६ वैशाख २०८१ बिहीबार
कला

'पशुपति' पछि 'धनपति'

काठमाडौं- अघिल्लो फिल्ममा फिल्म 'पशुपति' बनेर दर्शक रिझाएका खगेन्द्र लामिछाने लगभग उही टिमका साथ 'धनपति' बनेर आएका छन्। 'पशुपतिप्रसाद' बाट सहकार्य सुरु गरेका निर्देशक दीपेन्द्र के खनाल र अभिनेता खगेन्द्र लामिछानेको जोडी डेढ वर्षपछि फिल्म 'धनपति' लिएर दर्शकमाझ आएको हो । राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरियो।

फिल्मका छाँयाकारसमेत रहेका दीपेन्द्रले स्त्रि्कप्टमा काम गर्नुभन्दा छायांकनको समयमा बढी दुःख पाएको बताए। 'स्त्रि्कप्ट लेख्दा स्पटमा त्यति धेरै दुःख पाइन्छ भन्ने सोचेका थिएनौं,' उनले भने, 'तर पनि दुःख गरेअनुसार फिल्म राम्रो बनेको छ।' दीपेन्द्रका अनुसार राजनीतिक विरासत बोकेको शानकाजी अर्थात् धनपतिले छोरीलाई बोर्डिङ स्कुल पढाउनका लागि सहरमा गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

फिल्मका लेखकसमेत रहेका अभिनेता खगेन्द्र लामिछानेले 'पशुपति प्रसाद' पछिको डेढ वर्षको समयमा आफूलाई फेसबुकले निकै दुःख दिएको खुलाए। 'फेसबुक खोल्नासाथ शुभचिन्तकले धनपतिकै कुरा गर्थे। कहिले आउँछ? कस्तो फिल्म हो? तपाईंको भूमिका कस्तो छ? भन्ने  सोधेर हैरान पारे। त्यसपछि फेसबुक नै बन्द गरिदिएँ,' उनले भने, 'फेसबुक बन्द गरेर ट्विटर चलाउन थालें। 'धनपति' को पोस्टर सार्वजनिक गरेपछि बल्ल प्रश्नको वर्षा कम हुन थाल्यो।' उनले आफूहरूको बुद्धिले भ्याएसम्म राम्रो फिल्म बनाएको दाबी गरे।

फिल्मकी अभिनेत्री सुरक्षा पन्तले मेहनती समूहसँग काम गर्न पाउँदा खुसी लागेको बताइन्। निर्मात्री रोजिना सिटौलाले लेखक खगेन्द्रले लेखेको  कथालाई फिल्ममा प्रस्तुत गरेकाले दर्शकले फिल्म 'पशुपति प्रसाद' जस्तै 'धनपति' लाई पनि मन पराउने अपेक्षा व्यक्त गरिन्। 

टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्म आगामी असार २३ गते रिलिज हुँदैछ। फिल्ममा आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा र प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय छ। फिल्ममा दीर्घ खड्काको सम्पादन, आधा सुरको संगीत छ।

प्रकाशित: १४ जेष्ठ २०७४ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App