडलाइट क्षेत्रमा ग्राहकसँग पठाइयो । पहिलो दिन त उनले ग्राहकलाई आफ्नो शरीर छुन समेत दिइनन्, बरु उल्टै कुटेर पठाइन् । तर छैटौँ दिनमा भने उनले आफूलाई बचाउन सकिनन्।

मादक पदार्थ सेवन गरेका चारजनाले उनलाई बलात्कार गरे । त्यो दिन आफूलाई मरेतुल्य बनाइएको उनी बताउँछिन् । बलात्कृत भएपछि उनी अत्यधिक पीडाका कारण बेहोस भइन् । उनी भन्छिन्, ‘त्यतिबेला के के भयो, केही थाहा पाइनँ, ब्युझँदा घायल शरीरमा डाक्टर तथा नर्सहरुले मलमपट्टी गरिरहेका थिए ।’ त्यसको केही दिनसम्म उनलाई आराम गर्न लगाइयो । निको भइसकेपछि भने कोठीमा ग्राहकको चाहना पूरा गर्नु उनको दैनिकी बन्यो।

 दैनिक शारीरिक शोषणको पीडा त छँदै थियो, साथमा घर–परिवारको यादले पनि उनलाई तड्पाइरहन्थ्यो । ६ महिनासम्म उनलाई हरेक पलमा घरको यादले निकै सतायो । जति याद आए पनि घर फर्किन सक्ने अवस्था थिएन । त्यसैले ६ महिनापछि भने उनी सहजै घर फर्कन पाइँदैन भन्ने कुरामा प्रस्ट भइन् । घर फर्कने झिनो आशा बोकेर कोठीमा आउने ग्राहकलाई खुसी बनाउनु उनको दैनिक थियो । उनी भन्छिन्, ‘ती दिन साँच्चिकै पीडादायी थिए, एकातिर घरको सम्झनाले पिरोलिरहन्थ्यो, अर्काेतर्फ आफ्नो खुसी लुटाएर अरुलाई खुसी बनाउनुपर्ने बाध्यता त छँदै थियो।’   

स्वदेश फर्कने सपनामा सरकार तगारो बन्दा 
कोठी जीवनको २२ महिना पछि ५ फेब्रुअरी १९९६ मा भारत सरकारले चरिमायासहित दुई सय नेपाली चेलीको उद्धार ग¥यो । नेपाल सरकार भने यसमा गैरजिम्मेवार ढंगले प्रस्तुत भयो । उनीहरुलाई स्वदेश फर्काउँदा गम्भीर किसिमका यौनरोग फैलन सक्ने सरकारको तर्क थियो।

उनले समयमै आफ्नो देश फर्कन नपाएको पीडा सुनाइन्, ‘नेपाली बोल्दैमा सबै नेपाली नहुने भन्दै सरकारले लामो समयसम्म पनि स्वदेश फर्काउन चाहेन।’ 

लामो समयको प्रतीक्षापछि स्वदेश फर्कने आशा पलाए पनि सरकारका कारण तत्काल स्वदेश फर्किन नपाएको उनको गुनासो छ।

 स्वदेश फर्काउन सरकार तयार नभएपछि उनीसहित उद्धार गरिएका दुई सय नेपाली भारत सरकारकै आश्रयमा बस्न बाध्य भए । उनीहरुलाई देश फर्काउनुपर्ने भन्दै नेपालमा आन्दोलन सुरु भयो । त्यसपछि मात्र १९९६ जुलाई ४ र ७ तारेखमा पाँच महिनापछि दुई चरणमा उनीहरुलाई नेपाल ल्याइएको थियो । त्यतिबेला पनि नेपालका विभिन्न सातवटा गैरसरकारी संस्थाको पहलमा स्वदेश फर्काइएको उनी बताउँछिन्। 

घर फर्कंदा बहिष्कार 
भारतबाट फर्किएपछि उनलाई आफ्नो परिवार र इष्टमित्रलाई तत्कालै भेट्ने हुटहुटी जाग्यो । तर, बेचिएर फर्किएकालाई हेर्ने दृष्टिकोणका कारण खुलेर बोल्न सक्नेसम्म अवस्था थिएन । कतिसम्म भने उनी नेपाल फर्किएपछि कतिपय रेडियोले उनको भोगाइलाई उनकै आवाजमा प्रस्तुत गर्न भन्दै आउँथे।

तर, आवाजबाट आफन्तले चिन्छन् भनेर उनी सञ्चारकर्मीलाई आवाज परिवर्तन गरेर रेडियोमा बजाउन आग्रह गर्थिन्। त्यसैले परिवार भेट्न गाउँ फर्कने कुरा सहज थिएन । तर पनि उनी गाउँ गएरै छाड्ने निर्णय गरिन्। 

२०५३ पुस ७ मा उनी गाउँ फर्किन्, उनले जे अनुमान गरेकी थिइन् गाउँमा त्यस्तै भयो । उनलार्य परिवार तथा गाउँलेले साथ दिएनन् । गाउँलेले त उनलाई विभिन्न आरोप लगाउँदै गाउँमा बस्न नदिन परिवारलाई समेत दबाब दिए । उनलाई घरमा बस्न दिएमा परिवार नै बहिष्कार गर्ने चेतावनी गाउँलेबाट पाएपछि उनी त्यसै दिन गाउँ छाडेर हिँड्नुपर्याे। 

चरिमाया त्यतिबेलाको सामाजिक सोँचका कारण आफूलाई गाउँलेले गलत दृष्टिकोणले हेरेको बताउँछिन् । उनी भन्छिन्, ‘त्यतिबेलाको सामाजिक अवस्था र परिवेशका कारणले परिवार र गाउँलेले बहिष्कार गरेका हुन्, त्यसैले त्यसलाई मैले सामान्य रुपमै लिएँ ।’  पछिल्लो समय सामाजिक परिवर्तनसँगै मानिसको सोचमा परिवर्तन आएको चरिमायाको अनुभव छ । पहिले नराम्रो दृष्टिकोणले हेर्ने परिवार तथा गाउँलेले नै अहिले आफूलाई राम्रो व्यवहार गर्ने गरेको उनी बताउँछिन्। 

हिम्मतले दिलाएको सफलता 
कलिलै उमेरमा शारीरिक र मानसिक रुपमा समेत निकै ठूलो पीडा भोगेकी चरिमायाले दुःखका बाबजुद पनि कहिल्यै हिम्मत हारिनन् । लामो समयपछि घर फर्केकी उनी घरमा एक दिन पनि बस्न पाइनन् । उनले गाउँबाट काठमाडौं फर्कने क्रममा आफूलाई बेच्ने दलालविरुद्ध जिल्लाको स्थानीय प्रहरी चौकीमा उजुरी दिइन् । संयोग कस्तो प¥यो भने उनले उजुरी दिएकामध्येका एकजना दलाल सार्वजनिक अपराधअन्तर्गत जिल्लाकै प्रहरी नियन्त्रणमा रहेछन्  । उजुरी दिएकै अर्काे दिन उनी प्रहरी हिरासतबाट छुट्दै थिए । उनले उजुरी दिएपछि ती दलाल छुट्न पाएनन् । त्यसको दुई दिनपछि उनले जिल्ला अदालतमा किटानी जाहेरी पनि दर्ता गराइन् र काठमाडौ फर्किन। 

६ महिनापछि जिल्ला अदालतले उनलाई बेचबिखन गर्ने चारै दलाललाई १० वर्षको जेल सजाय सुनायो । चरिमाया भन्छिन्, ‘ठूलो दुःख र पीडा त मैले खेपिसकेकी थिएँ, त्यसको कुनै क्षतिपूर्ति थिएन । तर, उनीलाई जेल पठाएको दिन मैले निकै राहत महसुस गरेँ।’ 

चेलिबेटी बेचबिखन तथा देहव्यापार ऐन २०४३ अन्तर्गत १० वर्ष मात्र सजाय हुने व्यवस्था रहेकाले दलाल १० वर्षका लागि मात्र जेल गएको उनी बताउँछिन् । ०६४ मा आएको नयाँ ऐनले भने सजाय बढाएको छ। 

भारतबाट फर्किएपछि उनीलगायत अन्यले पनि गैरसरकारी संस्थाको माध्यमबाट ग्रामीण महिला अगुवा तालिम लिइरहेका थिए । तालिमको अन्तिम दिन उनीसहितका केही साथीले आफूहरुजस्तै बेचबिखनको सिकार भएकाको पक्षमा काम गर्न भन्दै एउटा संस्था स्थापना गरे । सन् १९९६ मा नै शक्ति समूह नामक संस्था जन्मियो । त्यसपछि उनीहरुले विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा काम अघि बढाउँदै गए।

सन् २००० मा उक्त संस्थालाई औपचारिक रूपमा दर्ता गरेर त्यसका माध्यमबाट उनीहरुले बेचबिखन रोकथामसम्बन्धी अभियान सञ्चालन गरे । संस्थामार्फत उनीहरुले सुरक्षादेखि हराएकाको खोजी, उद्धार, स्वदेश फिर्ता तथा पुनर्मिलन लगायतको काम गर्दैै आएका छन् । उनीहरुको  कामबाट प्रभावित भएर कैयाैं संघसस्था सहयोग र सहकार्य गर्न तयार भएका छन् भने उनीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मान समेत प्राप्त गरेका छन् । 

कामको सम्मान गर्दै तत्कालीन अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले चरिमायालाई ‘हिरो एक्टिङ टु इन्ड मोर्डन–डे सेल्भरी अवार्ड २०११’ बाट सम्मान गरेकी थिइन् । उनी संस्थापक रहेको शक्ति समूहले २०१३ को रोमन म्यागसेसे अवार्ड समेत प्राप्त गर्या । राष्ट्रियस्तरमा पनि उनले समाज सेवा श्री मानपद्वी लगायत कैयाैं सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन्।   
चरिमायाले आफ्ना कथा–व्यथालाई पुस्तकमार्फत बाहिर ल्याउँदै छन् । आफ्ना भोगाइलाई समेटेर लेखिएको पुस्तक अब छिटै सार्वजनिक गर्ने तयारीमा रहेको उनले बताइन् । ‘पुस्तक लेखनको काम सकिएको छ, प्रकाशनका लागि तयारी भइरहेको छ,’ उनले भनिन् । 

प्रकाशित: १३ जेष्ठ २०७४ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App