८ वैशाख २०८१ शनिबार
राजनीति

कञ्चनपुरमा माओवादीको उम्मेदवार टुङ्गो

भीमदत्तनगर – स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र कञ्चनपुरले यहाँका नौ वटै तहका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ । 

कञ्चनपुर सदरमुकाम रहेको भीमदत्तनगरपालिका प्रमुखमा पार्टीका केन्द्रीय सदस्य गोपाल रसाइली र उपप्रमुखमा नारु सिंहलाई उम्मेदवार बनाएको छ । त्यसैगरी वेदकोट नगरपालिका प्रमुखमा मीनराज गिरी र उपप्रमुखमा सुमित्रा शाहीलाई उम्मेदवार बनाइएको छ । शुक्लाफाँटा नगरपालिका प्रमुखमा लोकेन्द्र ऐरी, उपप्रमुखमा कमला ऐर, कृष्णपुर नगरपालिका प्रमुखमा जोगराम चौधरी र उपप्रमुखमा शर्मिला थापा, पुनर्बास नगरपालिका प्रमुखमा वीरबहादुर थापा र उपप्रमुखमा सीता विकलाई उम्मेदवार बनाइएको माओवादी केन्द्र कञ्चनपुरले जनाएको छ । 

त्यसैगरी बेलौरी नगरपालिका प्रमुखमा मोतीलाल चौधरी उम्मेदवारका रुपमा अघि सारिए पनि उपप्रमुख उम्मेदवार टुङ्गो लाग्न बाँकी छ । त्यसैगरी महाकाली नदीपारिको महाकाली नगरपालिका प्रमुख र उपप्रमुखको टुङ्गो सोमबारसम्म लाग्ने जनाइएको छ । यहाँको लालझाडी गाउँपालिका अध्यक्षमा मदन बडायक र उपाध्यक्षमा सत्या महरा तथा बेल्डाँडी गाउँपालिका अध्यक्षमा नन्दकिशोर एसके र उपाध्यक्षमा कल्पना गिरीलाई उम्मेदवार बनाइएको माओवादीका केन्द्रीय सदस्य एवम् भीमदत्त नगरपालिका प्रमुखका उम्मेदवार रसाइलीले जानकारी दिए। 

नेकपा एमाले यसअघि नै यहाँका सबै तहका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएर चुनावी प्रचारमा जुटिसकेको छ । माओवादी केन्द्रले पनि उम्मेदवारसहित घरदैलो अभियानलाई जिल्लाव्यापी बनाएको छ । उता सबैभन्दा ठूलो दल नेपाली काँग्रेस कञ्चनपुरले भने उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन । बिनाउम्मेदवार चुनावी प्रचार प्रसारमा जुटेको काँग्रेसभित्र उम्मेदवारका आकाङ्क्षी धेरै भएकाले समस्या भइरहेको छ । काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले सोमबार कञ्चनपुरका सबै तहको प्रमुख–उपप्रमुखको टु्ङ्गो लाग्ने बताए। 

आकाङ्क्षी उम्मेदवारको नामावली लिएर काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहरा र यहाँका निर्वाचन क्षेत्रस्तरीय सभापति काठमाडौँ पुगेका छन् । केन्द्रीय समितिले गठन गरेको उम्मेदवार छनोट समितिले सोमबारसम्म कञ्चनपुरका प्रमुख र उपप्रमुख उम्मेदवार टुङ्गो लगाउने पार्टी सचिव पाण्डेयले बताए । रासस 

प्रकाशित: १४ जेष्ठ २०७४ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App