तीन वर्ष अघि रुपन्देही रुद्रपुरकी १२ वर्षीया तेरिया फौजामगर भारतको मुम्बईमा धेरै प्रतिस्पर्धीलाई उछिन्दै डिआइडी लिटिल मास्टरको उपाधि जित्न सफल भइन्, १६ लाख भारतीय रुपैयाँसहित धेरै उपहार हात पारिन् । नेपाल र भारतभरि उनको चर्चा चुलियो । तेरियाको प्रतिभालाई बाहिर ल्याउन मिहिनेत गरेका थिए, सुरेश सेन्चुरीले । त्यसपछि न सुरेश र वागेश्वरीको चर्चा चल्न थालेको हो ।
अहिले बाबुआमासँगै मुम्बईमा बस्दै आएकी तेरियाले केही महिनाअघि अर्को नृत्य प्रतियोगिता झलक दिखलाजामा विजेता बनिन् । ३० लाख भारतीय रुपैयाँसहित थुप्रै उपहार पाइन् । तेरियालाई सुरेशले नै ६ वर्षसम्म नृत्य सिकाएर परिपक्व बनाएका हुन् । सुरेशका अनुसार वागेश्वरी संगीतालयमा प्रशिक्षण लिएका धेरैमध्ये कम्तीमा सय जना व्यावसायिक ढंगले कलाकर्ममा लागेका छन् ।
केही महिनाअघि वागेश्वरी संगीतालयले मुलुकका विभिन्न सहरमा अडिसन गरेर डान्स आइडल सम्पन्न गर्याे । इटहरी, झापा, काठमाडौं, पोखरा, दमौली, नारायणगढ, सुर्खेत, धनगढी र लुम्बिनीका थुप्रै लुकेका प्रतिभा बाहिर आएकामा उनी उत्साहित छन् ।
सुरेशको लगाव
सुरेशले सुनचाँदी पसल चलाउँथे, १९ वर्ष अघिसम्म । दाइ किशोरसँग मिलेर खोलेको पर्वत सुनचाँदी पसलले व्यावसायिक सिँढी उक्लिँदै थियो । आफ्नो ठाउँ क्षेत्रमा दाम र अलिअलि नामको पनि कमी थिएन । तर, सुरेशको ध्यान संगीत साधनामा थियो । सुनचाँदीका गरगहना बनाउने व्यवसायबाट हात झिकेर उनले बुटवलमा वागेश्वरी संगीतालय खोले, जसले अहिले मोफसलको प्रतिष्ठित संगीतालयका रुपमा पहिचान बनाइरहेको छ ।
स्कुल पढ्दादेखि नै उनको संगीतमा रुचि थियो । घरमा दाइ प्रेम सेन्चुरीले तबला र हार्मोनियम राखेका थिए । दाइका तिनै वाद्यवादन लुकिछिपी चलाउँदा चलाउँदै सुरेशमा संगीतप्रति रुचि बढेको थियो ।
संगीत पढ्न उनी गोरखपुरसम्म पुगे, संगीत साधक विश्वनाथसँग तबला र गायन सिके । संगीतमा डिप्लोमा गरेपछि उनी झनै खारिए । त्यसपछि उनले काठमाडौंमा मदनसिंह नेपालीसँग गिटारमा स्टाफ रोटेसन सिके । साथीसंगीले भन्न थाले– तिमीले हामीलाई सिकाऊ । उनलाई पनि लाग्यो, साथीहरुलाई सिकाउन पाए राम्रो टिम बन्ला ।
यही मेसोमा उनले ०५५ सालमा वागेश्वरी संगीतालय खोलेका हुन् । संगीतालयबाट आम्दानी थिएन । बिहान—साँझ संगीतालयतिर लागे पनि दिउँसो पसल हेर्नैपर्ने बाध्यता थियो ।
सुरेश भन्छन्, ‘संगीत सिक्न आउनेहरु बढ्न थाले, पूरै समय नलागे संगीतालय चलाउनु र नचलाउनुको अर्थ देखिएन, त्यसपछि पसल छाडिदिएँ ।’
१९ वर्षअघि ६–७ जनाबाट सुरु भएको वागेश्वरीमा अहिले संगीत, गायन र नृत्य सिक्ने एक सय ५० विद्यार्थी छन् । सिजनका बेला दुई सय ५० भन्दा बढी हुन्छन् । वागेश्वरीमा अहिले संगीतमा गितार, हार्मोनियम, तबला, बासँुरी र मादल बजाउन सिकाइन्छ । गायन र नृत्य पनि यहाँ सिक्नेको उत्तिकै चाप छ । १९ वर्षअघि एक्लै थिए उनी । अहिले संगीतालयमा गायनमा चार, नृत्यमा पाँच, गिटारमा एक र हार्मोनियम, बाँसुरीमा एक गरी ११ प्रशिक्षक छन् ।
एउटै छानोभित्र यति धेरै विधामा सिकाउने संगीतालय सम्भवतः राजधानीबाहिर कमै छन् । बुटवलमा अहिले ४० वटा संगीतालय छन् । बुटवलमा उनकै उत्पादनले फरक–फरक विधामा संगीतालय खोले पनि उनको जस्तो बृहत र व्यवस्थित संगीतालय छैनन् ।
०५५ मा दुई कोठा भाडामा लिएर वागेश्वरी खुलेको थियो । मासिक भाडा थियो, चार हजार रुपैयाँ । अहिले विधागत रुपमा कक्षा कोठा छन्, मासिक भाडा ६० हजार रुपैयाँ पुगेको छ । ‘सुरुमा गितार सिकाउने भनेर खोलेको हुँ । गायनको माग आयो, गायन थपियो । त्यसपछि नृत्य,’ उनी भन्छन्, ‘अहिले राजधानी बाहिरको परिचित इन्स्टिच्युट भएकोमा खुसी लागेको छ ।’
वागेश्वरी संगीतालयको संस्थागत विकास र चर्चाको चुली जति बढ्दो छ, त्यति नै आर्थिक रुपमा बलियो हुन नसकेको सुरेश बताउँछन् । ‘पैसा कमाउनेभन्दा प्रतिभा बाहिर ल्याउन मेहनत ग¥यौँ, त्यसैले आर्थिक रुपमा अलि बलियो हुन सकिएन कि भन्ने लागेको छ,’ उनले भने ।
दुई दशकको सांगीतिक यात्रामा उनले धेरै अप्ठेरा पार गरेका छन् । खोलेको केही वर्षमै खर्च धान्न मुस्किल भएपछि संगीतालय बन्द गरेर पहिलेकै व्यवसायमा फर्कने उनले योजना नबनाएका होइनन् । तर, शुभेच्छुक र अग्रजको हौसलाले उनको साधना रोकिएन् ।
केही महिनाअघि वागेश्वरी संगीतालयले मुलुकका विभिन्न सहरमा अडिसन गरेर डान्स आइडल सम्पन्न ग¥यो । अडिसन गर्न लागेको ४० लाख रुपैयाँ जुटाउन हम्मेहम्मे भयो । इटहरी, झापा, काठमाडौं, पोखरा, दमौली, नारायणगढ, सुर्खेत, धनगढी र लुम्बिनीका सबै जिल्लामा अडिसन गर्दा धेरै लुकेका प्रतिभा बाहिर आएको भन्दै उनी उत्साहित छन् । उनी भन्छन्, ‘अब हामी डान्स आइडल– २ आयोजना गर्ने तयारी गर्दै छौँ, पहिलो आइडल सिकाइ भयो, दोस्रो भव्य रुपमा गर्छौं । यो विशेष हुनेछ ।’
डान्स आइडलमा छनोट भएका उत्कृष्ट आठलाई नृत्यसम्बन्धी थप प्रशिक्षण लिन छात्रवृत्तिमा ट्यारेन्स लुइज एकेडेमी मुम्बई पठाएका छन् उनले ।
दुई दशक अघिसम्म बुटवलका टोलटोलमा ब्यान्ड थिए । तिनैमध्येको एउटा ब्यान्ड हो, प्रकट । भक्त थापा, शमशेर गहतराज, रवि गुरुङ, सरोज थापा, दीपक अधिकारी सहितको टिमको नेतृत्व सुरेशले गरेका थिए । यही प्रकट ब्यान्डले ०५२÷५३ सालतिर प्रकट भाग १ र २ एल्बम निकाल्यो । प्रकट भाग १ को एउटा गीत ‘तिनाउ खोला बटौलीको छेउ’ धेरैले मन पराए । अहिले पनि यहाँ यो गीत गुनगुनाउने युवा जमातको कमी छैन । अहिले ट्र्याकमा गाउन थालेपछि ब्यान्ड ओझेलमा परेकोको सुरेशले सुनाए ।
बागेश्वरी खोलेपछि भने उनले गीत गाएनन् । संगीततिर नै ध्यान गयो । अहिलेसम्म ६ सय गीतमा संगीत भरेका छन्, सुरेशले । ०६४ सालतिरै उनले संगीत रहेको गीत ‘सबैको नजरमा दोषी बनायौं’लाई श्रोताले मन पराए, जुन गीत गायक यम बरालको एल्बम ‘बेइमान’मा संग्रहित छ । उनको संगीत रहेको ‘बाँधी राख न मायाले’ बोलको गीतमा कुमार सानु र सञ्जिवनीले स्वर दिएका छन् ।
दशक अघिसम्म गायन, नृत्य र संगीत सिक्नेहरु अभिभावकको आँखा छलेर लुकिलुकी आउँथे । अभिभावकले खाजा खान दिएको पैसा जोगाएर विद्यार्थीले शुल्क तिर्थे । अहिले समय फेरिएको छ । छोराछोरीको रुचिअनुसार गायन, नृत्य र संगीत सिकाउन अभिभावक नै हातमा समाएर लिएर आएको देख्दा सुरेशलाई खुसी लाग्छ ।
‘अहिले कला सिक्ने तरिका फरक छ,’ सुरेश भन्छन्, ‘पहिले नेपालको परिवेशमा सिकाउने र सिक्ने कुरा थियो । अहिले अन्तर्राष्ट्रियकरण भयो ।’
बुटवलमा बसेर अरु मुलुकमा भइरहेको तौरतरिका सिकाइ विद्यार्थी आफैं सिक्न खोज्छन् । ‘हामी त्यही गतिमा हिँड्न आवश्यक छ,’ सुरेशले भने ।
पोखराको डाँफे कला केन्द्र र नारायणगढको नारायणी कला मन्दिर राजधानी बाहिरका चर्चित कला केन्द्र थिए । अहिले ती ओझेलमा छन् ।
बुटवललाई कलाको महत्त्वपूर्ण ठाउँको रुपमा परिचय दिलाउन सकिने सुरेशको विश्वास छ । वागेश्वरी संगीतालयको पहिचान जुन ढंगले फराकिलो बन्दै छ, यसले बुटवलको व्यापारिक र औद्योगिक केन्द्रको पहिचानलाई फुकाएर कलाकर्मको पनि पहिचान थप्दै छ ।
‘यसकै लागि दुःख, कष्ट र झमेला बिर्सेर अगाडि बढ्दै छु,’ ४७ वर्षीय सुरेशले भने, ‘जीवनमा केही गर्नुछ ।’
प्रकाशित: १३ जेष्ठ २०७४ ०६:४२ शनिबार