७ वैशाख २०८१ शुक्रबार
राजनीति

फेरिँदै चुनावी ‘अजेण्डा’

डोटी – ऐतिहासिक पहिलो आमनिर्वाचन २०१५ मा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमूख चुनावी ‘अजेण्डा’ नुनको सहज उपलब्धता थियो । वर्षौको जहाँनिया राणाशासनमा पिल्सिएको समाजले भर्खर प्रजातन्त्रको बीउ छर्दै थियो । जनताले पहिलोपल्ट आफ्नो जनप्रतिनिधि चुनेर राज्य व्यवस्था चलाउने पद्धतीको शुरुवात हुँदै थियो । जसमा सुदूरपश्चिमेली जनता आफ्नो मतको साटो जनप्रतिनिधिसँग माग्दैथिए–नुनको सहजता।

‘त्यो बेला हामी नुनका लागि भारतको टनकपुरसम्म पुग्थ्यौ,’ केही समय अघि आदर्श गाउँपालिका–६ गिरिचौका पुग्दा स्थानीय ८१ वर्षीय वृद्ध चिन्तामणी जोशी भन्दैथिए,‘आउन जानै दुई महिना लाथ्यो । एक भारी नुनका लागि दुई महिना । त्यो नुनको दुरुपयोग नहोस भनेर घरको मुख्य मान्छेले बाकसमा ताल्चा लगाएर राख्थे । नुनको प्रयोग पनि बिधि पुर्याएर मात्रै हुन्थ्यो।’ 

त्यो बेला अधिकांश परिवारले नुन बिनै खाना खाने गरेको दिपायल सिलगढी नगरपालिका–४का बाजी नागरी (७८) बताउँछन् । ‘त्यो बेलाको नुन त सुनै थियो,’ उनी भन्छन्, ‘नुन ल्याउन नसक्नेले कि नुन भएकाको घरमा धेरै दिन काम गरेर नुन पाउथे ? कि त बिना नुनै खाना खान्थे ।’ उनका अनुसार पाहुना आएका बेला नुन हालेको खाना ख्वाउँन पाउँदा पनि धन्य महशुस हुन्थ्यो ।

जनताका कुरा सुनेपछि उतिबेलाका चर्चित नेता पूर्वप्रधानमन्त्री डा. केआर्ई सिँहले अब ‘तिमिहरुको टाउकाको लाम्लो (डोको बोक्ने डोरी) टुट्छ’ भनेर उद्घोष गरे । उनको भनाईको अर्थ जनताले अब नुनका लागि डोको बोकेर हिड्नु पर्दैन भन्ने थियो।

उतिबेला डोटीका दुवै निर्वाचन क्षेत्रबाटै जीत निकालेका नेपाली कांग्रेसका नेता शिबराज पन्तले पनि नुनको सवाललाई प्राथमिकतामा राखेको सुनिन्छ । उनले सडकलाई दिपायलसम्म जोड्ने अजेण्डा उठाएका थिए । त्यही अजेण्डाबाट जनताको नुनको सवाल दुर हुने उनको भनाई आउँथ्यो । नुनकै सवाललाई उतिबेलाका अन्य पार्टीले पनि पछ्याए । ‘त्यति धेरै याद त छैन् सबै नुनकै कुरा गर्थे । मैले जिते नुन नजिकै पुर्याउछु भन्थे,’ दिपायलका वृद्ध नागरिक भन्छन्,‘नुन नजिक ल्याईदिन्छु भन्नेलाई नै उतिबेला सबैले भोट दिए।’

नुनको माग गर्दै मतदान गरेका यी वृद्धहरु अहिलेका चुनावी माग देखेर पनि अचम्मित छन् । उतिबेलाको आवश्यकता नुन सहज भैसक्यो । ‘अहिले त बाटोघाटो, पुलपुलेसा, कुलोनहर, नोकरी, विद्यालय, अस्पताल दिने । सुविधासम्पन्न आधुनिक गाउँशहर बनाउनेलाई भोट भन्छन । हाम्रा जमानामा यस्तो माग कहाँ राख्न सक्थ्यौ,’ अचम्मित मुद्रामा दिपायलकै अर्का वृद्ध गोरे कामी भन्छन्। 

उसो त पछिल्ला निर्वाचनपिच्छे यी वृद्धहरुका माग पनि फेरिदै आएका छन् ।  ‘त्यसपछि पनि चुनाउ भए,’ वृद्ध बाजी नागरी अनुभव सुनाउँछन,‘ती चुनाउमा भोट माग्न आउने नेताहरुसंग हामीले नै कहिल्यै कुलोनहर, कहिल्यै स्कुल, कहिल्यै बाटाघाटा माग्यौ ।’ ती मागहरु मध्ये कैयौ पुरा भएका छन् भने कैयौ नभएको अनुभव उनीहरुसंग छ । पुरा भएका मागहरुबारे उनीहरु सन्तोष प्रकट गर्छन् । पुरा नभएको मागको कुरा चल्दा नेताहरुप्रति बितृष्णाको भाव दर्शाउछन्। 

अहिले यी वृद्धहरुका माग सहज रुपमा बुढेसकाल काट्ने छ । यसका लागि नजिकै राम्रो अस्पताल, खान लाउन सहज बनाउन सन्तानलाई आम्दानीको स्रोत, पर्याप्त वृद्धभत्ता उनीहरुको माग छ। 

युवाहरुले राखेका मागहरुमा पनि उनीहरुको समर्थन छ । ‘समय–समयको माग हो । उनीहरुले आफ्नो भविष्य हेरेर माग राखेका छन् । जति सुविधा आयो उती जीवन सहज हुने रहेछ,’ लामो समय भारतमा पनि कामी भन्छन्,‘मैले बम्बैमा त्यस्तै देखे । सानो काम गरिरहेको मानिस एकैपटक मालिक भएका छन् । उनीहरुको पनि त्यस्तै सोचाई होला । उनीहरुले राम्रो कमाए हामीलाई पनि मर्ने बेला सुख हुन्छ।’ 

अहिले समाज समृद्धी र आधुनिक बिकासको गतिमा लम्कीरहेको अवस्थामा आधुनिक अजेण्डाहरु आउनु स्वभाविक रहेको डोटी बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक ८२ वर्षीय रामचन्द्र भट्ट  बताउँछन् । ‘समाजको विकासक्रममा चुनावी अजेण्डाहरु पनि स्वभाविक रुपमा फेरिन्छन,’ उनी भन्छन्,‘उतिबेला नुन माग्ने समाज अब अत्याधुनिक र सुविधासम्पन्न शहर माग्न थालेको छ । विश्वको उदाहरण हेर्दा नेपालका यी अजेण्डा पनि सानै लाग्छन्।’ 

सबैका अजेण्डा सम्बोधन गर्ने कुशल नेतृत्व आउन अझै चुनौती पनि रहेको उनी बताउँछन् । ‘हामीले वर्षौ नेपाली राजनीति बुझेका छाैं । हाम्रा नेताहरुसंग त्यति धेरै अपेक्षा गर्ने ठाउँ त छैन् । तैपनी विस्तारै सुधार हुदै जाला,’ उनी भन्छन्। 

प्रकाशित: १४ जेष्ठ २०७४ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App