८ वैशाख २०८१ शनिबार
खेल

सिल्भा मोनाकोबाट सिटीमा

म्यानचेस्टर- म्यानचेस्टर सिटीले शुक्रबार फ्रेन्च लिग वान च्याम्पियन मोनाकोका मिडफिल्डर बेर्नार्डो सिल्भालाई अनुबन्धित गर्दै अर्को सिजन चेल्सीसँग इङ्लिस प्रिमियर लिगको उपाधि खोस्ने अभियान सुरु गरेको छ।

यही जुन १ बाट टोलीमा उपलब्ध हुने सिल्भा सिटीका प्रशिक्षक पेेप ग्वार्डिओलाले सन् २०१७/१८ सिजनका लागि मोटो रकममा अनुबन्धित गरिएका पहिला खेलाडी हुन्।

सिटीले सिल्भा र आफूबीच भएको सम्झौता अवधि र रकमका बारेमा केही खुलाएको छैन। यद्यपि बेलायती सञ्चारमाध्यमले पोर्चुगलका २२ वर्षे मिडफिल्डरका लागि सिटीले ४ करोड ३० लाख पाउन्डमा पाँच वर्षका लागि अनुबन्धित गरेको जनाएका छन्।

सिल्भालाई प्रिमियर लिगको अर्को क्लब म्यानचेस्टर युनाइटेडले पनि अनुबन्धित गर्ने इच्छा देखाएको थियो। तर, बिहीबार म्यानचेस्टर विमानस्थनमा आएपछि उनले इत्तिहाद रंगशाला रोजेका हुन्।

‘विश्वका उत्कृष्ट क्लबमध्येको एक म्यानचेस्टर सिटीसँग जोडिन पाउँदा म धेरै खुसी छु। क्लबको लक्ष्य पूरा गर्न मेरो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्नेछु,’ पोर्चुगलबाट १२ खेल खेलिसकेका सिल्भाले भने, ‘ग्वार्डिओलाबाट प्रशिक्षित हुन पाउँदा कसैले पनि अस्वीकार गर्दैन। यदि उनी विश्वका नम्बर एक प्रशिक्षक नभए पनि उत्कृष्टमध्येका एक हुन्। बार्सिलोना र बायर्न म्युनिखमा उनले अद्भुत सिजन बिताएका छन्। र, हामी आशा गर्न सक्छौं यहाँ पनि त्यस्तै हुनेछ र हामी उपाधि जित्नेछौं। उनसँग काम गर्न पाउनु राम्रो अवसर हो।’

सिल्भाले पोर्चुगलको महारथी बेनफिकाबाट आफ्नो करियर सुरु गरेका थिए। उनी सन् २०१४ मा बेनफिकाबाट लोनमा मोनाको गएका थिए। तर, उत्कृष्ट प्रदर्शन गरेपछि मोनाकोले उनलाई ६ महिनामै स्थायी रूपमा अनुबन्धित गरेको थियो।

गत सिजन मोनाकोबाट ५१ खेल खेलेका सिल्भाले १० गोल गर्नुका साथै १० गोलका लागि अवसर सिर्जना गरिदिएका थिए। मोनाकोले फ्रेन्च लिग वानको उपाधि जित्नुका साथै टोटेनह्याम, सिटी र बोरुसिया डर्टमन्डलाई हराउँदै च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तयर गर्दा सिल्भाले प्रभावशाली प्रदर्शन गरेका थिए।

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App