८ वैशाख २०८१ शनिबार
राजनीति

‘सरकार राजपाको नियन्त्रणमा छ’

पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) लाई मागपत्र राख्न लगाएर सरकारले दोश्रो चरणको निर्वाचन नगराउन चाहेको आरोप लगाएका छन् । 

दोश्रो चरणको निर्वाचन सार्न अनेक प्रयास भइरहेको उनले बताए । पोखरामा आइतबार पत्रकारसँगको भेटघाटमा अध्यक्ष ओलीले राजपाले राखेका माग पुरा गराउन कांग्रेस र माओवादी लागिरहेको बताए । 

‘अहिले सत्ताको एउटा घटक नै राजपा भएको छ,’ उनले भने, ‘राजपालाई मागपत्र राख्न लगाउने काम कांग्रेस र माओवादीले गरेका छन् । तीनै माग पुरा गराउन सत्ता साझेदार दल लागिरहेका छन् ।’ जर्बजस्ती निर्वाचन सार्ने पहलमा दलहरु रहेको उनले बताए । 

अहिलेको सरकार राजपा नियन्त्रित र निर्देशित रहेको उनले बताए । ‘कांग्रेस र माओवादी देख्दा ठूला दल हुन् । तर, माउते राजपा नै हो,’ ओलीले भने, ‘राजपाको बहाना बनाएर अरु दल हिडेका छन् ।’

राजपालाई बढी उक्साउने काम कांग्रेसले गरेको ओलीको आरोप छ । सहमतिको सरकार गठनमा कांग्रेस बाधक रहेको ओलीको भनाई छ । दोश्रो चरणको निर्वाचन नगराएर अब बन्ने नयाँ प्रधानमन्त्री असक्षम नहुन भन्ने चाहेको ओलीको भनाई छ । ‘अबका प्रधानमन्त्री को हुनुपर्छ भनेर हामी भन्दैनौ । तर, अब जो प्रधानमन्त्री बनेपनि उनी असक्षम नहुन्’ ओलीले भने, ‘काम गर्न सक्ने सक्षम व्यक्ति प्रधानमन्त्री हुन् । असफल भएको प्रमाणित गर्न नपरोस । इलाका र गाउँबादीको सट्टा राष्ट्रवादी व्यक्ति प्रधानमन्त्री बनुन् ।’ देशको परिस्थिति बुझ्ने हो भने सरकार चलाउनुपर्याे भनेर कांग्रेस र माओवादीले एमाले समक्ष लिखित प्रस्ताव ल्याउनपर्ने उनले बताए । 

सरकारी ध्यान काममा भन्दा अन्यत्र रहेको ओलीको आरोप थियो । चुनौतीपूर्ण अवस्थामा रहँदा पनि स्थानीय तहको निर्वाचनमा प्रतिपक्षीले साथ दिएको ओलीले बताए । ‘प्रतिपक्ष अगाडि बढिरहेको छ । तर, सरकार पछाडि भाग्न खोजेको छ,’ उनले भने । 

प्रकाशित: १४ जेष्ठ २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App