८ वैशाख २०८१ शनिबार
राजनीति

मेयर चिरीबाबु : राजनीति, जागिर, फेरि राजनीति

ललितपुर – २०३७ सालको जनमत संग्रहपछि ललितपुर पुल्चोकका चिरीबाबु महर्जन राजनीतिक मैदानमा उत्रिए र तत्कालीन ललितपुर नगरपालिका वार्ड पञ्चायतको चुनाव जिते । २०३८ र २०४३ को स्थानीय निर्वाचनमा निर्वाचित भएका चिरीबाबुले २०४९ मा समेत हार्नुपरेन ।

‘२०५४ को निर्वाचनमा म छुटें, उठेको भए जित्छु भन्ने विश्वास थियो, मैले बनाएको छु कसैको बिगारेको छैन,’ चिरीबाबुले भने । उनले २०५५ देखि २०६३ सम्म परियोजनाप्रमुखका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा काम गरे।

परियोजनासँगको नाता टुटेपछि उनी राजनीतिमै फर्के । संविधानसभाका दुवै निर्वाचनमा पार्टीका लागि जुटेको बताउने चिरीबाबु भन्छन्, ‘मेरो राजनीति र व्यवस्थापकको मिश्रणले महानगर बनाउन काम दिनेछ, सम्भावना भएरै पनि ललितपुर पछि परेको हामीलाई अनुभव छ ।’

२०१४ मंसिर १६ मा जन्मिएका चिरीबाबु तीन दिदीपछिका तीन दाजुभाइमध्ये माइला हुन् । बाबु न्हुच्छेलाल महर्जन र आमा हरिमायाका सन्तान चिरीबाबुले व्यवस्थापनमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरे तर बडो कठिनाइपूर्वक, जीवनयापन पनि निकै कष्टकर रह्यो । ‘निकै कष्टकर थियो हाम्रो बाल्यकाल, हामीले शिक्षा र जीवनयापनका लागि गरेको सघर्ष कम्तीमा मेरो महानगरमा नहोस्,’ विगत सम्झँदै उनले भने । 

ललितपुरमा रहेका जीवन्त सम्पदालाई पर्यटनको आकर्षण बनाएर ललितपुर प्याकेज तयार पार्ने परिकल्पना उनको छ । यस्तै जाममुक्त ललितपुर बनाउने पनि उनको योजना छ । ‘स्थानीय कर्मचारी प्रशासनले लामो समय नेतृत्व गरेकाले केही अप्ठेरो र मतान्तर हुन सक्छन्, बेथिति छन् भनेर हात बाँधेर बस्दैनौं,’ उनले थपे, ‘जनमुखी प्रशासन र आर्थिक विकास तथा पर्यावरण प्राथमिक विषय हुन् ।’

ललितपुर महानगरपालिकामा २४ हजार ६ सय ४२ मत ल्याएर मेयर चुनिएका चिरीबाबु बुधबार पुल्चोकस्थित घरमा शुभचिन्तकको घेराबन्दीमा थिए । मतदातासँगै राजनीतिक सहकर्मी र आफन्तसँग शुभकामना साटिरहेका थिए ।   
ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश बालमुकुन्द दवाडीले विजयी भएका मेयर चिरीबाबु र उपमेयर गीता सत्याललाई शपथ खुवाएका थिए । बुधबार नै दुवैले ललितपुर महानगरको जिम्मेवारी समालेका छन् ।

जिम्मेवारी बुझेर आएकी हु, वाचा पूरा गर्छु : उपमेयर सत्याल

२०३४ मा जन्मिएकी गीता सत्याल नेपाल ३९ वर्षको उमेरमा ललितपुर महानगरेको उपमेयर बनेकी छन् । अध्यापन र नर्सको अनुभव बटुलेकी उनी जन्मठाउँ काभ्रेको खोपासीबाटै विद्यार्थी राजनीतिमा सक्रिय थिइन् । आमा विमला सत्याल र बुबा ऋषिकेश सत्यालकी माइली छोरी गीता महिला संघ ललितपुरकी अध्यक्ष हुन् । नेपाली भाषामा स्नातकोत्तर उनले भनिन्, ‘उपमेयरको जिम्मेबारी बुझेरै उम्मेदवारी दिएकी थिएँ, नगरबासीले जिताउनेमा विश्वास थियो, अब उहाँहरुसँग गरेका वाचा पूरा गर्ने योजनामा छु ।’

उनको प्राथमिकता महिलालाई सीप सिकाएर उद्यमी बनाउने र व्यवस्थापन महानगरबाट गर्ने रहेको छ । यस्तै स्वयंसेविकाका रुपमा महानगरमा क्रियाशील महिलाका लागि तलबमान व्यवस्था गरेर सेवा प्रभावकारी बनाउनेसमेत योजना छ । 

‘महानगरलाई सबै प्रकारका हिंसामुक्त सुन्दर पर्यटकीय सुरक्षित सहर बनाउने योजना बनाएका छौं, आधारभूत आवश्यकता र जनसेवा प्रभावकारी हुनेछ,’ गीताले नखिपोटस्थित निवासमा नागरिकसँग भनिन् ।

प्रकाशित: १३ जेष्ठ २०७४ ०५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App