coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भलिबललाई केएनपी जापानको सहयोग

काठमाडौं- राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापान प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ। जेठ २३ देखि हुने महिला भलिबल प्रतियोगितालाई पहिलो पटक केएनपी जापानले प्रायोजन गर्न लागेको हो।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले गर्ने प्रतियोगितालाई प्रायोजन गरेबापत केएनपीले ५ लाख रुपैयाँ सहयोग गर्नेछ। शनिबार शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्का र बहुउद्देश्यीय पेन्ट कम्पनी केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे।

सम्झौतापश्चात् अब प्रतियोगिता केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको नाममा आयोजना हुने आयोजकले बतायो। 

केएनपी जापान प्रालिका कन्ट्री डाइरेक्टर मिश्रले भलिबल राष्ट्रिय खेल भएकाले पनि प्रायोजन गर्न पाउँदा कम्पनी खुसी भएको बताए। उनले भने, 'भलिबल प्रतियोगितालाई प्रायोजन गर्न पाउँदा हामी खुसी छौं। फेरि भलिबल नेपालको राष्ट्रिय खेल पनि भएको छ। भलिबलले खेलकुदको माध्यमबाट देशको पहिचानलाई बढाउन पनि सहयोग गर्ने हाम्रो विश्वास छ।'

केएनपी जापानले भलिबल प्रतियोगितालाई १ वर्षको प्रायोजन गरेको हो। यसै गरी प्रतियोगितालाई शिवम् सिमेन्टले सहप्रायोजन गरेको छ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ५० हजार पाउनेछ। प्रथम पुरस्कार क्वायरटफ म्याट्रेक्सले प्रायोजन गरेको आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बतायो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने प्रतियोगिताको उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछन्। प्रतिष्ठान अध्यक्ष खड्काले भलिबलले राष्ट्रिय मान्यता पाउने बित्तिकै प्रतिष्ठित कम्पनीको प्रायोजन पाउनु खुसीको कुरा भएको बताए। खड्काले भने, 'केएनपी जापानलाई हामी विशेष धन्यवाद दिन चाहन्छौं। भलिबल प्रतियोगितामा प्रायोजक भिœयाउन सहज छैन। हामीलाई उहाँहरूले सहयोग गरेर अगाडि बढन हौसला दिनुभएको छ। प्रायोजनले प्रतियोगिताको उचाइलाई थप बढाउन सहयोग गर्नेछ।'

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एयर एसियाले काठमाडौं मलेसिया–काठमाडौंको दुईतर्फी टिकट उपलब्ध गराउनेछ। त्यस्तै स्पेसल अवार्डको रूपमा एक खेलाडीलाई १० हजार प्रदान गरिनेछ।

बुद्ध एयरले उत्कृष्ट प्रशिक्षकलाई माउन्टेन फ्लाइटको टिकट प्रदान गर्नेछ। यसै गरी उत्कृष्ट स्पाइकर, क्विकर, सेटर, ब्लकर, डिफेन्स, सर्भर, राइजिङ प्लेयर, प्रतिभावान् खेलाडीलाई जनही ३ हजार प्रदान गरिने आयोजकले बतायो। जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा साबिक विजेता एपिएफ, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले प्रतिस्पर्धा गर्नेछन्।

गत वर्षको दोस्रो संस्करणमा एपिएफले फाइनलमा न्यु डायमन्ड एकेडेमीलाई हराउँदै उपाधि जितेको थियो।

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App